|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नयाँ बजेटमा सांसदहरुलाई १० करोड रकम छुट्याउनुपर्ने बताएका छन्। 

तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसदलाई १० करोड दिनुपर्ने माग गरेका हुन् । सांसदहरुले पैसा मागेको भनेर बाहिर बद्नाम गराउने काम भएको भन्दै उनले त्यसमा गुनासो पोखे ।  

‘यो कार्यक्रम सांसदहरुले ठग्नको लागि बनाइएको कार्यक्रम होइन, जनताले माग गरेका योजना दिनुपर्छ भन्ने हाम्रो कुरा हो । दश करोड आउने भयो भने स्वागतयोग्य कुरा हो’, साक्षात्कारमा बोल्दै उनले भने, ‘निर्वाचित र समानुपातिकसांसद दुवैलाई बराबरी दिनुपर्छ । म सांसदलाई दश करोड दिनुपर्छ भन्ने पक्षमा छु ।’

यद्यपि सांसदले बेइमानी गर्छ भने सम्बन्धित निकायले कडा निगरानी गर्नुपर्ने उनको धारणा छ । ‘बरु सरकारले बजेटको निगरानी गरोस्, हामीले एउटा नोटपनि देख्नु नपरोस, तर दश करोड पैसा सांसदहरुलाई दिनुपर्छ’, उनले भने, ‘सांसदहरुको नाक जोगाउन पनि १० करोड बजेट दिनपर्छ।’

यो वर्षको बजेट गत सालको भन्दा धेरै राम्रो आउने पनि उनले विश्वास दिलाए । ‘यो आर्थिक वर्षको बजेट गत सालको भन्दा राम्रो आउँछ भन्नेमा म विश्वस्त छु । किनकी यो वर्ष अर्थमन्त्रीको गृहकार्य पनि अघिल्लो वर्षभन्दा धेरै राम्रो छ’, नेता पौडेलले भने, ‘सांसदहरुसँग अर्थमन्त्रीले छलफल गर्नुभएको छ। सरोकारवालाहरुसँग सुझाव लिनुभएको छ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई यो बजेटमा समेट्ने प्रतिवद्धता जनाएको पनि उनले सुनाए । त्यस्तै, चुनावी घोषणापत्रमा भएका अधिकतम कुरा बजेटमा समेटिने पनि उनले दाबी गरे । ‘बजेट समाजवादउन्मुख नै आउँछ । यो वर्ष लोकप्रिय र जनमुखी बजेट आउँछ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.