क्यान्सर र नशाका बिरामीलाई समस्या

|

काठमाडौं : देशकै पुरानो  वीर अस्पतालले किनेका उपकरण थन्किँदा बिरामीले उपचार पाउन सकेका छैनन्। गरिबहरुले उपचार गर्ने 'गरिबको अस्पताल'ले महँगा उपकरण सञ्चालनमा ल्याउन नसक्दा समस्या भएको हो। 

दैनिक १३/१४ सय बिरामीले उपचारका लागि वीर अस्पताल पुग्छन्। यो अस्पतालमा छाती, बाथ रोग र हेमाटोलोजीसम्बन्धी विशेषज्ञ सेवा, रक्त क्यान्सर उपचार सेवा, क्यान्सर स्क्यानिङ, २४ घण्टा नै हेमोडाइलाइसिस र एचाईभी तथा हेपाटाइटिस पत्ता लगाउने सेवा दिइन्छ। यहाँ बंशानुगत रोग पनि पत्ता लगाइन्छ।

वीरमा केही वर्षदेखि टिकट काट्न लाइन बस्‍नुपर्ने बाध्यतालाई कम गर्न टिकट काउन्टरलाई डिजिटलाइज गरिएको छ। गरिबको यो अस्पतालले  रिफर भएर आउने बिरामीलाई छुट्टै विशेषज्ञ टिकटको व्यवस्था गरेको छ। 

सुविधा धेरै 

वीरमा नेपालमै नभएको ग्यास्टो मेडिसिनको एलास्ट्रोग्राफी, आन्द्रा र खाना नलीको रोग पत्ता लगाउने म्यामोम्याट्री, कलेजोको कडापन पत्ता लगाउने फाइब्रोस्क्यान, फोक्सोमा मेसिन घुसाएर भिडियो एक्सरे गर्ने ईबस सेवा पनि सञ्चालित छ। 

सहज छैन उपचार

देशभरका जनताको एक मात्र केन्द्रीय अस्पतालका रुपमा परिचित वीरमा बिरामीले सहजै उपचार सेवा लिन भने पाउँदैनन्। बेला बेला हुने चिकित्सकको आन्दोलन यहाँको एउटा समस्या हो। त्यस्तै चुस्ता व्यवस्थापन नहुँदा अस्पतालमा बिग्रने उपकरणले बिरामीलाई हैरान बनाउँछन्। 

चलेन टोमो थेरापी मेसिन

क्यान्सरका बिरामीको उपचारमा प्रयोग हुने रेडियोथेरापी मेसिन बिग्रिएको २ वर्ष भयो। त्यो मेशिन बिग्रिएपछि वीरमा क्यान्सरका बिरामीले रेडियोथेरापी गराउन पाएका छैनन्। 

तर केही महिना अघि अमेरिकाबाट त्याइएको अर्को मेशिन भने सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पताल राखिएको छ।  पुरानो बिग्रिएको कोबाल्ट मेसिन नबनाइँदा बिरामीले उपचार पाउन नसकेका हुन्।

नयाँ मेशिन पनि वीरमा नराखी अन्तै लगिएकाले दैनिक आउने ५० जना क्यान्सरका बिरामीले निजी अस्पतालमा धाउनु परेको छ। जहाँ उनीहरुले चर्को शुल्क तिर्नुपर्ने बाध्यता छ।

रेडियो थेरापी पनि छैन

रेडियोथेरापी मेसिन खरिदका लागि सरकारले गत आर्थिक वर्ष वीर अस्पताललाई ४० करोड रुपैयाँ दिएको थियो। क्यान्सरका विरामीलाई अनिवार्य रेडियो थेरापी मेसिन अझै आएको छैन। वीर अस्पतालका अल्कोलोजी विभागका प्रमुख डा. विवेक आचार्यले भने, 'लामो समयसम्म रेडियो थेरापी मेसिन नहुँदा बिरामीहरुलाई बाहिर पठाउन बाध्य भएका छौँ।'

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले केही महिनामानै टोमो थेरापी सुरु भइ बिरामीले सेवा पाउने बताए। 'मेशिन आइसकेको छ, अहिले पुरानो मेशिन झिकेर नयाँ मेसिन जडान गर्ने तीव्ररुमा गृहकार्य सुरु भएको छ', उनल भने। 

महंगा उपकरण थन्किए

केही समयअघि ल्याइएका दुईवटा सिटी स्क्यान मेसिन जडान भइसकेको छ। त्यस्तै एमआरआई सेवा सञ्चालनमा आएको छ। तर ९८ लाख रुपैँया भन्दा बढीमा किनेको 'न्यूरो सर्जरी इक्विपमेन्ट' एक वर्षदेखि थन्किएको छ।

नशा तथा मस्तिष्करोगसम्बन्धी उपचारमा अत्याधुनिक मानिएको मेसिन ल्याएर पनि थन्किएको छ। यो मेशिन किन्दा सार्वजनिक खरिद प्रक्रिया मिचेको आरोप लागेको छ। त्यहीकारण यो मेशिन ल्याएर पनि सञ्चालन गर्न नसकिएको निर्देशक डा सेन्चुरीले बताए। 'केही समय अगाडि नै ल्याइसकिएको ‘न्युरो सर्जरी इक्विपमेन्ट’ उपकरण सञ्चालनमा ल्याउन सकिएको छैन', उनले सुनाए।

ल्याएको मेशिन थन्किएपछि बिरामीले उपचार पाउन सकेका छैनन्। 'न्यूरो सर्जरी इक्‍विपपमेन्ट' किन्‍न २०७४ असार ३० गते सम्झौता भएको थियो । वीर अस्पतालका तत्कालीन निर्देशक प्रा.डा. भूपेन्द्र बस्नेत र आपूर्तिकर्ता बायोमेड इन्टरनेसनल प्राइभेट लिमिटेडबीच यो मेशिन किन्‍न सम्झौता भएको थियो। तर किनेर ल्याइसक्दा पनि वीरले यो मेशिन चलाउन सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.