|

  • अनिल खत्री-

गुल्मी : गुल्मी सदरमुकाम तम्घासमा प्रहरी र बन्दकर्ताबीच झडप हुँदा सांसदसहित २० भन्दा धेरै आन्दोलनकारी घाइते भएका छन्।

जिल्ला प्रशासन कार्यालयमा संयुक्त संघर्ष समितिले लगाएको ताला प्रहरीले खोल्ने क्रममा आन्दोलनकारीले अवरोध गरेपछि दुई पक्षबीच झडप भएको हो।

झडपका क्रममा आन्दोलनको नेतृत्व गरेकी नेकपा मालेकी सांसद कमला बिकसहित २० भन्दा बढी आन्दोलनकारी घाइते भएको संघर्ष समितिले जनाएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। झडपमा ४ जना प्रहरी समेत घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

झडपमा गम्भीर घाइते भएका नेपाल तरुणदल रेसुङ्गा नगरकमिटीका अध्यक्ष कृष्ण पाण्डेलाई थप उपचारको लागी पाल्पा पठाइएको छ। झडपमा प्रहरी र आन्दोलनकारीको टाउको, हात, खुट्टामा चोट लागेको छ। अन्य घाइतेहरुको जिल्ला स्थित रेसुङ्गा हस्पिटल, तम्घास अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले आन्दोलनकारीलाई लखेट्न २० भन्दा बढी सेल अश्रुग्यास समेत हानेको थियो। 

आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका छन्। बा १ झ ६६८१ नम्बरको जिल्ला विकास समितिको गाडी र वास प्रोजेक्टको ६६–१–०–७५५ नम्बरको निलो प्लेटको गाडीमा आगजनी भएको हो।

स्थानीयको भावनाअनुसार भइरहेको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको भन्दै संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगाना, डिएसपी भोला रावलको विरोधमा नाराबाजी गर्दै सरुवाको माग गरेका छन्। केही दिनदेखि गुल्मीमा बसेर आन्दोलनको नेतृत्व गरेकी नेकपा मालेकी सांसद विकले एक हप्ताभित्र सरकारले सरुवा नगरे थप आन्दोलन चर्काउने चेतावनी दिइन्।

आन्दोलनकारीलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सचिव एबम गुल्मी क्षेत्र नं. ३ का सांसद गोकर्ण विष्टले पाँच नम्बर प्रदेश टुक्राउने गरी संसदमा ल्याइएको प्रस्ताव कुनै पनि हालतमा पारित नहुने बताए। विष्टले पहाड र तराइबीच नङ र मासुको सम्बन्ध रहि आएकोले यस क्षेत्रका जनताको मनोभावना विपरित कोही अगाडि बढ्न नसक्ने बताए। 

प्रदेश नम्बर पाँचका तराई र पहाडका जिल्ला अलग गर्ने गरी संसदमा दर्ता भएको प्रस्तावको विरोधमा गुल्मी सत्र दिनदेखि बन्द छ। यस्तै संघर्ष समितिले आह्वान गरेको हडतालका कारण रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम र बाँकेको जनजीवन प्रभावित भएको छ। यी जिल्लाहरुमा शुक्रबार शैक्षिक संस्था, बजार खुलेनन्। गाडी पनि बन्द छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.