|

इलाम : सूर्योदय नगरपालिका–६ की लक्ष्मी तामाङ विगत १० वर्षदेखि कन्याम चिया बगानमा हरियोपत्ति टिप्दै आएकी छिन्। तर, अझै पनि उनले सरकारले तोकेको श्रम ऐनअनुसार ३ सय ८५ रुपैयाँ पाउन सकेकी छैनन्।

४५ दिनको आन्दोलनपछि सरकारी चिया बगानका मजदुरलाई  श्रम ऐनअनुसार ३ सय ८५ रुपैयाँ पाउने निश्चित भएको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट आफैँले मजदुर बीचमा माग सम्बोधन भएको सन्देश दिएका थिए।

तर, एक साता नबित्दै असुन्तुष्टिका स्वरहरू पुनः उठन थाले। सरकारी चिया बगानमा कार्यरत स्थायी मजदुरले मात्र सरकारले तोकेको सेवा सुविधा पाउने भए। लक्ष्मीलगायत कन्यामका अस्थायी मजदुरलाई प्रति केजी ७ रुपैयाँको दरले पत्ति टिप्न संचालकबाट निर्देशन आयो। अहिले उनीलगायतका मजदुर काम छाडेर घरमा बसिरहेका छन्।

‘सबैले मिलेर आन्दोलन गर्‍यौँ। सबैलाई श्रम ऐनअनुसार दिने सहमति पनि भयो तर स्थायी मजदुरले पाउने भए हामीले पाएनौँ’ उनले भनिन् ‘चैत्र/बैशाखको चर्को घाममा विर्तामोड गएर आन्दोलन गर्‍यौँ। एक पक्षको माग सम्बोधन भयो हामीलाई केही न केही।’ आन्दोलनमा सँगै हिडेका स्थायी मजदुरले अहिले अस्थायीको पक्षमा पहल नगरेको उनको गुनासो छ।

आन्दोलनअघि सरकारी चिया बगानले स्थायी र अस्थायी मजदुरलाई समान २६५ रुपैयाँ दैनिक ज्याला दिँदा आएको थियो। तर, आन्दोलनपछि भने विभेद भएको अस्थायी मजदुरको गुनासो छ। श्रम ऐन २०७४ को दफा १९ को उपदफा (२) मा आंशिक समय काम गर्ने श्रमिकको पारिश्रमिक सामान्यतया कार्य समय (घण्टा) को आधारमा वा दुवै पक्षबीच भएको रोजगार सम्झौताको आधारमा निर्धारण गर्नु उल्लेख छ।

सो ऐनको उपदफा (३) मा उपदफा (२) बमोजिम आंशिक समय काम गर्ने श्रमिकको पारिश्रमिक निर्धारण गर्दा समान प्रकृतिको काममा समान तहमा पूरा समय काम गर्ने श्रमिकको कम्तीमा मासिक पारिश्रमिकलाई आधार लिई निर्धारण गर्नुपर्ने उल्लेख गरेको छ।

चैत्र १७ गतेदेखि चिया मजदुरले आन्दोलन थालेपछि चिया बगान र कारखाना ठप्प थिए। २०७४ मा बनाइएको श्रम ऐन कार्यान्वयन गर्नुपर्ने, सरकारले राजपत्रमा प्रकाशन गरेअनुसार बगानमा कार्यरत मजदुरले ३ सय ८५ रुपैयाँ र कारखानामा कार्यरत मजदुरले ४ सय २७ रुपैयाँ दैनिक ज्यालादारी पाउनु पर्ने, सामाजिक सुरक्षा योजना तत्काल लागू गर्नु पर्ने माग राखेर निगम अन्तर्गतका ७ हजार बढी मजदुरले काम छोडेर आन्दोलन गरे।

माग पूरा हुने भएपछि जेठ ४ गतेबाट मजदुर नियमित काममा फर्किए। स्थायीको माग सम्बोधन भए पनि अस्थायीको माग सम्बोधन नभएपछि उनीहरू फेरि एक साताबाट काममा आएका छैनन्।

इलामको कन्याम र झापाको मितल टि स्टेटका अस्थायी मजदुरको आन्दोलनमा छन्।  मितल टि स्टेटका मजदुरले झापाका प्रमुख जिल्ला अधिकारीसमक्ष श्रम ऐन नपाएको गुनासोपछि शनिबारसम्म हल निकाल्ने मौखिक सहमति गरिएको अखिल नेपाल ट्रेड युनियन प्रदेश नं १ का इन्चार्ज भूपाल सापकोटाले बताए। ‘स्थायी मजदुरको समस्या हल भयो कन्यामलगायत एकाध ठाँउमा अस्थायी मजदुरको समस्या छ’ उनले भने। 

कन्याम बगानमा केही अस्थायी मजदुर काममा फर्किए पनि ६०/६५ को संख्यामा मजदुर काममा नफर्किएको मजदुर नेता विष्णु भट्टराईले बताए। ‘आन्दोलनअघि स्थायी र अस्थायीलाई समान ज्याला दिइएको थियो। सुविधा पनि समान थियो। ऐन कार्यान्वयनपछि विभेद छ’ उनले भने ‘केही मजदुर काममा फर्किए। केही अझै आन्दोलनमा छन।’

ज्यालमा विभेद भएपछि अस्थायी मजदुरले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सूर्योदय नगरपालिकालाई ध्यानाकर्षण गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.