|

पर्वत : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान सञ्चालन गर्न सबैमा आह्वान गरेका छन्। महामन्त्री डा. शशांक कोइरालाले हिन्दुराष्ट्र बनाउने अभियानका लागि आफ्नो साथ र सहयोग सधैँभरि रहने पनि बताएका छन्।

विश्वकै अग्लो शिव र पार्वतीको मूर्ति निर्माण गर्ने, सिसमहल, ज्योतिर्लिङ स्थापना र धर्मशाला बनाउने उद्देश्यले पर्वतमा जेठ १ गतेबाट सञ्चालित कोटीहोम तथा सामूहिक तुला दान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन्।

नेता कोइरालाले आफ्नी आमाबाट सनातन धर्मबारे धेरै विषयका आफूले जानकारी पाएकाे बताए। उनले भने,‘आफ्नाे बाल्यकालदेखि नै यस्तै खालको धार्मिक परिवारबाट आएको मान्छे हुँ म। नेपाली कांग्रेस सनातन धर्म बचाउन सधैँभरि नै प्रयासरत रहिआएको छ। पार्टी मात्रै होइन म मेरो व्यक्तिगत रूपमा सनातन धर्मको पक्षमा लागिरहने छु।’

डा कोइरालाले धर्म निरपेक्षता खारेजीका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा पनि आफूले साथ दिने बताए। ‘धर्म स्वतन्त्र हुनुपर्छ। न सापेक्ष न निरपेक्ष। धर्म स्वतन्त्रताको कुराहरू हामी गर्छौं। तपाइँहरूलाई हिन्दु राष्ट्र हुनुपर्छ भन्ने लाग्छ?’ उनले प्रश्न गरे। उनले कांग्रेसको झन्डामा रहेका चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता हुनुपर्छ भन्ने रहेको पनि बताए।

नेपाली कांग्रेसले धार्मिक स्वतन्त्रतामा विश्वास गर्ने प्रमाणित हुने डा. कोइरालाको भनाई छ। आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएकाले आफू हिन्दु संस्कारबाट आएको उल्लेख गरे। महायज्ञ मूल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले हिमालय पर्वतकी छोरी तथा महादेवकी पत्नी पार्वतीको जन्म पर्वतको पाङमा नै भएको बताए।

कार्यक्रममा प्रतिनिधि सभाका सांसद पदम गिरी, नेपाली कांग्रेसका पूर्वमन्त्री दीपक गिरी, पण्डित ईश्वरकृष्ण भुर्तेल, कांग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायतकाे पनि उपस्थिति रहेकाे थियाे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.