|

बाँके : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले सरकारले पार्टी चलाउने नभई पार्टीले सरकार चलाउनु पर्ने बताए। नेकपा, बाँकेका कार्यसमिति सदस्यलाई शपथ खुवाउँदै नेता नेपालले तीनै तहको सरकारको गतिविधिलाई नियाल्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। 

नेता नेपालले वर्तमान अवस्थामा सरकारले पार्टी चलाएको जस्तो देखिएको बताउँदै पार्टीलाई सरकारले चलाएको जस्तो देखिएको बताए। ‘सरकारका मन्त्री, प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यलाई पार्टीले पठाएको हो।

पार्टीलाई सरकारले होइन। सरकारलाई पार्टीले चलाउनुपर्छ’ नेता नेपालले भने। उनले पार्टी एकीकरणका क्रममा सवैलाई समेट्न नसकिएको बताउँदै दुवै पार्टीका नेतालाई मिलाउने क्रममा केन्द्रीय, प्रदेश, जिल्ला र नगर कमिटी ठूलो भएको बताए। उनले कार्यसमिति ठूलो हुन पार्टीका लागि सही नभएको बताउँदै यसले नराम्रो संकेत गरेको बताए । 

‘मानिसका शरीरभन्दा टाउको ठूलो भयो भने कुनै न कुनै रोग छ भनेर बुझ्नुपर्छ। त्यस्तै पार्टीको कार्यसमिति ठूलो हुनु पनि पार्टीभित्र केही न केही कमजोरी छ भन्ने बुझ्नुपर्छ’, उनले भने। स्थानीय तहमा भ्रष्टाचार मौलाएको संकेत गर्दै उनले भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिन नसकिने बताए। बरिष्ठ नेता नेपालले नेकपाले प्राप्त गरेको उपलब्धिलाई जोगाइ राख्न नेता कार्यकर्ताले आचरणमा सुधार ल्याउनुपर्ने बताए।

घमण्डका कारण बाहिरी राष्ट्र संचालन गरिरहेका कम्युनिस्ट नेता जनता सामु पराजित भएको उल्लेख गर्दै उनले बुद्धि पुर्‍याउन नसकेका कारण धेरै देशको कम्युनिस्ट सरकार ढलेको स्मरण गरे। नेता कार्यकर्तामा घमण्ड पलाए भारतको बामपन्थी आन्दोलनको हालत हुने भन्दै कार्यकर्तालाई सचेत रहन आग्रह गरे। 

‘भारतमा निर्वाचनको मत परिणाम देख्नु भएकै होला। त्यसमा बामपन्थी शक्तिले एउटै सिट ल्याउन सकेन। बामपन्थी आन्दोलन कसरी ध्वस्त हुन्छ भनेर हेर्नका लागि टाढा जानुपर्दैन।छिमेकमा हेरे पुग्छ’ उनले भने।

सपथग्रहण समारोहमा बोल्दै नेकपा प्रदेश ५ का सह-इन्चार्ज दलबहादुर राना, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज, दिनेशचन्द्र यादव, अकलबहादुर बम लगायतले कार्यकर्ता बीचमा भावनात्मक एकतालाई सुदृढ गरेर लैजानु पर्नेमा जोड दिए।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा, बाँकेका १५५ जनाले शपथ लिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.