|

धनगढी : सुदूरपश्चिम प्रदेशमा भारतबाट चामलको आयात बर्सेनि बढ्दै गएको छ। कैलालीको त्रिनगर भन्सार नाकाबाट मात्रै पछिल्लो १० महिनायता १ अर्ब ७ करोड बढीको चामल आयात भएको कैलाली भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत ईश्वरी अर्यालले बताए। गत वर्ष यो नाकाबाट ८८ करोडको मात्र चामल आयात भएको थियो।

‘चालू वर्षको १० महिनामै गत वर्षको भन्दा १९ करोड बढीको चामल आयात भएको देखिएको छ’ भन्सार कार्यालय प्रमुख अर्यालले बताए। यस अवधिमा आयात भएको २१ हजार ३ सय १ मेट्रिकटन चामलबाट भन्सार कार्यालयले ६ करोड ३७ लाख राजस्‍व संकलन गरेको उनले जानकारी दिए। आर्थिक वर्ष सकिन अझै डेढ महिना बाँकी रहेकाले यो वर्ष चामलको आयात अझै बढ्ने प्रमुख भन्सार अधिकृत अर्यालको भनाइ छ।

 ‘प्रदेशमा चामलको उत्पादन घट्दा आयात बढ्दै गएको छ, उनले भने, ‘भारतीय चामललाई प्रतिस्थापन गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके चामलको आयात घट्नेछ।’

कैलाली, कञ्चनपुरलाई धान उत्पादनको भण्डारणका रूपमा हेरिए पनि भारतमाथिको परनिर्भरता बढ्दै गइरहेको छ। भारतीय आयात बर्सेनि बढिरहँदा पनि सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमै उत्पादन बढाउन पहल गर्न नसकेको जनगुनासो छ।

तर, सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि मन्त्रालयका प्राविधिक उपसचिव यज्ञराज जोशी भने भारतीय आयात रोकी प्रदेशमै उत्पादन बढाउने खाले कार्य योजना बनिरहेको दाबी गर्छन्।

‘नेपाल कृषिप्रधान देश भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ’ जोशीले भने, ‘अब त्यो कम गर्ने र परनिर्भरता हटाउने अभियानमा मन्त्रालय लागिरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.