महेश बस्नेतमाथि दुई सांसदको कटाक्ष

|

काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको प्रतिरक्षामा नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेत उत्रिए।

राजधानी लगायत विभिन्‍न ठाउँमा भएका विप्लव समूहले आइतबार गराएका बम विस्फोटबारे गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक चासोको विषय भन्दै विशेष समय मागेर प्रष्टिकरण दिएका थिए।

मन्त्रीको प्रस्तुतिमाथि कांग्रेस सांसदहरूले कडा प्रश्न सोध्न थाले। कांग्रेस सांसदहरूले गृहमन्त्रीको प्रस्तुतीमा बम विस्फोटमा मृत्यु भएकाहरू नेपाली नागरिक नभएको भन्ने आशय प्रस्तुत भएको भन्दै आलोचना गरे। कांग्रेस सांसदहरूले यसअघि विप्लवका गतिविधिमाथि प्रतिबन्ध लगाएकोमा अहिले बम विस्फोट गर्दा पनि चर्को आलोचना गरे। यो हेरिरहेका नेकपा सांसद बस्नेत आफ्ना भनाइ राख्न उठे।

सांसद बस्नेतले भने, 'म सदनमा १० मिनेट ढिला आइपुगेँ। कोटेश्वरको जाम अघिपछिभन्दा १० मिनेट बढी थियो। जाममा परेको थिएँ। विप्लवको बन्दलाई जनताले अस्वीकार गरेका छन् भन्ने प्रमाण त्यै हो।' आज विप्लवले मुलुकभर बन्दको आह्वान गरेकामा त्यो असफल भएको बस्नेतको भनाइ थियो।

बस्नेतले कांग्रेस सांसदहरूलाई नै लक्षित भनाइ यस्तो थियो, 'पाँचथरको घटनाका दोषीले आत्महत्या गरेको छ भन्ने सुनिएको छ। त्यसबारे छानबिन गर्न स्वर्गमा रहेका पूर्वगृहमन्त्रीहरूसँग सहकार्य गर्नका लागि प्रमुख प्रतिपक्षी दलसँग पहल गर्नुपर्ला!'

कांग्रेस सांसदले विप्लव समूहले बम विस्फोट गर्दा पनि सरकारको आलोचना गर्ने र उसका गतिविधिमाथि प्रतिबन्ध लगाउँदा पनि आलोचना गरेको नसुहाउने धारणा राखेका थिए।

सांसद बस्नेतका यी कुराले कांग्रेसका सांसदको मन कुँडियो। बस्नेतपछि बोल्ने दुई महिला सांसदले बस्नेतलाई प्रतिक्रिया दिएका थिए।

कांग्रेस सांसद पार्वता डिसी चौधरीको प्रतिक्रिया थियो, 'म बालकोट (भक्तपुर) बस्छु। आज म बालकोटबाट बानेश्वर आउँदा ५ मिनेट लाग्यो, बाटो खुल्ला थियो।' उनको यो धारणा सांसद बस्नेतको उक्त भनाइप्रति लक्षित थियो।

सांसद रंगमती शाहीले भने बस्नेतलाई जवाफ दिनमात्र समय माग गरेकी थिइन। उनको भनाइ थियो, 'म बनस्थलीबाट आउछु। सदन आइपुग्दा जहिले पनि १ घण्टा लाग्थ्यो। आज २० मिनेटमा आइपुगेँ। बनस्थली रुटका सबै गाडीहरू आज कोटेश्वर रूटमा गएका रहेछन्।' शाहीको यो भनाइले सदनमा हाँसो गुन्जियो। सभामुख कृष्णबहादुर महरा पनि मुसुमुसु हाँसेका थिए।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.