अर्धनिद्रामा परेको सरकार हराएको भन्दै कटाक्ष

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सरकारको आलोचना गरेको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसदहरुले राजधानीमा नै बम विस्फोटमा परि सर्वसाधरणले ज्यान गुमाईरहेको भन्दै शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको धारणा राखेका हुन् । उनीहरुले दुईतिहाइको दम्भ देखाउन छाडेर जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारले राजधानी जस्तो स्थानमा पनि दिउँसै बम विस्फोटमा परि सर्वसाधरणको ज्यान गएको भन्दै सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराइन्।

शक्तिशाली सरकारको समयमा पनि राजधानीकै बासिन्दा सुरक्षित हुन नसकेको र नेपालीहरु आतंकित भएको भन्दै उनले सरकार के गरेर बसिरहेको छ भनी प्रश्न गरिन् ।

‘सरकार किन चुप ? सरकार किन निदाएको छ ? नेपाली जनताले  सरकारलाई खोज्न कहा जानुपर्ने सभामुख महोदय ?’, उनले प्रश्न गरिन्।

सांसद लालकाजी गुरुङ्गले पाँचथर देखि राजधानीको घट्टेकुलो सम्म श्रृंखलाबद्ध बम विस्फोट भइरहेको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराए। । दुईतिहाइको दम्भले मात्रै जनताले शान्ति सुरक्षाको महसुस गर्न नसक्ने भन्दै उनले निषेधको राजनीति नगर्न सरकारलाई चेतावनी दिए।

सांसद बहादुर सिंह लामाले सरकारले शान्ति सुरक्षा दिन नसकेको भन्दै दुई तिहाईको दम्भ नदेखाई वार्तामार्फत समस्या समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए।

सांसद शान्ता चौधरीले शान्ति सुरक्षाको प्रत्याभुतिका लागि ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराइन्।

सांसद सत्य नारायण शर्मा खनाल ले पाँचथर जिल्लामा ढाका सिलाई बुनाईको तालिम लिन आउनेलाई आफ्नै होटलमा खाना खुवाउँदा धनबहादुर शेर्माको परिवारले नुनमा सिसा पिसेर मिसाएर खान दिँदा पनि कारवाही किन नभएकोमा गृहमन्त्रीको जवाफ माग गरे।

सांसद सीतादेवी यादवले दिनदहाडै राजधानीमा बम विस्फोटमा परि सर्वसाधरणको हत्या भइरहँदा पनि  सरकार के अर्थनिन्द्रामा छ ? भनी प्रश्न गरिन्।

सांसद सुजाता परिवारले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको टिप्पणी गरिन् । सिंहदरबार नजिकै बम विस्फोट हुनु, पाँचथरमा ९ जनाको हत्या लगायत मुलुकभर विस्फोटका घटना भइरहनुले मुलुकको शान्ति सुरक्षाको स्थिति कमजोर भएको पुष्टि भएको उनले बताइन्। 

सांसद हिरा गुरुङ्गले शान्ति सुरक्षा नदिने सरकारसंग के विकासको आशा गर्ने भनी प्रश्न गरिन् । ‘कहाँ छ शान्ति र सुरक्षा? नेपालको शान्ति र सुरक्षा कता हरायो?,’ उनले प्रश्न गरिन्।

सांसद ज्ञान कुमारी छन्त्यालले सरकारले राजधानीकै सुरक्षा व्यवस्था चुस्त राख्न नसकेको भन्दै त्यस तर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

‘जनता एकछाक भोको बस्नुपर्दैन । भोको बसे फोन गर्नु भन्ने सरकारले जनताको सुरक्षा दिन नसकेर दिउँसै बम पड्केर ४-४ जनाको मृत्यु हुँदा कहाँ छ?,’ उनले भनिन्, ‘यस्ता क्रियाकलाप रोक्न म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँछु ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.