|

दाङ : तुलसीपुर २ कुमलगढीकी जितमाया चौधरी (ममता) चौधरीलाई आइतबार आर्थिक सहयोग गरिएको छ। तीन वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचार गर्दै आएकी चौधरीको उपचारका लागि दाङ फेमिना ग्रुपले चटपटे बेचेर संकलन भएको रकम हस्तान्तरण गरेको हो।

केही दिनअगाडि तुलसीपुरको बजारमा चटपटे बेच्दा संकलन भएको १९ हजार २३० रुपैयाँ आइतबार तुलसीपुरमा एक कार्यक्रमकाबीच दाङ फेमिनाका शिक्षा श्रेष्ठले पीडित चौधरीलाई हस्तान्तरण गरिन्। त्यस्तै, चौधरीले उपचारको लागि आर्थिक अवस्था कमजोर भएको भन्दै अन्य व्‍यक्तिले करिब २० हजार सहयोग गरेका थिए। चौधरी पूर्वलडाकु हुन्।

चौधरीले जनयुद्ध जिते पनि आफ्नो जीवन जित्न नसकेको बताइन्। 'हामीले १० वर्षीय जनयुद्ध लड्यौं', उनले भनिन्, 'देशको लागि लडेको त्यो लडाइँ जित्न सफल भइयो। तर अहिले आफ्नो स्वास्थ्यका लागि लड्दै छु। तर, यो लडाइँलाई जित्न सकिरहेकी छैन।' दुवै मिर्गौलाले काम नगर्ने भएपछि अहिले उनको जीवन डायलासिसबाट चलिरहेको छ।

अहिलेसम्म करिब ३० लाख जति खर्च भइसकेको र अब करिब ४० लाख भए मात्रै आफूले जीवनमा जित्ने भन्दै सहयोगका लागि सबैलाई अनुरोध गरिन्। 'अहिले नियमित डायोलासिस गरिरहेकी छु', उनले भनिन्, 'श्रीमानको मिर्गौला राख्ने भनिए पनि श्रीमानको मिर्गौला नमिलेपछि किनेर भए पनि मिर्गौला राख्ने योजना बनाएका छौं। तर हामीसँग पैसा छैन।

अरूको मिर्गौला राख्नका लागि करिब ४० लाखभन्दा बढी लाग्ने डाक्टरले भने पनि अहिले आफूसँग कुनै सम्पति नभएपछि आर्थिक सहयोग जुटाउन सडकमा भौतारिरहेको चौधरीले बताइन्। 'श्रीमान विदेश हुुनुहुन्थ्यो। मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि आफ्नो मिर्गौला दिने भनी स्वदेश आउनुभयो। तर उहाँको मिर्गौला पनि मिलेन। श्रीमानले विदेशमा कमाएको पैसा, घरको जग्गा बेचेको सबै पैसा सकियाे', उनले बताइन्।  

चौधरीले ससाना दुईवटा सन्तान छन्। एउटा छोरी र एउटा छोरा रहेको भन्दै उनीहरूलाई कसरी पालन पोषण गर्ने भन्ने अर्को चिन्ता थपिएको चौधरीले बताइन्। म आफैँ यस्तो अवस्थामा छु। सबै सम्पति उपचारमै सकियो। अब छोराछोरीलाई पनि कसरी पालन पोषण र पढाई-लेखाई गराउने भन्ने चिन्ता छ’ उनले भनिन्।

धेरै वर्ष देशको लागि लडेँ, अब मेरो स्वास्थ्य र छोराछोरीहरुका लागि लडिरहेकी छु। अहिले उनको काठमाडौंस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा उपचार भइरहेको छ। आउँदा जाँदा निकै पैसा खर्च हुने भन्दै राप्ती प्रादेशिक अस्पतालमा उपचार गराउने भनिए पनि मिर्गौला मात्रै नभई टिभिको पनि बिरामी भएकाले यसका लागि काठमाडौंमा नै उपचार गराउनु पर्ने बाध्यता रहेको बताइन्।

चौधरीलाई सहयोग गर्न चाहनेले उनको ग्लोबल आइएमीको खाता नं १००७०१०००९३२१ मा जम्मा गर्न सकिनेछ। साथै त्यसैगरी मिर्गौलापीडित चौधरीको मोबाइल नम्ब‍र ९८१२८०४७५५ मा सम्पर्क गर्न उनको आग्रह छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.