|

तनहुँ : नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र दमौलीले बजार क्षेत्रको विद्युत् आपूर्तिमा सहज बनाउन सिटी फिडर राख्‍ने भएको छ। दमौली बजार क्षेत्रमा विद्युत् प्रवाहबाट हुनसक्ने समस्या कम गर्ने उद्देश्यले सिटी फिडर जडान गरिने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ। 

फिडर राखिएपछि विद्युतको कारणले गर्दा दमौलीको व्यापार, व्यवासयमा हुने क्षति न्यूनीकरण गर्न सकिने नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिव नारायण गोशलीले बताए। सहरीकरण बढ्दै गएको दमौली बजार क्षेत्रलाई छुट्टै विद्युत् व्यवस्थापनका निम्ति यो योजना अगाडि बढाइएको प्रमुख इन्जिनियर शिवनारायण गोशलीले जानकारी दिए। उनका अनुसार नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७६/०७७ को योजनामा फिडर राख्ने तयारी गरिएको छ।

दमौलीमा करिब ३२ लाख रुपैयाँको लागतमा सिटी फिडर राखेर सेवाग्राहीका निम्ति विद्युत् आपूर्तिमा सहज बनाइनेछ। ‘दमौलीमा सहरीकरण बढ्दै गएको छ। यहाँ छुट्टै विद्युतीकरण गर्न सके प्राधिकरणप्रतिको विश्वास बढाउन सकिनेछ’, उनले भने, ‘फिडर राखिएपछि अन्य ठाउँका विद्युत आपूर्तिमा समस्या हुँदा बन्द हुने समस्या हट्नेछ। यहाँ छुट्टै फिडर नहुँदा अन्य ठाउँका विद्युतीय ट्रान्समिटर मर्मत गर्दा बन्द गर्नुपर्ने र व्यापार, व्यवसायका साथै विद्युतीय कार्यहरू रोक्नुपर्ने छैन।’ 

प्राधिकरणले प्रदेश र संघीय सरकारबाट बजेट विनियोजन गरेर फिडर राख्ने तयारी गरेको छ। फिडर राखेपछि विद्युतीय अवरोध हट्ने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ। ‘अहिले हुने गरेका झ्यापझ्याप लाइन जाने समस्या हट्नुका साथै दमौलीवासीलाई सहज विद्युत् प्रवाह गर्न प्राधिकरण प्रतिबद्ध भएर अगाडि बढेको छ’, गोशलीले भने। सिटी फिडर राखिएपश्चात् दमौलीका २१ हजार सेवाग्राही विद्युतीय समस्याबाट मुक्त हुनेछन्। 

विद्युत् वितरण प्रणाली पुरानो र एकल जडानले छिनछिनमा लाइन झ्याप्‍पझ्‍याप्प 

दमौली बजार क्षेत्रसँगै जिल्लाभर नै हावाहुरी, आकाश गर्जिन थालेपछि छिनछिनमै लाइन जाने समस्या हुने गरेको छ। हावाहुरी, चट्याङ, आकाश गर्जिन सुरु गरेसँगै विद्युतीय लाइन आउने जाने समस्या नेपाल विद्युत् प्राधिकरणले न्यूनीकरण गर्न नसकेको दमौलीवासी गुनासो गुनासो छ। यो समस्याले गर्दा विद्युत् प्राधिकरणसँग सेवाग्राही रुष्टसमेत बन्ने गरेका छन्। यो समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्र लागिपरेको छ।

जिल्लाभर धेरैजसो क्षेत्रमा काठको पोल रहेकोले हावाहुरी चल्न सुरु गर्नासाथ विद्युत् लाइन जाने गरेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिवनारायण गोशलीले बताए। गोशालीका अनुसार विद्युत् जडान प्रणाली पुरानो र एकल हुँदा एक ठाउँको विद्युत् प्रवाहमा समस्या भएको खण्डमा छिनछिनमा लाइन जाने गरेको हो। 

ग्रामीण क्षेत्रमा हावाहुरीले बढी प्रभाव पार्ने भएकोले समस्या पत्ता लगाउन बन्द गरेर पहिचान गरी मर्मत गर्ने क्रममा छिनछिनमा लाइन जाने गरेको गोशलीले बताए। विद्युत जडानको ट्रान्समिटर फरकफरक तर एउटै पुरानो तरिकाबाट जडान गरिएकोले सबै क्षेत्रमा लाइन आउने जाने समस्या भएको उनले बताए।

‘हावाहुरी र चट्याङले गर्दा नदेखिने ठाउँमा भएको अर्थ लिकेज बन्द गरी चेक गर्नुपर्छ। हावाहुरी चलेको अवस्थामा रूख, बोटविरुवा ढल्ने, तारमा छोएर समस्या हुन्छ र विद्युत प्रवाहमा समस्या हुने गर्दछ, सो समस्या पत्ता लगाउन  प्रत्येक फिडर बन्द गरी चेक गर्नुपर्छ,’ उनले भने, ‘यो अहिलेको मौसमको अनुकूलताले एक ठाउँको लाइन बिग्रेको खण्डमा दमौली क्षेत्रमा यस्तो समस्या बढेको हो।’ 

विद्युत् प्रवाहमा हुने गरेका समस्या बनाउनेबित्तिकै हावाहुरी र चट्याङले बिग्रने भएकाले वर्षायाममा बढी प्रभावित हुने उनको भनाइ छ। उनले भने, ‘प्राविधिकहरूले बनाएको भोलिपल्टै बिग्रन्छ। हामी पनि सेवाग्राही नै हो। विद्युत् प्रवाहमा समस्या हुन नदिन लागिपरेका छौँ।’ काठे पोलले गर्दा पनि हावाहुरी र चट्याङ पर्दा पोल ढल्ने समस्या बढी हुने गरेको छ। 

ग्रामीण क्षेत्रमा बढी समस्या

त्यस्तै, ग्रामीण क्षेत्रमा विद्युत् प्रवाहमा समस्या छ। प्रशारण लाइन लामो र कम भोल्टेज हुँदा लाइनमा समस्या बढी देखिने गरेको छ। प्राधिकरणले ग्रामीण क्षेत्रमा ११ केभी वितरण प्रणालीबाट विद्युत् प्रवाह गर्दै आएको प्रमुख इन्जिनियर गोशलीले जानकारी दिए। हावाहुरीका कारण ग्रामीण क्षेत्रमा वितरण गरिएको प्रणालीमा बारम्बार समस्या भएको उनले बताए।

‘वर्षा र हावाहुरीका कारण प्राधिकरणको इन्सुलेटर तथा वितरण प्रणालीमा समस्या आउने गरेको छ, वर्षाको समयमा सामान्य समस्याहरू आई नै रहन्छन्। त्यसलाई लोडसेडिङको रूपमा लिनु हुँदैन’,उनले भने।

काठको पोल पूर्णरूपमा विस्थापित गर्ने 

तनहुँ जिल्लाभित्रको काठका पोल पूर्णरूपमा विस्थापित गरिने भएको छ। ग्रामीण क्षेत्रमा काठको पोल राखेर विद्युत् प्रवाह गरिएकोले दुई वर्षमा विस्थापित गर्ने तयारीमा लागिपरेको नेपाल विद्युत् प्राधिकरण दमौली वितरण केन्द्र तनहुँले जनाएको छ। 

जिल्लाका काठका पोलहरू एकैवर्षमा विस्थापित गर्न आर्थिक अभाव हुने भएकाले दुई वर्षको योजना बनाएर प्राधिकरण अगाडि बढेको नेपाल विद्युत् प्राधिकरण दमौली वितरण केन्द्र तनहुँका प्रमुख इन्जिनियर शिवनारायण गोशलीले जानकारी दिए। उनका अनुसार केन्द्रको आन्तरिक र गण्डकी प्रदेशको लगानीमा काठे पोल विस्थापित गरिनेछ। 

‘जिल्लामा १२ हजार काठे पोल रहेको र आव २०७६/०७७ मा दुई हजार ६०० पोल ल्याइनेछ भने केही स्थानीय तहको सहयोगमा चार हजार काठे पोल विस्थापित गर्न सहयोग गर्नेछ’, उनले भने। 

दु्ई वर्षमा तनहुँ पूर्णविद्युतीकरण

तनहुँ जिल्ला दुई वर्षभित्र पूर्ण रुपमा विद्युतीकरण हुने भएको छ। अहिले जिल्लामा ८२ प्रतिशत विद्युतीकरण भइसकेको नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ। चालू आर्थिक वर्षमा तीन प्रतिशत बढाएर ८५ प्रतिशत विद्युतीकरण गर्ने योजना प्राधिकरणको छ।

 तनहुँ हाइड्रोपावरबाट प्रभावितका लागि आउने ८५ करोड रुपैयाँका लागतमा अबको डेढ वर्षमा जिल्लामा पूर्ण विद्युतीकरण गर्ने प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर शिवनारायण गोशलीले जानकारी दिए। उनका अनुसार साराङघाट, ऋषिङ, आँबुखैरेनीमा छुट्टै फिडर राखेर विद्युत् पुर्‍याउने योजना रहेको छ।उक्त आयोजनाका लागि टेण्डर भएर सर्वेको काम भइरहेको उनले बताए।

चालु आवमा आँबुखैरेनी ६, बन्दीपुर ६ ग्याजाटार, साराङघाट, ऋषिङ ३ दुवुङ, खाल्टेमा विद्युतीकरण भइसकेको छ भने यसै आवमा चार ठाउँमा विद्युतीकरण गरिने गोशलीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.