|
बन्दका कारण वीरगन्जको बसपार्क क्षेत्रमा राखिएका सवारीसाधन।

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले गरेको बन्दको प्रभाव बारा, पर्सा र झापामा पनि परेको छ। बन्दका कारण वीरगन्ज भएर चल्ने लामो तथा छोटो दूरीका अधिकांश सवारी चलेका छैनन्। विगतमा बारा, पर्सामा विप्लवको बन्दमा खासै प्रभाव नपर्ने भए पनि सोमबार भने बन्दको प्रभाव परेको छ। एकाबिहानै सिमराको बजनीमा अज्ञात समूहले सामान बोकेर भारतबाट आएको भारतीय नम्बरको लहरीमा आगजनी गरेपछि यस क्षेत्रका सवारी धनीहरुले पनि सवारी चलाउने आँट गरेका छैनन्।  

आइतबार काठमाण्डौमा चार जनाको मृत्यु हुने गरी भएको बम विष्फोटको हल्लाले अझ वीरगन्ज भएर चल्ने सवारी पनि स्वतस्फूर्त चल्न नसकेको व्यवसायीहरुले बताएका छन्। ज्यान र सवारीकै जोखिम मोलेर हिड्न सकिने अवस्था छैन। सवारी र ज्यानको ज्ञारन्टी कस्ले लिदिन्छ र? व्यवसायीहरुले उल्टै प्रश्न गरे। सवारी साधानमा आगजनी र बम विष्फोटमा ज्यान नै जाने खतरा भपछि बैंकको व्याजले थिचे पनि एक दिन सवारी नचलाइएको काठमाण्डौ वीरगन्ज चल्ने सुमोका एक संचालकले बताए। नाम भने उनले सार्वजनिक गर्न चाहेनन्। 

बन्दको कारण सवारी साधन नचल्दा यात्रुहरुलाई भने निकै सास्ती खेप्नु परेको छ। भारतको दिल्लीबाट काठमाण्डौका लागि हिँडेका सुरज पंडित सवारी नपाएपछि खिन्न भएर वीरगन्जको बसपार्र्कमा भेटिए। उनी यात्रुहरूमध्ये प्रतिनीधि पात्र मात्र हुन्। यस्ता धेरै यात्रुहरु वीरगन्जको बसपार्कमा यता उता गर्दै सवारीको खोजीमा भौतारिरहेका छन्। तराईको गर्मी मौसममा दिनभरी बाहिर बस्न कठिन हुने हुँदा गोजीमा पैसा हुनेहरु भने होटलतर्फ लागेका छन्। पैसा कम हुनेहरु बसपार्क क्षेत्रमा नै गर्मी छल्ने प्रयासमा छन्।

वीरगन्ज भएर चल्ने लामो दूरीका भने प्रायः सबै सवारी ठप्प भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बाटोभरी विभिन्न अवरोध हुँदा लामो दूरीका सवारी अलि नचले पनि छोटो दूरीका सवारी भने छिटफूट चलिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए। सवारीसाधान नै कम चल्दा सधैँ सवारीको चाप रहने वीरगन्ज पथलैया सडक खण्ड सोमबार भने अलि सुनसान जस्तै भएको ट्राफिक प्रहरी पथलैयाले जनाएको छ।

यस्तै पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको दमक रतुवा पुल पश्चिममा शंकास्पद वस्तु भेटिएपछि राजमार्ग अवरुद्ध भएको छ। शंकास्पद वस्तु कुकर बम हुनसक्ने भन्दै प्रहरीले सर्वसाधारणलाई त्यसतर्फ जान दिएको छैन।

बाराबाट महेश्वर अधिकारी, पर्साबाट तुलसी भण्डारी र झापाबाट गोपाल झापालीको सहयोगमा 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.