|

सिन्धुपाल्चोक : गृहमन्त्री रामबहादुर थापा बादल शनिबार सिन्धुपाल्चोकको तातोपानी नाका क्षेत्रको अवलोकन गर्न आएका छन्। नाका सञ्चालनअघि शान्ति सुरक्षाको अवस्था र नाकाको कार्य प्रगतिका विषयमा जानकारी लिन गृहमन्त्री थापा तातोपानी आएका हुन्।

चार वर्षदेखि बन्द रहेको तातोपानी नाका आउँदो साताबाट खोल्ने तयारी भइरहेका बेला गृहमन्त्रीले स्थलगतरुपमै नाकाको अवलोकन र निरीक्षण भ्रमण आएको प्रमुख जिल्ला अधिकारी गोमादेवि चेम्जोङले बताइन्। 

गृहमन्त्रीको भ्रमणलाई व्यवस्थित बनाउन सुरक्षा निकायको टोलीसहित प्रजिअले सिन्धुपाल्चोक स्वागत गरेपछि कडा सुरक्षा व्यवस्थाका साथ टोली बन्देउबाट अगाडि बढिसकेको प्रजिअ चेम्जोङले थाहाखबरलाई बताइन् । 

तातोपानी नाकामै सुरक्षा अधिकारीहरुलाई भेला गराएर गृहमन्त्रीले पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिइसकेपछि निर्देशन दिने कार्यक्रमसमेत रहेको छ। गृहमन्त्री थापासँगै नेकपाका सांसद अग्निप्रसाद सापकोटासहितका नेताहरु पनि सहभागी हुनेछन्। 

२०७२ साल वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिको भोटेकोसी बाढीका कारण संरचना ध्वस्त भएकाले तातोपनी नाका चार वर्षदेखि बन्द रहेको छ। अर्को साताबाट तातोपानी नाका सञ्चालनमा ल्याउने बताइरहेका बेला नेपाली पक्षले तयारी तीव्र पारेको छ। 

बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकैको साँधी खोल्साको पुलले नाका सञ्चालनमा अवरोध गर्ने चिन्ता  बढिरहेका बेला त्यहाँ १४ मिटर लामो बेलिब्रिज जडान भएको छ। गत वर्षको बाढीले बाह्रबीसे नगरपालिकाको खुर्सानीबार नजिकै रहेको साँधी खेल्साको पुल बगाएर लगेको थियो।

तातोपानीनाका जोड्ने मुख्य पुल बगाएपछि सडक आवागमन प्रभावित हुँदै आएको थियो। पुल बगाएपछि अस्थायी डाइभर्सनको सहारा लिइँदै आएको थियो। पुल जडानसँगै सवारी आवागमन सञ्चालनमा आएको बाह्रबीसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.