|

काठमाडौं : रामचन्द्र पौडेल नेपाली राजनीतिमा चर्चित नाम हो। चर्चित हास्यकलाकार हरिवंश आचार्यलाई त सबैले चिन्छन्, तर उनी कहाँ पढे भन्ने सायद कमैलाई थाहा होला। यी दुईको काम गर्ने क्षेत्र फरक भए पनि पढेको विद्यालय एउटै हो जुन चिनिन्छ, ‘नन्दीरात्री माध्यमिक विद्यालय’ नामले।

२००४ सालमा स्थापना भएको यो विद्यालय काठमाडौंकै भिन्न विद्यालय हो, जहाँ राति मात्र पढाइ हुन्छ। नक्सास्थित रहेको यस विद्यालयमा बेलुकी ५ बजेदेखि ९:१५ सम्म कक्षा सञ्चालन हुन्छ।

यो विद्यालय विशेषगरी दिउँसो काम गर्ने, विविध कारणवस बिचमै पढाइ छुटेका, समयका कारण पढाइबाट बञ्चित भएका विद्यार्थीले पढ्ने विद्यालय हो, जहाँ आचार्य जस्ता प्रतिभाशाली व्यक्तिले पढेका थिए। विविध कारणवस छुटेको पढाइलाई उनीहरूले निरन्तरता दिएका थिए।

विद्यालयले पढाइबाट वञ्चित भएका विद्यार्थीलाई नै लक्ष्य गरी लामो समयदेखि पढाउँदै आएको छ। विद्यालयका प्राचार्य मोहनराज शर्मा विद्यालयमा आउने सबै विद्यार्थी दिनभर काम गर्नेहरू नै हुने बताउँछन्। यो वर्ष यहाँबाट २२ जना विद्यार्थीले एसईई परीक्षा दिएका छन्। ‘विद्यालयमा अहिले १५० को हारहारीमा विद्यार्थी छन्। यिनै विद्यार्थीलाई लक्ष्य गरी यो वर्षदेखि ११\१२ कक्षा पनि सञ्चालन गर्ने तयारीमा हामी जुटेका छौँ', उनले भने।

विद्यार्थीले कक्षा १० सम्म पढेपछि उच्च शिक्षाको लागि विद्यालयका कर्मचारीले नै पहल गर्नुपर्छ, उनीहरूलाई पढ्ने वातावरण सिर्जना गरिदिनुपर्छ भन्ने उद्देश्यले नै  कक्षा ११\१२ सञ्चालन गर्न लागेको उनले बताए। कक्षा सञ्चालनका लागि अनुमति लिइसकेको र पाठ्यक्रम पनि तयार भइसकेको छ। विद्यालयमा यसै नयाँ शैक्षिक सत्रबाट शिक्षा, मानविकी र व्यवस्थापन संकायको पठनपाठन हुनेछ।

राजधानीको एक मात्र तथा पुरानो विद्यालयका रूपमा चिनिने यो विद्यालयमा छात्र भन्दा छात्राहरू बढी छन्। तीमध्ये पनि धेरैजसो विवाहित छन्। प्रा.शर्माले भन्छन्, ‘विद्यालयमा विवाहबन्धनमा बाँधिएका महिलाहरू धेरै छन्। छोरा वा छोरीसँग पढ्न आउने पनि धेरै छन्।’

यो विद्यालय सामुदायिक विद्यालय हो। पढेको कुनै शुल्क लाग्दैन। पुस्तकको व्यवस्था विद्यालयबाटै हुन्छ भने कपी, कलम र विद्यालयको पोसाक विद्यार्थीले जुटाउनुपर्छ। विद्यालयमा अहिले कक्षा ६ देखि १० सम्म पढाइ हुँदै आएको छ। सबै दक्ष तथा स्थायी शिक्षकहरू छन्। 

कक्षा सातमा अध्ययनरत एक छात्राले आफू दिउँसो काम गर्न जाने र दैनिक वेलुका यहाँ पढ्न आउने गरेको बताइन्। उनी भन्छिन्, ‘गाउँमा २\३ कक्षाभन्दा बढी पढ्न पाइनँ। लामो समयदेखि पढाइ छुट्यो, अहिले काम गरेरै भए पनि बेलुकाको समयमा यहाँ पढ्ने अवसर पाउँदा निकै खुसी लागेको छ।’ नन्दीरात्री आफ्ना लागि मन्दिर  र पढाउन आउने शिक्षक भगवान् मानेको उनले बताइन्।

विद्यालयका शिक्षक लक्ष्मण यादवले पर्याप्त सुविधा दिन नसके पनि पढ्न पाउने व्यवस्था मात्र गरिदिनु पनि विद्यार्थीका लागि अवसर भएको बताउँछन्। ‘काम गरेर पढ्न आउने विद्यार्थीलाई एकदिन सफल भइन्छ भनेर हौसला दिनुपर्छ', उनले भने, 'विद्यार्थीलाई काम नै पढाइको प्रेरणा हो भनेर बुझाउनुपर्छ, अघि बढ्न सिकाउनुपर्छ।’

सरकारले यो नन्दीरात्रिलाई पनि अन्य विद्यालयलाई हेर्न दृष्टिकोणले हेरेमा विद्यालय राम्रो हुँदै जाने प्रा.शर्मा बताउँछन्। उनी भन्छन्, 'हाम्रो विद्यालयमा पढाउने शिक्षक सबै स्थायी हुनुहुन्छ, अर्को कुरा रातीको समयमा पढाउने विद्यालय अन्य ठाउँमा छैन, तर पनि सरकारले हाम्रो विद्यालयलाई हेर्ने दृष्टिकोण अन्य विद्यालयको भन्दा फरक छ।’

‘विद्यार्थीहरू टाढाटाढाबाट पढ्न आउँछन्। रातको समयमा घर फर्किन उनीहरुलाई असजिलो हुन्छ। तर, आर्थिक अवस्थाका कारण उनीहरूका लागि गाडीको व्यवस्था गर्न सकेका छैनौँ,’ शर्मा भन्छन्, ‘हामीले गाडीको सुविधा दिन नसके पनि विद्यार्थीहरू विविध समस्यासँग जुध्दै कामधन्दा सकेर यहाँसम्म पढ्न आउनु, शिक्षक कर्मचारी पनि रातको समय नभनी शिक्षण पेसामा संलग्न हुनु र पढाइ छुटेका विद्यार्थीलाई पढ्ने अवसर प्रदान गर्नु विद्यालयले पाएको सफलता हो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.