|
फाइल फोटो

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले राजधानीमा भएका बम विस्फोटका घटनालाई लिएर सरकारले सुरक्षा दिन नसकेको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा नेपाली कांग्रेसका सांसदहरूले सरकारले सुरक्षासम्म दिन नसकेकाले अब विकासको अपेक्षा नरहेको बताए।

नेपाली कांग्रेसकी सांसद  लक्ष्मी परियारले भनिन्, 'दिन दहाडै काठमाडौंका मुटुमा बम विस्फोट भएका छन। सरकारलाई खोज्न कहाँ जाने? शक्तिशाली सरकारको अवस्था के हो?'

त्यसैगरी सांसद लालकाजी गुरुङले नेपाली जनताले सुख र शान्तिको अनुभूति गर्न पाउनुपर्ने माग गरेका थिए। उनले भने, 'पाँचथरदेखि घट्टेकुलो, सुकेधारासम्म श्रृंखलावबद्ध विस्फोट भएका छन्। संवादबाट अगाडि बढे सुख शान्ति पाउँला।'

सांसद बहादुरसिंह लामाले भने, 'सरकारले दिउँसै शान्ति सुरक्षा दिन नसकेकाले के गरिरहेको छ भन्ने जान्न चाहान्छौँ। वार्ताबाट असन्तुष्टि समाधान गर्नुपर्छ। शान्ति सुरक्षा दिन नसके सरकारको औचित्य समाप्त हुन्छ।'

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरीले विप्लवविरुद्ध कडा कदम चाल्न सरकारसँग माग गरेकी थिइन। उनले भनिन्, 'जनतालाई अपराधिक त्रुटीले जनताको ज्यान लियो। देशमा सामन्तवाद छैन। कम्युनिस्ट नेतृत्वको सरकार छ र समावेशी नेतृत्व छ।' विप्लवलाई आग्रह गर्दै उनले भनिन्, 'मुलुकले जनताको रगत मागेको छैन, विकास मागेको छ। जनताले आहत होइन राहत मागेको छ। बम गोला रोक्नुहोस्। सरकारले यसलाई रोक्न कडा कदम चालोस् भन्ने माग गर्दछु।'

कांग्रेस सांसद सीतादेवी यादवले भनिन्, 'दुई तिहाईको कम्युनिस्ट सरकारको पालामा दिउँसै बम आतंक फैलिएको छ। सुरक्षा पनि दिन नसक्ने सरकारबाट कसरी विकासको आशा गर्ने?'

'सिंहदरबार नजिकै बम विस्फोट भएको छ। सरकार भन्छ सुरक्षा व्यवस्था कडा भएको छ', कांग्रेस सांसद सुजाता परियारले भनिन्, 'यस्तो अवस्थामा कसरी ढुक्क हुने हो? झुटो आश्वासन मात्र दिएर सुरक्षा व्यवस्था राम्रो छ भन्न मिल्छ?'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.