|

चितवन : चितवनमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ चितवनले एक करोड रुपैयाँ सहयोग दिने भएको छ। चितवन महोत्सव २०७५ को आयव्यय विवरण सार्वजनिक गर्दै संघले शुक्रबार सो प्रतिवद्धता जनाएको हो। 

संघका अध्यक्ष सहनलाल प्रधानले महोत्सवबाट बचत भएको रकममध्ये ५५ लाख ५५ हजार ५५५ रुपैयाँ केही दिनमै धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरिनले बताए। उनका अनुसार प्रतिवद्धता गरिएको एक करोड मध्ये बाँकी रकम भने पछि दिइने छ। गत पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा आयोजित महोत्सवबाट तीन करोड ४४ लाख ५४ हजार ११७ रुपैयाँ आम्दानी भएको संघका अध्यक्ष प्रधानले जानकारी दिए।

महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका प्रधानले फाउण्डेसनसहित अन्य विभिन्न सहयोगी संघ सस्थालाई पनि संघले सहयोग गर्ने बताए। उनका अनुसार ६९ लाख ९९ हजार ७९१ रुपैयाँ बचत भएको छ। भरतपुर महानगरपालिका १५ रामपुरमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको जिम्मा धुर्मुस सुन्तली फाउण्डेसनले लिएको छ।

फाउण्डेसनले देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी आर्थिक सहयोग संकलन गरिरहेको छ। भदौमा सिलान्यास गर्ने तयारीका साथ रंगशाला निर्माण पूर्वका विभिन्न काम तीब्र रुपमा भइरहेको फाउण्डेसनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.