|

काठमाडौं : पशुपतिनाथ मन्दिरको कमाइ सवा अर्बभन्दा बढी पुगेको छ। भेटी, विशेष पूजा, हुन्डीबाट एक अर्ब २९ करोड ३८ लाख ३१ हजार रुपैयाँ संकलन भएको हो। अहिलेसम्म संकलित रकमबाट एक अर्बको अक्षय कोष स्थापना गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

अन्नपूर्ण पोस्टमा प्रकाशित समाचारअनुसार श्रीपशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितले जग्गा छानबिन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलनकुमार थापाले बताए। ‘मन्दिरका नाममा हालसम्म उक्त रकम बचत देखियो’, समितिका संयोजकसमेत रहेका थापाले भने, ‘यसबाटै अक्षय कोष स्थापना गरेका छौँ।’

कोषले भेटी तथा पूजा व्यवस्थापन नियमावली बनाएर मन्दिरको भेटीघाटी २०६८ चैत २० देखि व्यवस्थित गर्न थालेको थियो। दैनिक हजारौँ भक्तजनले चढाउने भेटी र विशेष पूजाको रकम संकलन गरी बैंकमा राखिँदै आएको छ। अनादिकालदेखि सञ्चालनमा रहेको पशुपतिनाथको भेटीघाटी २०६८ देखि व्यवस्थित गरिए पनि अक्षय कोष स्थापना गरिएको थिएन।

भेटी साँझ प्रहरीको रोहबरमा गणना गरी मुचुल्का तयार पारिन्छ। कोषका अनुसार मन्दिरमा दैनिक कम्तीमा एक लाख १५ हजार र बढीमा तीन लाख रुपैयाँसम्म संकलन भएको तथ्यांक छ। विशेष पूजामा ११ हजारको पञ्चामृत पूजादेखि २५ लाखको अतिरुद्रमहाभिषेकसम्म पर्छन्। २०६८ अघिसम्म १२ लाख ९९ हजार रुपैयाँसम्मको पूजा गर्न पाउने व्यवस्था थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.