|

डडेल्धुरा : डडेल्धुरामा एउटा यस्तो गाउँ छ, त्यहाँका हरेक घरमा नीलो रंगको जर्किन छ। नवदुर्गा गाउँपालिका–१ कोटेलीको सुनकोटका बासिन्दाका प्रत्येक घरमा नीलो रंगको जर्किन छ। त्यो भारतबाट किनेर ल्याइएका हुन्। 

सुनकोट गाउँमा दलित समुदायका मानिसको बसोबास छ। गत बिहीबार दिउँसो ४ बजे बस्तीका महिला नीलो जर्किन ल्याएर गाउँमाथि रहेको खानेपानी ट्यांकीमामा हतारिँदै आए। पानी भर्न आएकीमध्ये ५० वर्षीया हरुदेवी भुलले २०० घर दलित परिवार रहेको सुनकोटको हरेक घरमा नीलो जर्किन भएको बताइन्।

‘पानीका दुःखले यो इन्डियाबाट किनेर ल्याया हौं,’ उनले भनिन्, ‘सबैका घरका मान्छे कोही न कोही भारतमा छन्, सबैले घर आउँदा ल्याएर आउँछन्, कसै–कसैको घरमा त ५/६ जर्किन छन्।’

गाँउभन्दा धैरै टाढा असुर्पाबाट यस ट्यांकीमा पानी आउँछ। दिनभरी ट्यांकीमा पानी भरिन्छ। त्यसपछि दिउँसो अपराह्न धारा खोलिने गरिएको छ। उनले भनिन्, ‘हामी सबैले दिनको ५० लिटर अट्ने एक जर्किन पानी पाइन्छ।’

दिनको ५० लिटर मात्र पानी एक घरका लागि पर्याप्त पुग्दैन। गाउँभन्दा आधा किलोमिटर टाढा हिँडेर पल्लो गाउँमा पानी लिन जानुपर्ने यहाँका बासिन्दाको दैनिकी नै भएको छ। मजदुरी गरेर गुजारा गर्ने उनीहरु बिहानै ४ बजे जर्किन लगेर पानी भर्न जान्छन्। ‘बिहानै उठेर पानी भर्न जानुपर्छ, जान एक घण्टा र आउन १ घण्टा लाग्ने हुँदा कामको हर्जा नै हुन्छ,’ नजिकै रहेका बालबालिका देखाउँदै इन्दिरादेवी भुलले भनिन्, ‘यिनी सब जान्छन्, ५० लिटर त्यहाँबाट बोकेर ल्याउँछन्।’ 

स्थानीय सरकार आएको दुई वर्ष हुँदा समेत सुनकोटवासीको खानेपानीको समस्या सुल्झिएको छैन। ‘पहिलेकोभन्दा त अलि सहज भएको छ। पहिले टाढबाट पानी ल्याउनु पर्थ्यो,’ हरुदेवीले भनिन्, ‘म बिहे गरेर आउनुभन्दा पहिले पनि यता यस्तै समस्या थियो, आधा उमेर भइसक्यो अझ पनि उस्तै छ।

जातीय विभेद भएको गुनासो

गाउँपालिकाको खानेपानी योजनामा जातीय विभेद भएको गुनासो स्थानीयवासीको छ। चन्नरीदेवी भुलले भनिन्, ‘दिनको एक जर्किन मात्र हामीलार्ई पानी पाइन्छ त्यो पनि पानी आएको दिन मात्र। नत्र हामीले दिन काटेर अरुको धाराबाट पानी ल्याएर खानुपर्छ।’ 

गाईवस्तुलाई पानी खुवाउनदेखि लत्ताकपडाका साथै नुहाउनका लागि तीन चार घण्टाको पैदल दूरी हिँड्नुपर्ने हरुदेवी भुलले बताइन्। ‘हाम्राभन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ’ उनले भनिन्, ‘पानीको लागि धेरै करायौँ फेरि पनि कराउँदैछौं।’ 

पानीको लागि हत्या भएको ठाउँ

खानेपानीको विषयमा विवादका हुँदा खुकुरी प्रहार गरी कोटेलीमै २०७३ को फागुन १ मा एक जनाको हत्या भएको थियो। नवदुर्गा गाउँपालिकाको कोटेलीका शेरबहादुर साउँदको स्थानीय भीमबहादुर भुलले खुकुरी प्रहार गरेर हत्या गरेका थिए।  

जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाअनुसार स्थानीय भुल र मृतक साउँदको खानेपानीको विषयमा विवाद भएपछि दुबैजनाको बीचमा कुटाकुट भएको थियो। सोही क्रममा भुलले  साउँदमाथि खुकुरी प्रहार गरेका थिए। भूल र साउँद छिमेकी थिए। मृतक साउदको घरमाथि र भूलको घर तल रहेको थियो। 

दुई परिवारको खानेपानी प्रयोग गर्ने धाराको पाइप एउटै भएकाले तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जाने र तलको धारा बन्द नगरेपछि विवाद उत्पन्न हुँदा घटना भएको प्रहरीले जानकारी दिएको छ। घटना भएको तीन वर्ष पुग्दा समेत यहाँको खानेपानीको समस्या उस्तै छ।

गाउँपालिकाको भनाइ

गाउँपालिकाले नवदुर्गाको कोटेलीमा रहेको खानेपानी समस्या सुल्झाउने प्रयास भइरहेको जनाएको छ। विगतको भन्दा धेरै समस्या सुल्झिसकेको गाउँपालिको वडा नम्बर १ का अध्यक्ष भीम बोहोराले बताए।

‘खानेपानीको समस्या विगतबाटै रहिआएको थियो। हामीले २० लाख छुट्याएर कोटेली बृहत खानेपानी योजना सम्पन्न गर्दैछौं,’ उनले भने, ‘योजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ र हामी यही नजिकै डिप बोरिङको सुरुवात गर्ने योजनामा छौं।’

डिप बोरिङका लागि प्रदेश सरकाबाट बजेट विनियोजन भएको र गाउँपालिकाले त्यसका लागि १६ लाख छुट्याएको उनले बताए। ‘अझै कोटेलीको २/३ वटा बस्तीमा खानेपानीका योजना सम्पन्न हुने अवस्थामा छ,’ वडाअध्यक्ष बोहराले भने, ‘आगामी दिनमा पनि हाम्रो खानेपानी योजनामा बढीभन्दा बढी जोड हुन्छ।’

डडेल्धुरामा खानेपानीको चरम अभाव, पानी पनि पैँचो माग्‍छन् स्‍थानीय !

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.