रक्षामन्त्रीसहितको टोली नाम्चे आउँदै

|

सोलुखुम्बु :    सगरमाथा सरसफाई अभियानमा संकलन गरिएको फोहोरको बारेमा सोमबार सरोकारवाला निकायलाई जानकारी गराईने भएको छ। लुक्लादेखि सगरमाथ क्षेत्रमा संकलन गरिएको फोहोरलाई सोमबार बिहान एक कार्यक्रमका बीच प्रदर्शन गरिने खुम्बुपासाङल्हमु गाउँपालिका सोलुखुम्बुका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिए।

सोमबार बिहान ७ बजे नेपाली सेनाको नाम्चेस्थित व्यारेकमा कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रमको तयारी पूरा भएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राई, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, न्यूजील्याण्डका पूर्वप्रधानमन्त्री हेलेन क्लक, सोलुखुम्बुका प्रतिनिधि सांसद हेमकुमार राई (शुरवीर) प्रदेश सांसद एवं नेकपा प्रदेश नम्बर १ का संसदीयदलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी लगाएतको उपस्थिति रहनेछ।

नेपाल सरकार, खुम्बुपासाङल्हामु गाउँपालिका, नेपाली सेना, नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति र सगरमाथा राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले संकलन गरेको फोहोरको मात्रा समेत सोही कार्यक्रममा सार्वजानिक गरिनेछ।

विगत लामो समय देखी सगरमाथा क्षेत्रमा फोहोरको मात्र बढेपनि सरसफाई नभएको भन्ने आवाज उठेको थियो। बारम्बार फोहोर व्यवस्थापनको विषयमा सम्बन्धित निकायको ध्यानकर्षण गराउने काम गरेपछि अभियान नै सञ्चालन गरि फोहोर संकलन र व्यवस्थानको काम थालिएको हो।

सरसफाई अभियानमा १० हजार केजी फोहोर संकलन गर्ने लक्ष्य राखिएको थियो। संकलन गरिएको फोहोरमध्ये केही फोहोर यसअघि नै ओखलढुंगास्थित नेपाली सेनाको व्यारेकमा राखिएको छ भने केही फोहोर काठमाडौं लगिएको छ। बाँकी फोहोर नाम्चेमा राखिएको छ।

कुहिने, नकुहिने, पुन प्रयोग गर्न मिल्ने र नमिल्ने गरि छुट्इएको फोहोरलाई सोही अनुसार व्यवस्थापन गरिने खुम्बुपासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेपाले जानकारी दिए। बैशाख १ बाट सुरु भएको सरसफाई अभियान सोमबार ४५ दिन पुग्ने छ।

चारवटा मानव शव संकलन

टोलीले आधार शिविरभन्दा माथि रहेको चार वटा मानव शवसमेत फेला पारको छ। उक्त मानव शवलाई हेलिकोप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। धेरै वर्ष पुराना शव भएकाले पहिचानमा भने समस्या भएको टोलीले जनाएको छ।

सगरमाथा आरोहण सुरु भएको ६६ वर्ष पछि पहिलोपटक अभियान सञ्चालन गरि फोहोर संकलन गरिएको हो। संकलन गरिएको फोहोर ‘ब्ल्यू वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरिने पर्यटन विभागले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.