|

प्यूठान : बैशाख पहिलो हप्ता शैक्षिक सत्र २०७६ को भर्ना अभियान चल्यो। माण्डवी गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकबाट सरकारी सेवासुविधा लिने सबैका बालवबालिकाका सामुदायिक विद्यालयमा भर्ना अनिवार्य पनि गरियो।

सोहीअनुरूप माण्डवी गाउँपालिकाको बागिश्वरी माध्यामिक विद्यालय, तिघ्रामा एक जना शिक्षिकालाई आफ्ना छोरालाई निजी विद्यालयमै भर्ना गरेपछि कारवाहीस्वरूप निष्कासित गरिएको छ। स्थानीय बागिश्वरी माध्यामिक विद्यालयमा अध्यपन गराइरहेकी निजी शिक्षिका गीता भट्टराईले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गरेपछि गाउँपालिको निर्देशनमा विद्यालयबाट निष्कासन गरिएको विद्यालयले जनाएको छ।

२०७४ कात्तिक ११ गतेदेखि विद्यालयमा अध्यपन गराउँदै आएकी माण्डवी गाउँपालिका ५ की शिक्षिका गीता भट्टराईलाई आफ्ना छोरालाई निजी विद्यालयमा पढाएका कारण निष्कासन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टोपाराम आचार्यले जानकारी दिए। ‘गाउँपालिकाको सर्कुलरअनुसार विद्यालयबाट निष्कासन गरेका हौँ’ अध्यक्ष टोपाराम आचार्यले भने।

निष्कासित शिक्षिका भट्टराईले प्रधानाध्यापकसहित अन्य शिक्षकका छोराछोरी निजीमा पढाउने तर आफू मात्रै निजीमा पढाएको भनेर निष्कासन गर्नु अन्याय भएको बताइन्। ‘म पाँच हजारमा निजी श्रोतबाट आधारभूत तहको नियुक्तिमा काम गरिरहेको थिएँ, श्रीमान् अग्नि सिमेन्टमा मजदुरी गर्नुहुन्छ’ शिक्षिक भट्टराईले भनिन् ‘प्रधानाध्यापक र अन्य शिक्षकका छोराछोरी पनि निजीमै पढ्छन्।’

निजीबाट सामुदायिक विद्यालयमा ल्याउन श्रीमान्‍ले नमानेका कारण निजीमै भर्ना गरिएको जानकारी दिइन्। शिक्षिका भट्टराईलाई अवकास पत्र नदिई विद्यालयमा नयाँ शिक्षक भर्ना गरिएको छ।

प्रधानाध्यापक भाग्यश्री केसीका छोरा दर्पण गिरीले पव्लिक वोर्डिङ स्कुल कक्षा १, शिक्षिका पद्मा बिसी, प्रमिला पन्थीको छोरी कक्षा ६ पव्लिक वोर्डिङ स्कुल, बालविकास शिक्षिका गोमा धितालकी छोरीले कालिका वोर्डिङ स्कुल र सहयोगी  सावित्रा आचार्यका छोराले कालिका वोर्डिङ स्कुल कक्षा ७ मा भर्ना गरेका छन्। उनीहरूलाई भने कारवाही नभएको शिक्षिका भट्टराईको भनाइ छ।

यता विद्यालयका प्रधानाध्यापक केसीले गाउँपालिकाको निर्णय गाउँपालिकाभित्र बसोबास गर्ने कर्मचारी मात्रैका बालबालिका सामुदायिक विद्यालय भर्ना अनिवार्य गरेका कारण आफूहरूले निजी विद्यालयमा भर्ना गरेको जानकारी दिइन्।

विद्यालयका प्रधानाध्यापकसहित चारजना शिक्षिकाले आफ्ना बालबालिका निजी विद्यालयमै पढाउने गरेको र उनीहरूलाई किन कारवाही गरिएन भन्ने प्रश्नमा माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले अनुगमनसहित प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.