|

काठमाडौं : प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ।

प्रधानमन्त्री कपमा एपिएफको लगातार यो दोस्रो जीत हो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको हो। सुदूरपश्चिमले जीतका लागि दिएको १२६ रनको लक्ष्य एपिएफले ३४ दशमलव ४ ओभरमा सात विकेट गुमाएर पूरा गरेको थियो।

कप्तान पृथु बाँस्कोटाले अविजित ३२ रन बनाए। शरद भेषवाकरले २६, सन्दीप जोराले २२ र सुमित महर्जनले १५ रन बनाए। बलिङतर्फ सुदूरपश्चिम प्रदेशका विनोद लामाले तीन तथा शेर मल्लले दुई विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाई १२५ रन बनायो। सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक ३० रनको योगदान दिए। विपिन रावलले २१, खडक बोहोराले १९, रोशन अधिकारीले १६ तथा कप्तान शेर मल्लले ११ रन बनाए।

बलिङतर्फ एपिएफका अविनाश बोहोराले दुई, पृथु बाँस्कोटा, शरद भेषवाकर र भुवन कार्कीले एक-एक विकेट लिएका थिए। खेलको प्लेयर अफ द म्याच पृथु बाँस्कोटा भए।

समूह ‘ए’ मा रहको एपिएफले दुई खेल जित्दै ४ अंक जोडेको छ। पहिलो खेलमा एपिएफले प्रदेश ३ लाई ४१ रनले पराजित गरेको थियो।

जारी प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ तथा उप–विजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.