समाज

सुतेकै ठाउँमा मृत्यु : घटना झनै रहस्यमय बन्दै
SHARES

जेठ १२, २०७६

    चितवन : चितवनको कालिका नगरपालिकामा एक व्यक्ति सुतेकै अवस्थामा मृत फेला परेको घट्ना रहस्यमय बनेको छ। कालिका १ डडुवाका ४८ वर्षीय कुमार सिंह श्रेष्ठ आफ्नै घरमा सुतेको अवस्थामा आइतबार बिहान मृत भेटिएका थिए। 

    उनको मृत्यु शंकास्पद देखिएपछि कुकुरसहितको प्रहरीको टोलीले गरेको अनुसन्धानबाट पनि कुनै भरपर्दो प्रमाण फेला नपारेपछि घट्ना थप रहस्यमय बनेको हो। घट्नाबारे अहिले नै यहि नै हो भन्ने अवस्था नरहेको अनुसन्धानमा संलग्न प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले बताए। श्रेष्ठको शव पोसमार्टमका लागि अहिले भरतपुर अस्पतालमा लगिएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    घट्ना यसरी बन्यो रहस्यमय

    घट्नाबारे आज बिहान ६ः३० बजे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय टाडीबाट गएको  प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक श्रेष्ठ सुत्ने कोठाभित्र एउटा इँट्टा ४ टुक्रा भएको अवस्थामा फेला परेको र परिवारका अन्य सदस्यको भनाइका आधारमा घटना संकास्पद भएको भन्दै थप अनुसन्धान अघि बढाएको थियो। 

    मृतकको शरीरमा कुनै चोट पटक नलागेको भए पनि उनका छोराले बुबाले सधैँ लगाउने सिक्री र औँठी नभएको बताएपछि चोरले घटना घटाएको अनुमान गरी प्रहरीले थप अनुसन्धान गरेको थियो। छोरा सुमन श्रेष्ठका अनुसार मृतक श्रेष्ठले करिब ७ तोलाको सिक्री र औँठी लगाएका थिए। 

    कुकुर पनि अल्मलिएर फर्कियो

    सुक्ष्म अनुसन्धानका लागि प्रहरीले हेटौँडाबाट तालिम प्राप्त कुकुरसहितको टोली बोलाएको थियो। ज्याक नामको कुकुर लिएर प्रदेश प्रहरी कार्यालय हेटौँडाको कुकुर शाखाबाट प्रहरी सहायक निरीक्षक लाल बहादुर मगरसहितको टोली बिहान करिब १० बजेको समयमा घटनास्थलमा आएर अनुसन्धान अघि बढायो। 

    कुकुरले घट्ना भएको घरबाट साढे २ किलोमिटर दूरीमा रहेको खुकुरी चोकसम्म सुँघ्दै गएको र चौबाटोमा पुगेर अलमलिएपछि तत्कालका लागी कुकुरसहित अनुसन्धान टोली त्यहिबाट फिर्किएको थियो। त्यसपश्चात् कालिका नगरपालिकाका प्रमुख खुम नारायण श्रेष्ठ, मृतकका आफन्त र प्रहरीको टोलीले घट्नास्थलको सुक्ष्म अनुसन्धान गर्दा कुनै प्रमाण फेला पर्न सकेन। 

    चोटपटक छैन, रगत देखियो

    अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक राजकुमार श्रेष्ठका अनुसार शरीरमा कहिँकतै चोट नदेखिए पनि गाला र कपडाका एक दुई स्थानमा रगत देखिएको छ। उनका अनुसार मृतकको शरीरमा कतै चोटपटक नदेखिकाले कोठाभित्र भेटिएको इँट्टको प्रयोग पनि नभएको पाइएको छ। घटनास्थलबाट आवश्यक अनुसन्धानका सम्भावित कपडा, इँट्टालगायत विभिन्न सामग्री सुरक्षित राखिएकाले थप अनुसन्धान गरिने इप्रका डाँडीका डिएसपी सन्तोष आचार्यले बताए। 

    दोषी भेटिए कारवाहीको दायरामा ल्याउन माग

    स्थानीयका अनुसार मृतक श्रेष्ठ घरनजिकै रहेको एक होटलमा छिमेकी साथीसँग राति अबेरसम्म मादक पदार्थ सेवन गरी बसेका थिए। घटनाको सुक्ष्म अनुसन्धान गरी दोषी देखिए कारवाही गर्न स्थानीयले माग गरेका छन। गरगहना चोरीका लागि घटना घटाएको हुन सक्ने उनीहरूको आशंका छ।  

    पारिवारिक अवस्था

    मृतक श्रेष्ठका परिवारमा श्रीमती, ३ छोरा, २ बुहारी, २ जना नाति र आमा रहेका छन्। मृतकका श्रीमती, २ छोरा र बुहारी आफन्त कहाँ काठमाडाैं गएका थिए। उनकी आमा यस अघिदेखि नै कालिका नगरपालिका १ मा बहिनीसँग बस्दै आएको बताइएको छ। एक छोरा र बुहारी घरको माथिल्लो तलामा बस्दै आएको बताइएको छ। स्थानीयका अनुसार मृतक श्रेष्ठ केही वर्ष अघिसम्म जग्गासम्बन्धी काम गर्ने गरेकामा हाल केरा खेती गर्न थालेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]