|

रुकुम : रुकुमपूर्वमा यार्सा टिप्नका लागि जेठ १९ गतेदेखि खुला हुँदै छ। एक महिनाअघि नै यार्सापाटन  क्षेत्रमा यार्सा सुरक्षाका लागि ठूलो संख्यामा युवा स्वयमसेवकहरू पुगिसकेका छन्। सर्वसाधारणहरू सातापछि मात्र जान लागेका हुन्। हाल करिब ४५०० मिटर उचाइमा ३०० जना स्थानीय र केही सरकारी सुरक्षाकर्मीहरूको बलियो घेरामा घेरिएको छ यार्सा क्षेत्र पुपाल।

दैनिकजसो पर्ने हिमपातले यार्सा सुरक्षाकर्मीलाई थप सघाइरहेको छ भनेसँगै सास्ती पनि दिइरहेको छ। ५० को दशकदेखि कारोबारले औपचारिकता पाएको रुकुमपूर्वको मैकोटको पाटन क्षेत्रमा पाइने यार्सा नेपालको उत्कृष्ट यार्सा मध्यमा गनिन्छ। द्वन्द्वकालमा राज्यबाट चालिएको नरसंहारपूर्ण (किलोसेरा टु) नामक अप्रेसनताका यसैक्षेत्र पुपालमा ५ जना यार्सा संकलकलाई माओवादीको नाममा गोली हानी हत्या गरिएको थियो।

त्यस्तै, बढी उचाइ भएका कारण यार्सा संकलनकै क्रममा ज्यान गुमाउनेको संख्या पछिल्लो तीन वर्षयता ६/सातजना भन्दा बढी पुगिसकेको छ। जसमा दूधेबालकदेखि बयोवृद्धसमेत छन्।

युवायुवतीका लागि लभ्ली मन्थ

अनगिन्ति हिमताल, हिमाली जीवजन्तुको आँखैअगाडि दर्शन गर्न पाउनु यार्सा सिजनको अर्को विशेषता हो भने राज्यबाट सधैँ ओझेलमा पारिएको पुथा हिमाललाई सम्मुखबाट दृष्यावलोकन गर्न पाउनुको आनन्द बताइनसक्नु छ।

यार्सा ट्रेलमार्फत बर्सेनि यो सिजनलाई प्याकेजमै उपयोग गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने प्रवल सम्‍भावना रहेको छ। यो सिजन यार्सा कारोबारको अलावा युवायुवतीका लागि ‘लभ्ली मन्थ’ पनि हो। रंगीचंगी बुकी फूलको बारीमा यार्सा टिप्दै लाएका मायाले सार्थक रूप लिँदा आजसम्म सयौं जोडीले घरबार जोडिसकेका छन्। हरेक वर्ष झन्डै दर्जन जोडीले आफ्नो सुनौलो जीवन यही सिजनको माध्यमबाट स्थापित गरिरहेका छन्।

भावानात्मक साइनो क्रमशः नातागत साइनोमा बदलिने क्रम बढ्दो छ। त्यसैले यतिबेला त्यस आसपासका यार्सा संकलक अनि व्‍यापारीका लागि बढी नै चासो र चलखेल हुनु स्वाभाविक विषय हो। यसै सिजनले नै त्यहाँका बासिन्दाले वर्षभरि लाउन र खाने व्यवस्थाको जोहो गर्ने स्थानीय भरतकुमार पुन बताउँछन्। यार्सा सिजन करिब दुई महिनादेखि साढे दुई महिनासम्म रहन्छ।

यो अवधिलाई चुस्त दुरुस्त व्‍यवस्थापन गर्नका लागि स्थानीय भेलामार्फत बर्सेनि १३ देखि २५ जनासम्म सदस्य रहनेगरी यार्सा सिजन व्‍यवस्थापन समिति गठन गरिन्छ। समितिले सिजनभरीको सुरक्षादेखि आर्थिक कारोबारको सबै जिम्मा लिने गर्दछ। यसपटक अमरधन पुन समितिको अध्यक्ष छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.