सैनामैनामा एकै दिन ४६४ जनाले पाए जग्गाको स्वामित्व

|

बुटवल : सैनामैना नगरपालिका २ की भागिरथी गैरेलाई आइतबार विशेष खुशीको दिन रह्यो। वर्षौंदेखि स्वामित्व पाउन नसकेको जग्गाको पुर्जा प्राप्त गर्दा उनमा खुशीयाली छायो। छोरा यमलालसँगै पुर्जा लिन सैनामैना नगरपालिकामा आएकी ६७ वर्षीया गैरेले बल्ल आफूहरूको खुशीको दिन आएको बताइन्।

सैनामैना नगरपालिकाले आइतबारदेखि गाउँ ब्लकमा रहेका जग्गाको लालपूर्जा वितरण सुरु गरेको छ। यसरी लालपुर्जा पाएपछि गैरे, सैनामैना १ का दुलबहादुर थारु, वडा ७ का दासु थारु, वडा ५ की प्रेमकुमारी घिमिरे शर्मा जस्ता सयौंको मुहार खुशीले गदगद भएको छ। पुर्जा पाएपछि प्रतिक्रिया दिदैँ प्रेमकुमारी घिमिरे शर्माले भनिन्, ‘बल्ल स्वामित्व प्राप्त भयो। अब यसैका आधारमा बहुउपयोगका काम गर्न सकिने भयो।’  

सैनामैना नगरपालिकाले नापी विभाग रुपन्देहीको सहकार्यमा लालपुर्जा वितरण सुरु गरेको हो। एक भव्य समारोहका बीच भूमि व्यवस्था, सहकारी गरिबी निवारणमन्त्री पद्मा अर्याल, नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नगर प्रमुख चित्रबहादुर कार्की, नापी विभागका महानिर्देशक प्रकाश जोशीले संयुक्त रुपमा लालपुर्जा वितरण गरेका थिए।

आइतबार मात्रै करिब ४६५ लालपुर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए। गाउँ ब्लकमा रहेका विभिन्न वडाका १७ वटा ब्लकमा आइतबारदेखि सुरु भएको लालपुर्जा वितरणको कामलाई निरन्तरता दिइने र आगामी दिनमा पनि जारी रहने उनको भनाइ छ।   

एकैदिन ४६४ जनालाई लालपुर्जा वितरण

सैनामैना नगरपालिकाले एकैदिन ४६४ जनालाई लालपुर्जा वितरण गरेको छ। यहाँका साविकका पर्रोहा र सालझण्डी गाविसअन्तर्गत रहेका विभिन्न १७ वटा ब्लकका गाउँब्लकको समस्यामा रहेका समुदायलाई आइतबार एकैसाथ लालपुर्जा वितरण गरिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए। २०२३ सालमा तत्कालीन सरकारले एकसरो नापी गर्ने क्रममा छुटेका यहाँका गाउँ ब्लकका सयौं कित्ताको लालपुर्जा छैन।

सोही ब्लकका लागि सैनामैनाले लालपुर्जा वितरण गरेको हो। यहाँका सोरौली, पर्रोहा, चेथरी, सेरुवा, बक्सड, सदवोरा, कुस्मा, खलनपारा, बनकटवा, उत्तर दोगहरा, खखनपुर, रन्यौरा, विचौवापुर, उत्तर बरौली थता फच्कापुर र भच्कैया गाउँका ४६४ लालपुर्जा वितरण गरिएको हो।

पहिले नापी गर्दा गाउँ वस्तीको घर जग्गा नापी गर्न छुट भएको जग्गालाई गाउँब्लक जग्गा भन्ने गरिएको छ। घर वनाएर बसेका तर नापी भएर पनि पुर्जा नपाएकालाई सरकारले आइतबारदेखि पुर्जा वितरण गर्न सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए।

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान सुरु

भूमिव्यवस्था,सहकारी तथा गरिवी निवारणमन्त्री अर्यालले आगामी चार वर्षभित्रमा सवै सुकुम्वासीलाई जग्गाको मालिक वनाउने बताउँदै समस्याको दीर्घकालीन समाधान सुरु गरिएको बताइन्। जग्गा भएर पनि स्वामित्व ग्रहण गर्न नपाएका सुकुम्वासी तथा अव्यवस्थित वसोवासीलाई सरकारले प्राथमिकताका साथ जग्गाको मालिक वनाउने उनको प्रतिवद्धता थियो।

जग्गा नै नभएका सुकुम्वासीलाई पनि सरकारले जग्गा उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्दै वर्तमान सरकारले आफ्नो कार्यकालभित्र यो समस्या समाधान गरेरै छाड्ने बताइन। जनताको समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको भन्दै उनले जनताको जीवन बदल्ने खालको कार्यक्रम ल्याउने उदघोष गर्दै आगामी चार वर्षभित्रमा देशमै विकासको क्षेत्रमा कायापलट गर्ने मन्त्री अर्यालको दाबी थियो।

नेकपाका महासचिव तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य तथा पूर्व अर्थमन्त्री पौडेलले सरकारले जनताका चाहना अनुसारको विकासका कामलाई तीव्रता दिइरहेको भन्दै अब सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका काम सुरु भएको बताए। उनले सरकारले सुकुम्वासी समस्या समाधान गर्ने अठोट गरेकाे बताए। उनले भने, ' त्यसको पहिलो अभ्यासस्वरुप रुपन्देहीको सैनामैनाबाट जनतालाई जग्गाको मालिक वनाउने प्रक्रिया सुरु भएको छ।'

प्रदेश ५ सरकारका कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरी कृषि क्षेत्रको विकास गरी कृषकको आयआर्जनमा टेवा पुर्‍याउने कार्यक्रम लागू गरेको बताइन। राष्ट्रिय सभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले सरकारले जनताले महसुस गर्ने गरी जनताको काम गरिरहेको बताउँदै सुकुम्वासीलाई जग्गाको मालिक वनाउने अभियान वर्तमान सरकारले सुरु गरेको बताए।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले विभागले देशभर नापीको कामलाई डिजिटलाईजेशन गर्ने काम भइरहेको वताउँदै अव फित्ता लिएर नापी गर्ने कामको अन्त्य गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.