|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच सम्बन्ध त छैन? भनेर प्रश्न गरेका छन्।

गृहमन्त्री रामबाहादुर थापाले जरुरी सार्वजनिक विषयका लागि समय माग गर्दै संसदलाई हिजो र आज भएका बम विस्फोट तथा मृत्युका बारेमा जानकारी दिएपछि सांसदहरूले प्रश्न सोध्ने क्रममा सिंहले उक्त प्रश्न गरेका हुन्। गृहमन्त्रीले विप्लवसँग वार्ता भइरहेको जानकारी दिएपछि कांग्रेस सांसद सशंकित भएका हुन्।

सिंहले एकातिर राज्य आतंक भएको र अर्को तिर विप्लवको बम आतंक रहेको बताए। उनले भने, 'हिजो एउटा कम्युनिस्ट पार्टी संसदमा थियो अर्को बम विस्फोट गर्दै हिँडेको थियो। पछि एक भए। आज पनि एउटा बम आतंक मच्चाउँदै हिँडेको छ अर्को सरकारमा छ। कतै साँठगाँठ त छैन?'

नेपाली नागरिकको स्वतन्त्रता र आवाजमा प्रतिबन्ध लगाउन यस्तो साँठगाँठ त भएको छैन भनेर सांसद सिंहले आशंका जनाएका थिए।

तत्कालिन नेकपा एमाले संसदमा रहेको बेला पुष्पकमल दाहाल नेतृत्वको तत्कालिन माओवादी सशस्त्र विद्रोहमा थियो। पछि ती दुई पार्टी एक भएर नेकपा बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.