|

चितवन : मकैको बोटमा किरा लागेपछि पूर्वी चितवनको राप्ती नगरपालिका १ दुबिचौरका किसान चिन्तित बनेका छन्। पाक्नै लागेको मकैको बोटमा अज्ञात किरा लागेपछि सो क्षेत्रका किसान चिन्तित बनेका हुन्।

किराले सबै पात खाएपछि बोट सुक्न थालेको किसान मनबहादुर स्याङबोले गुनासो गरे। घोगाको जुङा पनि खाइदिएको उनले बताए। भाँचेर घरमा थन्क्याउने बेलाको मकैको बोटमा किरा लागेपछि मन बहादुरसँगै अन्य आधा दर्जन किसान यतिबेला चिन्तामा छन्। २/३ दिनअघि फट्टफुट्टा देखा परेको किराले अहिलेसम्म आधा दर्जन किसानको १ बिघाभन्दा धेरै क्षेत्रफलमा रहेको मकैको पात खाएर सखाप पारेको छ। 

मनबहादुरका अनुसार सुरुमा छिमेकी बिनुमाया मोक्तानको बारीमा केही किरा देखिएको थियो। त्यसको दुई दिनमै अहिले उद्धव त्रिपाठी, अर्जुन ढकाल, यमबहादुर लामा, प्रताप स्याङबो, मञ्जु ढकाललगायत किसानको मकैबारीमा किराको प्रकोप देखिएको हो। किराले मकैको पात खानुका साथै घोगाको टुप्पोमा थुप्रिएर बस्ने गरेको पीडित किसानको भनाई छ। ‘किराका कारण पाक्नै लागेको मकैको बोट सुक्न थालेको छ। दाना राम्रोसँग नछिप्पिँदै बिग्रिने डरले किसानलाई पिरोलेको छ’ स्याङबोले भने।

दिउँसो भुइँमा, राति बोटमा

स्याङबोका अनुसार फौजी किराजस्तो देखिने किरा दिउँसोको समयमा घामले गर्दा भुइँमा झर्ने र रातको समयमा मकैको बोटमा चढेर खाने गरेको पाइएको छ। मकै र धान बाली लगाइने सो क्षेत्रमा धानमा भने लागेको छैन। मकै बारीमा अन्य घाँस, झारपात भए पनि किराले मकैको बोट रोज्नेगरेका छन। आफू ४० वर्षदेखि सो क्षेत्रमा बस्दै आए पनि यस्तो किरा यसपल्ट पहिलोपल्ट देखिएको स्याङबोले बताए।

अन्य स्थानमा तीव्र रूपमा फैलिँदै

किरा अन्य स्थानमा पनि तीव्र रूपमा फैलिँदै गइरहेकाले चाँडै नियन्त्रण गर्न नसके सखाप पार्ने उनले बताए। लागेको स्थानमा मकैको खानेकुरा सकिँदै जाँदा अन्य स्थानमा सर्दै गइरहेको छ। उनले नगरपालिकाका बाली संरक्षण शाखामा समेत आजै खबर गरेको बताएका छन्। गत फागुन अन्तिम सातातिर छरेको मकै यही जेठ अन्तिम साता भाच्ने समय हुने किसानको भनाई छ। मकै भाँचेर असारे धान रोप्ने तयारीमा रहेका किसान मकै उत्पादन नहुने चिन्तामा छन्। 

तत्काल अध्ययन गरी नियन्त्रण हुन्छ

उता राप्ती नगरपालिकाका बाली संरक्षण अधिकृत श्रीकृष्ण न्यौपानेले झुसिलकिरा प्रजातिको लार्भा किरा वा कुनै फौजी किराले मकै नष्ट गरिरहेको हुन सक्ने बताए। उनले किसानको समस्याबारे जनाकारी भइसकेकाले तत्काल प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरिने र किरा नियन्त्रणमा लाग्ने बताएका छन्। तत्काल किरा नियन्त्रण गर्न नसके उत्पादनमा प्रभाव पर्ने उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.