|
नवनिर्वाचित अध्यक्ष केदारनाथ देवकोटा

नेपालगन्ज : नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको दशौं राष्ट्रिय अधिवेशनको निर्वाचनमा केदारप्रसाद देवकोटा अध्यक्षमा विजयी भएका छन्। शुक्रबार बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार देवकोटाको समूह बहुमतका साथ विजयी हासिल गरेको छ।

नेपालगन्जमा गत २७ गतेदेखि सुरु भएको अधिवेशनबाट निवर्तमान अध्यक्ष मोहनकुमार घिमिरेलाई २४ मतले पछि पार्दै देवकोटा आगामी कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। देवकोटाले ३७१ मत ल्याए भने उनका प्रत्यासी घिमिरेले ३४७ मत प्राप्त गरेको निर्वाचन समितिका अध्यक्ष कुन्साङ लामाले जानकारी दिए।

वरिष्ठ उपाध्यक्षमा देवकोटा समूहका लेखनाथ कोइराला २१० मत अन्तरले विजयी भएका छन्। उनले ४१७ मत ल्याए भने उनका निकत्तम प्रतिद्वन्द्वी इश्वरीप्रसाद ढकालले २९७ मत प्राप्त गरे। महिला उपाध्यक्षमा मञ्जु कोइरालालाई हराउँदै भवानी न्यौपाने दाहाल विजयी भएकी छन्। कोइराला निवर्तमान केन्द्रीय कमिटीको सदस्य हुन भने दाहाल सचिव हुन्। देवकोटा समूहकी दाहालले ३६१ मत ल्याइन् भने कोइरालाले ३४६ मत पाइन्।

त्यसैगरी ४०६ मत ल्याएर रेवन्त गौतम संगठनको महासचिवमा निर्वाचित भएका छन्। उनी निवर्तमान केन्द्रीय कमिटीमा महासचिवकै भूमिकामा रहेका थिए। उनका निकटतम प्रतिस्पर्धी गंगाबहादुर सुनुवारले ३०५ मत ल्याए। गौतम अध्यक्षका प्रत्यासी घिमिरे समूहका हुन्।

संगठनको उप–महासचिव खुल्लामा चेतनाथ न्यौपाने र राजेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन्। न्यौपानेले ३८९ र श्रेष्ठले ३४४ मत ल्याए। उप–महासचिवका प्रत्यासी भुपेन्द्रकुमार बस्नेत (३१०) र सीताराम घिमिरे (३३७) मत ल्याई पराजित भए। न्यौपाने र श्रेष्ठ घिमिरे समूहका हुन्।

त्यसैगरी समावेशी उप–महासचिवतर्फ रेणुका केसी र अर्को खुल्ला सचिवमा गगन बहादुर विके, यूवाचन्द्र घिमिरे र रामचन्द्र अधिकारी र शान्ति प्रसाद लुइँटेल विजयी भएका छन्। सचिव समावेशीतर्फ सीता गुरुङ र महिला सचिवमा भवानी खतिवडा विजयी भएको समितिका अध्यक्ष लामाले बताए। कार्यालय सचिवमा वेद प्रसाद खतिवडा र कोषाध्यक्षमा बखत बहादुर खड्का र सह–कोषाध्यक्षमा गणेश प्रसाद आचार्य विजयी भएका छन्। गत मंसिर २७ गते एमाले अध्यक्ष केपी ओलीले उदघाटन गरेको संगठनको अधिवेशनमा नेतृत्वका लागि बुधबार निर्वाचन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.