|

  • मेगराज खड्का-

रुकुम : छिवाङ ६ का रवीन्द्र विष्टले सदरमुकाम मुसीकोट नजिकै पीपलनेटामा व्यवसायिक रुपमा गोलभेँडा खेती शुरु गरेका छन्। उनले करिब ३ लाखको लगानीमा ३ रोपनी जग्गा भाडामा लिएर व्यवसायिक रुपमा खेती शुरु गरेका हुन्। अहिले गोलभेँडा उत्पादन र बिक्री समेत सुरु भइसकेको छ।

युवाहरु अर्काको देशमा काम गर्नुभन्दा आफ्नो देश र गाउँघरमा कृषि गरे राम्रो आम्दानी गर्न सकिने रवीन्द्र बताउँछन्। ‘म पनि पहिले विदेश गएको थिए तर त्यहाँ निकै दुखकष्ट भोगेर पनि काम गरियो’ उनले भने, ‘बिदेशमा पसिना बनाउनु भन्दा आफ्नै गाउँमा कृषि गरेर पसिना बगाउँदा आनन्द आउँदो रैछ।’

रोजगारीका सिलसिलामा भारतको कालापहाड र दुबईसम्म पुगेका विष्ट विदेशमा पाएको दुखकष्टका कारण अहिले आफ्नै गाउँमा काम शुरु गरेको बताउँछन्। विदेश गएर गाउँ खाली गर्ने युवायुवतीहरुलाई गाउँमै कृषि गरौं भन्ने सकारात्मक सोचको विकास गर्न आफूले यसरी खेती शुरु गरेको उनले बताए। ‘मैले यसअघि काठमाडौंमा पनि तरकारी खेती गरेको थिएँ, अहिले पनि निरन्तरता छ’ उनले भने, ‘अरु परिवारले काठमाडौंमा तरकारी खेती हेर्ने गरेका छन् भने मैले आफ्नै जिल्लामा खेती गर्दै छु।’

उनका अनुसार आफूले गाउँमा गोलभेँडा खेती शुरु गरेदेखि गाउँका महिला समूह र युवाहरु समेत त्यसतर्फ आर्कषित भएका छन् भने टमाटर खेती गर्नेबारे सल्लाह लिने समेत बढेका छन्। दिनभर टमाटर खेती गोडमेल गर्न व्यस्त रहने उनले गाउँमा २ जनालाई खेतीको हेरचाह र गोडमेल गर्न रोजगार समेत दिएका छन्।

मध्यपहाडी लोकमार्गको सडक छेउमै रहेको व्यवसायिक खेतीबाट उत्पादित गोलभेँडा रुकुम सहित अन्य जिल्लाहरुमा पनि बिक्री बितरण गर्ने योजना बनाएका छन्। जिल्लास्थित कृषि कार्यालयसँग सरोकार राख्ने बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले आर्थिक तथा प्राविक सहयोग गरे झनै व्यवसायिक खेतीमा सहयोग पुग्ने उनको भनाई छ।

प्रायजसो युवाहरु खाडी मुलक जान  १ देखि ३ लाख रुपैयाँसम्म खर्च गर्छन्। अर्काको देशमा पसिना बगाउनुको पीडा त छँदै छ विदेश जाँदा लिएको ऋण पनि तिर्न समस्या पर्छ। त्यस्तो पीडा खेप्नुभन्दा गाउँमा नै कृषि काम गर्न विष्टको सुझाव छ। उनले खाडी मुलुकमा जाँदा खर्च गर्ने पैसालाई आफ्नै ठाउँमा खर्च गरेर एक बर्षमा नै लगानी उठ्ने दावी गर्दछन्। उनले बार्षिक ३लाख सम्म आम्दानी गर्न सकिने बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.