बजेटको अंक १५ खर्ब ९० अर्बनजिक

|
फोटो फाइल : गत वर्ष अतिवडाले बजेट प्रस्तुत गर्न संसद जादै गरेको

काठमाडौं : चुनावी घोषणा पत्र, कर्मचारी र सांसदको मागका साथै केही ठूला आयोजनाको लागि बजेट पुर्‍याउन दबाब आएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको विनियोजित बजेटको तुलनामा २३ प्रतिशत र खर्च हुने अनुमानित बजेटको तुलनामा २७ प्रतिशत बढी रकमसहित बजेट पेस गर्ने भएका छन्। 

सुरुवातमा राष्ट्रिय योजना आयोगले १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट 'सिलिङ' तोकेकोमा अर्थमन्त्री खतिवडाको आग्रहमा मंगलबार बिहान बसेको बेठकले पर्याप्त 'स्पेस' दिएर बजेटको सिलिङ तोकिदिएको हो। 'मध्यमकालीन संरचना, र बजेटको बढ्दो मागको आधारमा सिलिङ बढाउने निर्णय गरिएको हो', योजना आयोगको स्रोतले भन्यो। 

चालु आर्थिक वर्षमा खर्च गर्न नसक्दा समयमै आन्तरिक ऋण नउठाएको अर्थमन्त्रालय राजस्व र वैदेशिक अनुदान लक्ष्यअनुसार लिन सकेको छैन। आठ खर्ब ३१ अर्ब रुपैयाँको राजस्व लक्ष्य राखेकोमा आठ खर्ब ६ अर्बको संशोधित अनुमान रहेको छ। त्यस्तै तीन खर्ब ११ अर्बको वैदेशक सहयतामा प्रयाप्त हुने अनुमान गरिएकोमा आठ महिनासम्म  एक खर्ब सात अर्ब रुपैयाँ मात्रै खर्च अनुमान आएको थियो। 

एकातर्फ अपेक्षा अनुसारको खर्च नभएको अवस्था र अर्कोतर्फ लक्ष्यअनुसारको स्रोत उठाउन पनि अर्थमन्त्रालय असफल देखिएको छ। अर्थविद्हरूले अघिल्लो आर्थिक वर्षमा बजेट बढाउन सक्ने आधार हुँदा हुँदै पनि नबढाएको टिप्पणी गरेका थिए। तर अहिले आधार कमजोर भएपनि अर्थमन्त्री खतिवडा १६ खर्ब नजिक (१५ खर्ब ८९ अर्ब रुपैयाँको बजेट) सार्वजनिक गर्न थालेका हुन्।

महंगी बढाउने

सात प्रतिशतको सिमाभित्र रहने गरी मूल्यवृद्धि वाञ्छित सीमाभित्र राख्ने तयारी सरकारको रहे पनि मूल्य वृद्धिमा चाप पर्ने देखिएको छ। कर्मचारीको औसत २० प्रतिशत तलब बढाउन सरकार तयार भएको छ। यस्तो अवस्थामा सोझो प्रभाव मूल्यवृद्धिमा पर्नेछ। साथै भन्सार दर निकै बढाउने तयारीमा अर्थमन्त्रालय रहेको छ। आयतमुखी अर्थतन्त्र भएको हुँदा यसको प्रभाव पनि मूल्य वृद्धिमा देखिने छ, जसले मूल्यवृद्धिलाई वाञ्‍छित सीमाभित्र राख्न समस्या पर्ने देखिन्छ। 

कहाँबाट पुर्‍याइँदैछ बजेट?

बजेटमा सबैभन्दा ठूलो स्रोतका रूपमा रहेको राजस्व चालु आर्थिक वर्षको बजेट विनियोजनको क्रममा राखिएको लक्ष्यको तुलनामा २३ र संशोधित अनुमानको तुलनमा २७ प्रतिशत वृद्धि गर्ने लक्ष्य निर्धारण गरिएको छ। अघिल्लो वर्ष आयकरबाट राजस्व बढाउने लक्ष्य लिएको सरकारले अपेक्षित राजस्व उठाउन सकेको थिए। अहिले भने भन्सार राजस्वलाई जोड दिएको छ। राजस्वबाट १० खर्बभन्दा बढी बजेट स्रोत पुग्ने अनुमान गरिएको छ। त्यस्तै बाह्‍य सहायता तथा ऋण तीन खर्ब ६६ अर्ब अनुमान गरिएको छ भने आन्तरिक ऋण दुई खर्ब १० अर्ब बराबरको तोक्ने लक्ष्य राखएको छ। 

कहाँ कति रकम?

अर्थ स्रोतका अनुसार चालु खर्च २६ प्रतिशत माथि बढाइएको छ, जसअनुसार १० खर्बमाथिको चालु खर्च हुनेछ। त्यस्तै चार खर्बमाथिको पुँजीगत खर्च र दुई खर्बमाथिको वित्तीय व्यवस्थापन खर्च राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.