|

सप्तरी : पूर्वसूचनाविनै भारतीय पक्षले कोशी नदीको धार फर्काएपछि सप्तरीको हनुमाननगर–कंकालिनी नगरपालिका–१३ को गोबरगाढाको पूर्वी भागबाट कोशी नदी बग्दै आएकामा पश्चिमतर्फ फर्काउन भारतले पाइलट च्यानलबाट शुक्रबार पानी छाडेको समाचार कान्तिपुर दैनिकमा छापिएको छ। 

पश्चिमतर्फ अचानक भंगालो बग्न थालेपछि गोबरगाढाका ९० घरपरिवार नदीले घेरिएका छन्। भारतीय पक्षले एकतर्फी रूपमा तीन वर्षदेखि खन्दै आएको पाइलट च्यानलमा पानी छाडेको हो। नगरप्रमुख शैलेशकुमार साहले शुक्रबार साँझदेखि गोबरगाढा जान आउन नसकिएको बताए। ‘पानी छाड्ने भउपछि पूर्वसूचना जरुरी थियो’, उनले भने, ‘बिनाजानकारी पानी छाडियो।’

गोबरगाढामा ३०० हाराहारीको बसोबास रहेको वडाध्यक्ष विन्देश्वरी यादवले बताए। ‘शुक्रबार नगरपालिकाको कार्यालय आएकाहरू साँझ घर फर्किन लाग्दा गोबरगाढा पश्चिमको भँगालोमा ठूलो वेगसहित पानीको बहाव थियो’, उनले भने, ‘केही पुरुषले पौडी खेल्दै ज्यान जोखिममा परेर बस्तीतर्फ गए। महिलाहरू यतै बस्नुपर्यो।’

नगरप्रमुख साहले ७०–८० किलोमिटर प्रतिघण्टाका दरले च्यानलमा पानी बगिरहेको बताए। ‘यस्तोमा कसरी बस्न सक्छन् स्थानीय?’, उनले भने, एकतर्फी रूपमा च्यानल बनाउनु र मनलाग्दी पानी छाड्नु भारतीय  पक्षको हेपाहा प्रवृत्ति हो।

'भारतीय पक्षको लापरबाहीका कारण ९० परिवार सम्पर्कविहीन' शीर्षकमा राजधानी दैनिकले पनि यो समाचार छापेको छ। यस्तै 'जानकारीविना पाइलट च्यानलमा पानी, ९० परिवार विस्थापित' शीर्षकमा नागरिक दैनिकमा समाचार छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.