|

काठमााडौं : ब्रेन ट्युमर भएर जीवन र मृत्युको दोसाँधमा रहेका छन् जगदीश पौडेल। छेउमा छन् उनका दाजु। सातवर्षे छोरो र श्रीमती बिन्‍दु पौडेल। अनुहारमा कालो बादल मडारिरहेको छ बिन्‍दुको। उनको दु:ख भन्ने ठाउँ पनि छैन। देखाउने ठाउँ पनि छैन। सुखदुखमा साथ दिने श्रीमान हस्पिटलको बेडमा छन्।  उनी भन्छिन्, 'दु:खले पनि कहिल्यै साथ छोडेन। भगवानले हामीलाई मात्र दुखको सागरमा किन डुबाइरहन्छ?' उनका आँसु बग्छन्। आँसु पुछिदिने श्रीमानको हातमा पट्टी छ। हात चलाउन सक्दैनन्। कुना फर्कन्छन्।

खेती किसानीबाट जीवन निर्वाह गरिरहेका  पौडेल  १२ दिनअघि छिमेकीको घरमा आराम गर्ने क्रममा  एकाएक ढले। बेहोसी अवस्थामा रहेका उनी बेलुका होशमा आए।  बेलुका खाना खाए। तर, सबै बमिट भयो। त्यसपछि उनलाई अस्पताल लगियो। बुटवलको एक अस्पतालबाट रिफर भएर उनी काठमाडौं आएका हुन्।

स्थायी घर पर्वत रहेका पौडेल हाल भैरहवा बस्छन्। गाउँमा अवसर छैनन्। अवसरको खोजीमा भैरहवा पुगेका उनी पेसाले किसान हुन्।। आफ्नो आर्थिक अवस्थाले गर्दा साहुको जमिनमा पसिना बगाउँदै आएका उनी अहिले अन्नपूर्ण न्यूरो अस्पतालको बेड नम्बर ३०९ मा छन्।

दुई छोरी र एक छोराका बाबुसमेत रहेका उनी आफूले छोराछोरी र श्रीमतीलाई कहिल्यै खुसी दिन नसकेको बताउँछन्। 'सुख र आनन्द कहिल्यै भएन' उनी भन्छन्, 'सन्तानलाई सुख दिन नसकेकोमा जीवन नै निरस बन्यो।'  उपचारपश्चात आफू निको हुनेआशामा छन् उनी। हालसम्म उपचार खर्च तीन लाख खर्च भइसकेको छ। जिन्दगीमा उज्यालो दिन देख्न नपाएका पौडेलको उपचार आफन्त र छिमेकीको सहयोगमा भइरहेको छ। भन्छन्, 'सहयोगी हातहरूको अनुहार हेर्न पनि म बाँच्न चाहन्छु।'

१२ दिनदेखी बिरामी भाइको कुरुवा छन् रमाकान्त पौडेल। पौडेल सानै हुँदा उनका बुबाको मृत्यु भयो। जिम्मेवारी दाजु रमाकान्तको हातमा आइपर्‍यो। दाजु आफ्नो जिम्मेवारीबाट भागेनन्। भाइको हरेक इच्छा पूरा गरिदिए। रमाकान्त पर्वत बस्छन्। भाइ बिरामी भएपछि बुटवल पुगे। बुटवलमा उपचार हुन नसकेपछि भाइलाई लिएर काठमाडौं आए। भन्छन्, 'भाइ बिरामी भएको हेर्नै नसकिने रहेछ।' भाइसँगको ताीमिठा अनुभव सम्झन्छन् उनी। भावुक बन्छन्।

बिरामी भाइको उपचार गर्दागर्दै उनको अनुहारको ऊर्जा सकिएको छ। तर, हिम्मत हारेका छैनन्। बिरामी भाइको सफल उपचार गराएर घर फर्काउन चाहन्छन् उनी। भन्छन्, 'भाइको उपचार गरेर फर्कने घरमा आमालाई वचन दिएर आएको छु। अब भाइको भविष्य डाक्टरको हातमा छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.