मंसिरबाट नयाँ भवनबाटै पठनपाठन

|

काठमाडौं : भूकम्पले ध्वस्त काठमाडौंको जमलस्थित दरबार हाइस्कुलको मुख्य भवन १० महिनामै पुनर्निर्माण भएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको यो हाई स्कुलको मुख्य भवनको शुक्रबार एक कार्यक्रमबीच नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

दरबार हाईस्कुलका प्रधानाध्यापक हेमचन्द्र महतोले भूकम्पले ध्वस्त मुख्य भवनको निर्माण १० महिनामै सम्पन्‍न गरिएको बताए। ४६ कोठा रहेको उक्त विद्यालयको चारतले भवनको फिनिसिङ ४ महिनामा सम्पन्‍न गर्ने लक्ष्य भवनको निर्माण कार्यमा संलग्न चीनको एससीजी कम्पनीले लिएको छ।

२० महिना भित्र निर्माण सम्पन्‍न गर्ने गरी २०७५ साल साउन १८ गतेबाट दरबार हाइस्कुलको निर्माण सुरु गरिएको थियो। तर तोकिएको समयभन्दा अघि नै मुख्य भवनको निर्माण सकिएको महतोले बताएका छन्।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदूत यान्छीले चीन सरकारले नेपालको भूकम्पपछिको पुनर्निर्माणको कामलाई उच्च महत्वका साथ अघि बढाएको बताइन्। उनले दरबार हाइस्कुलको मुख्य भवनको बाँकी काम पनि छिट्टै सक्ने प्रतिवद्धता जनाइन्।

२०१० सालमा स्थापना भएको दरबार हाइस्कुल नेपालको पहिलो आधुनिक हाइस्कुल हो। २०७२ साल बैशाख १२ गते आएको विनासकारी भूकम्पले स्कुलको भवन ध्वस्त बनाएपछि चीन सरकारबाट आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ। महतोले आगामी मंसिरभित्र नयाँ भवनमै पठनपाठन सुरु गर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.