|

दार्चुला : अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलो पटक वर्ष यार्सा पाटनमा जानेहरूका लागि १० लाख सम्मको दुर्घटना बीमा सुविधा दिने भएको छ। 

यार्सा पाटनमा विभिन्न दुर्घटनाका कारण वर्षेनी यार्सा संकलकको तथा अन्य नागरिकको समेत ज्यान जाने गरेको घटनालाई दृष्टिगत गरी १० लाखसम्मको बीमा सुविधा गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी राजु घिमिरेले बताए। ‘वर्षेनी हिउँ पहिरोमा परी, भीरबाट लडेर, नदीमा बगेर तथा लडाई झगडाका कारण पनि यार्सा पाटनमा कतिपयको ज्यान जाने गरेकाले बीमा सुविधा ल्याइएको हो’ सूचना अधिकारी घिमिरेको भने। 

पाटनमा गई दुर्घटना परेर मृत्यु हुने यार्सा संकलक, सुरक्षाकर्मी, संरक्षण क्षेत्र कार्यालय तथा पोष्टका कर्मचारी, व्यवस्थापन परिषद् पदाधिकारी, १ जना पत्रकार गरी जम्मा २० जनाको १० लाखका दरले बीमा सुविधा संरक्षण क्षेत्रले लागू गर्ने भएको हो। 

पाटनहरू खोलिए

यो वर्षको यार्सा संकलनका लागि दार्चुला जिल्लाका यार्सा पाटनहरू जेठ १४ बाट खुल्ला गरिएका छन्। यार्सा संकलन व्यवस्थापन निर्देशिका बमोजिम जेठ दोस्रो सातादेखि यार्सा पाटनहरू खुल्ला गर्न सकिने व्यवस्था अनुसार सबै पाटनहरू यार्सा संकलनका लागि खुल्ला गरिएका हुन्। यार्सा संकलन व्यवस्थापन निर्देशिका २०७३ मा जेठ दोस्रो सातादेखि यार्सा संकलन गर्न सकिने व्यवस्था छ। 

सोही अनुसार दार्चुला जिल्लाका सबै यार्सा पाइने वन क्षेत्रमा संकलकहरूका लागि खुल्ला गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी घिमिरेले जानकारी दिए। दार्चुलामा अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय स्थापना भएदेखि नै यार्सा संकलन व्यवस्थापन गर्ने प्रयास भए पनि अझै व्यवस्थित गर्न नसकिएको जानकारको भनाई छ। 

निर्देशिकामा उल्लेखित कुरालाई कडाईका साथ कार्यान्वयन र अनुगमन गर्ने पक्ष फितलो हुँदा संरक्षण क्षेत्रमा यार्सा संकलन व्यवस्थापन गर्न नसकिएको उनीहरूको तर्क छ। अपिनाम्पा संरक्षण क्षेत्रभित्र रहेका यार्सा पाइने पाटनहरू खोलिएसँगै यी संरक्षण क्षेत्र अन्तर्गतगका पोष्टहरूबाट यार्सा संकलन अनुमति पत्र अर्थात् परिचय पत्र वितरण कार्य पनि भइरहेको छ। 

बैशाख २५ गतेदेखि  जिल्लाका झण्डै दर्जन पोष्ट तथा अस्थायी पोष्टबाट यार्सा संकलन परिचय पत्र वितरण भइरहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी घिमिरेले बताए। 

बाह्र ठाउँबाट परिचयपत्र वितरण

यार्सा पाटनहरूमा यार्सा संकलनका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, मार्मा क्षेत्रको बिटुले रेञ्ज पोष्ट, गुल्जर, खण्डेश्वरी तथा लटिनाथमा अस्थायी पोष्ट राखेर परिचय पत्र वितरण भइरहेको छ भने सिप्टी तथा खार पोष्टबाट परिचय पत्र वितरण भइरहेको छ। चाइमटेलामा अस्थायी पोष्ट राखेर परिचय पत्र वितरण गरिने सूचना अधिकारी घिमिरेले बताए। यस्तै दुहूँ तथा व्याँस क्षेत्रका लागि श्रीबगड पोष्ट, सुन्सेरा, दुम्लिङ र व्याँस पोष्टबाट वितरण कार्य भइरहेको छ। 

दोपाखे भन्ने स्थानमा पनि अस्थायी पोष्ट राखेर स्थापना गरिने छ भने तुसरपानी क्षेत्रमा पनि अस्थायी पोष्ट राख्ने तयारी भइरहेको सुन्सेरा रेञ्ज पोष्टका सिनियर गेमस्काउट मानसिँह महराले बताए। 

दुई हजारको हाराहारीमा परिचयपत्र

हालसम्म झण्डै २ हजारको हाराहारीमा यार्सा संकलन परिचय पत्र वितरण भइसकेको अपिनाम्पा संरक्षण कार्यालय दार्चुलाका सूचना अधिकारी घिमिरेले जानकारी दिए। ‘हेडक्वाटरदेखि पोष्टहरुमा गरी झण्डै २ हजारको हाराहारीमा संकलन परिचय पत्र वितरण गरिएको छ’ सूचना अधिकारी घिमिरेले भने। ९० प्रतिशत जति अहिले जिल्लाभित्र तथा संरक्षण क्षेत्र भित्रकै रहेकाले झण्डै १० को हाराहारीमा राजस्व संकलन भएको छ।  ती मध्ये कतिपय जिल्ला बाहिर र संरक्षण क्षेत्र बाहिरका समेत रहेकाले १० लाख भन्दा बढी राजस्व संकलन भएको हुनसक्ने उनको भनाई छ। 

सुरुवातमा भएकाले २ हजारको हाराहारीमा परिचय पत्र वितरण गरिएको हो। यो संख्याको दोब्बर तेब्बर यार्सा संकलकहरू यार्सा पाटनमा प्रवेश गर्ने गरेका छन्।  यसकारण संकलन परिचय पत्र शुल्कबाट संकलन हुने राजस्व बढ्ने अनुमान गरिएको छ। 

५०० किलो यार्सा संकलन हुने अनुमान

दार्चुला जिल्लाका विभिन्न यार्सा पाटनहरूबाट यो वर्ष झण्डै ५०० किलोग्रामको हाराहारीमा यार्सा संकलन हुने अनुनमान गरिएको छ।  गत आर्थिक वर्षमो ५५० किलोग्राम यार्सा निकासी भएकाले यो वर्ष पनि झण्डै सोही हाराहारीमा यार्सा संकलन हुने अनुमान गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए। गत वर्षमा झण्डै ८५० किलोग्राम यार्सा संकलन गरिएको भए पनि कतिपय यार्सा संकलक तथा व्यापारीसँगै रहेकाले अझै संकलन भएको यार्सा परीमाणमा थप हुने अनुमान गरिएको छ।

‘गतवर्ष पनि कतिपय यार्सा स्टक रहेको छ। झण्डै ५०० किलोग्राम संकलन हुने अनुमान गरिएको छ’ सूचना अधिकारी घिमिरेले भने।  बजार राम्रो भए नयाँ संकलन र गत वर्षको गरी झण्डै ८५० किलोग्राम यार्सा निकासी हुने अनुमान गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.