प्रि–बजेट छलफल सकियो

|
File Photo

विराटनगर : प्रदेश १ सरकारले संसदमा पेश गरेको विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएको छ। प्रदेशसभामा उक्त विषयमा ३५ जना सांसदले आफ्ना धारणा राखेका थिए।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बोले बिहीबार सांसदले उठाएका जिज्ञासाको जवाफ दिएपछि छलफल सकिएको हो। मन्त्री आङ्बोले यसपटक आउने बजेट यथार्थ धरातलमा टेकेर आउने र सोहीअनुसार सिद्धान्त र प्राथमिकता निर्धारण गरिएको बताए। आफूले ल्याएको सिद्धान्त र प्राथमिकताका विषय कुनै सपना देखेर वा कल्पना गरिएर ल्याएको नभइ कार्यान्वयनमा जाने खालका आयोजनालाई केन्द्रित गरेरै समेटिएको दाबी पनि गए।

सोमबारदेखि सुरु छलफल तीन दिनसम्म चलेको थियो। बहसमा भाग लिँदै सांसदले कृषिलाई प्राथमिकता दिए पनि मल विउको उचित व्यवस्थापन नभएको, पर्यटन क्षेत्रको विकासका लागि कार्यक्रम नल्याइएको जस्ता प्रश्न राखेका थिए। सबै सवालको जवाफ दिँदै मन्त्री आङ्बोले कृषिलाई नै सरकारले पहिलो प्राथमिकतामा राखेको बताउँदै पूर्वाधार निर्माणमा बजेट प्राथमिकतामा राख्नु भनेको कृषि क्षेत्रसँगै जोडिने बताए।

मन्त्री आङ्बोले स्थानीय केन्द्रलाई सदरमुकामसँग जोड्ने र छिमेकी स्थानीय तहका सदरमुकामसँग जोड्ने सडकलाई कालोपत्र गर्नेसम्मका योजनालाई प्राथमिकतामा राखेको पनि बताए। उनले प्रदेशको यातायात क्षेत्र व्यवस्थापनका लागि छुट्टै यातायात व्यवस्था विभाग बनाउने तर्फ सरकारले सोच बनाएको पनि बताए।

मन्त्री आङ्बोले मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रमको चालू आर्थिक वर्षमा सम्भाव्यता अध्ययन सकिने जानकारी दिँदै सोही अध्ययनका आधारमा आगामि आर्थिक वर्षदेखि द्रुत गतिमा काम अगाडि बढाउने बताए। प्रदेश सरकारले वा संघीय सरकारले पूँजीगत खर्च बढाउन नसक्नुमा सार्वजनिक खरिद ऐनमा समस्या रहेको र राजनीतिक दबाबका आधारमा योजना छनौट हुँदा कार्यान्वयनमा जटिलता ल्याएको उनले बताए।

अर्थमन्त्रीले जवाफ दिनुअघि बिहीबारको प्रदेशसभामा बोल्दै सांसद केदार कार्कीले खर्च गर्न नसक्ने स्थानमा बजेट नछुट्याउन आग्रह गरे। यस्तै सांसद राजेन्द्रकुमार राईले प्राथमिकता र सिद्धान्त परम्परागत रहेको बताउँदै उफ्रने या दौडने खालको बजेट आवश्यक रहेको बताए। उनले आम जनसहभागीता हुने गरी बजेट निर्माण गर्नुपर्नेमा जोड दिए।

बिहीबारको छलफलमा अन्य सांसद चुमनारायण तबदार, ज्योति सुब्बा, टंक आङ्बोहाङ, वसन्तकुमार बानियाँ, विजयकुमार विश्वास, विष्णुमाया तुम्बाहाम्फे, बुद्धिकुमारराज भण्डारी, राधा थापा, रामचन्द्र लिम्बू र सावित्री जोशीले भाग लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.