|

काठमाडौं : सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव ५ नम्बर प्रदेशका जिल्लाहरूमा पनि परेको छ।

यसैबीच अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-२ चुत्राबेसी र शिक्षा क्याम्पस वेलवाटिमा फेला परेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।

विप्लव समूहले आह्‍वान गरेको बन्दको प्रभाव गुल्मी,पाल्पा, अर्घाखाँची, प्युठान ,रूपन्देही बुटवल तथा आसपासको क्षेत्रमा बिहानैदेखि परेको छ। लामो तथा छोटो दुरीमा चल्ने बस तथा कुनै यातायतका साधन चल्न सकेका छैनन्। उद्योग स्कुल पसलहरू पनि  खुलेका छैनन्।

यस्तै, बैतडीको दोगडाकेदारमा फेला परेका दुईओटा बम निष्कृय पारिएको छ। दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविनजिकै महाकाली राजमार्गमा रहेका आइडी बम नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो। हनुमानध्वज गुल्मको क्याप्टेन देवेन्द्र बस्नेत नेतृत्वको सेनाको टोलीले एक घण्टा लगाएर निष्कृया पारिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिए।

यस्तै चितवनको कृषि तथा वन विज्ञान विश्‍वविद्यालय अगाडिको सडकमा कुकर देखिएपछि नेपाली सेनाको टिमले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। शंकास्पद वस्तु कुकर बम भएको सेनाको डिस्पोजल टोलीले पुष्टि गरेको छ।  बन्दले बिहानैबाट जिल्लामा सवारीसाधन कम गुडेका छन् भने बजार पसल कम खुलेका छन्।

अर्घाखाँचीबाट विष्णुकुमार आले, बैतडीबाट विनोद विष्ट र चितवनबाट उर्गेन तामाङको सहयोगमा

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.