|

विराटनगर : पाँचथरको मिक्लाजुङमा ९ जनाको ज्यान जाने गरी भएको हत्याकाण्डमा संलग्न भनिएका मृतक मानबहादुर माखिमलाई उनका कार्यशैली र गतिविधिका आधारमा प्रहरी अधिकारीहरूले निगरानीमा नराख्दा ठूलो घटना भएको प्रदेश सरकारले बताएको छ।

प्रदेशसभामा कांग्रेसले घटनाको विषयमा जवाफ माग गरेपछि बिहीबार संसदमा बोल्दै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले यस्तो बताएका हुन्। उनले घटना हुनुपूर्व मानबहादुर माखिमले गरेका गतिविधिका आधारमा उपर्युक्त निगरानी नहुँदा ठूलो घटना भएको बताए। आवश्यक चनाखो नभएको विषयमा इलाका प्रहरी, जिल्ला प्रहरीलगायतलाई पनि अनुसन्धान सुरु गरिएको जानकारी दिएका हुन्।

‘घटना हुनुपूर्व मानबहादुरले गरेको गतिविधिले उनलाई निगरानी गर्नुपर्ने खालको देखिन्छ,’ मन्त्री कार्कीले भने, ‘बेलैमा प्रहरीले उनलाई निगरानी गरेको भए यतिका ठूला घटना हुने थिएन कि भन्ने प्रश्न पनि उठेको छ।’

मन्त्री कार्कीले विभिन्न अनुसन्धानका क्रममा मृतक मानबहादुर माखिम नै घटनामा संलग्न भएको आधारहरु भेटिएको पनि संसदलाई जानकारी दिए।

‘घटनामा संलग्न मानिएका मानबहादुर नै संलग्न भएको आधार प्रहरीलाई थुप्रै प्राप्त भएको छ,’ कार्कीले भने, ‘शिशाको धूलो हालेको कुरादेखि त्यसअगाडि भएका कतिपय झैझगडा र त्यसपछि उनले कतिपय व्यक्तिहरुसँग गरेको कुराकानी पनि प्रमाणको रुपमा पाइएको छ।’

उनले घटनामा संलग्नको विषयमा अन्य पक्षसँग पनि प्रहरीले अनुसन्धान गरिरहेको बताए।

पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत ६ गते सोमबार राति ससुरा–ज्वाइँ दुई परिवारका ९ जनाको वीभत्स हत्या गरिएको थियो। दुई घरमा गरी १० जनाको संख्यामा रहेको ससुरा बमबहादुर फियाक र उनका जेठा ज्वाइँ धनराज शेर्मासहित ९ जनाको मृत्यु हुँदा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन्। उनको स्वास्थ्य उपचार भइरहेको मन्त्री कार्कीले जानकारी दिए।

हत्या गरिएकामा ४१ वर्षीय धनराज, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू थिए। त्यसैगरी, फियाक परिवारका धनराजका ससुरा ७४ वर्षीय बमबहादुर फ्याक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फ्याक र २६ वर्षीया मनकुमारी फ्याकको पनि हत्या भएको थियो भने अनुसन्धानले संदिग्ध व्यक्तिको रूपमा देखाएका मानबहादुर मोखिम पनि झुण्डिएको अवस्थामा शव फेला परेको थियो।

यस्तै, मन्त्री कार्कीले १ नम्बर प्रदेश सरकारले अवैध ढंगले जथाभावि खोला उत्खननको विषयमा सरोकारवाला निकायलाई अनुगमन गर्न निर्देशन दिएको बताए। प्रदेशको आन्तरिक मामिला मन्त्रालयले कार्यक्षेत्र बाहिर कदम चालेको भन्ने विषयमा सांसदहरुले उठाएको प्रश्नको विषयमा पनि कार्कीले जवाफ दिए।

उनले स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गर्ने काम, लागुऔषध विरुद्धका गतिविधि नियन्त्रण गर्न चालेको 'म अघि बढ्छु' कार्यक्रम तथा सिमा व्यवस्थापनका लागि चालेका कदमले कसैको कार्यक्षेत्रमाथि हस्तक्षेप नभएको स्पष्ट पारे। सीमा व्यवस्थापनको कुरा प्रदेश सरकारको पनि दायित्व रहने भएकोले संघीय सरकारसँग समन्वय गरेर काम गर्न सकिने बताए। कसले के कामको सीमा नाघ्यो भन्ने विषयभन्दा काम राम्रो भयो भएन भनेर प्रश्न उठाउनु पर्ने उनको सुझाब थियो।

मन्त्री कार्कीले संघीय सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक सच्याउनु पर्ने मान्यतामा आफू रहेको भएपनि संचारमाध्याममा भएको अराजकता पनि रोक्नु आवश्यक भएको बताए। स्वनियम लगाएर संचारमाध्यामलाई नियन्त्रण गर्न केही कानून आवश्यक हुने उनको भनाइ थियो। प्रदेशसभामा नेपाली कांग्रेसले पाँचथरको मिक्लाजुङमा भएको सामूहक हत्याकाण्डसँगै विभिन्न प्रश्नको जवाफ सदनलाई जानकारी नदिए कारबाही अगाडि बढ्न नसक्ने भनेपछि मन्त्री कार्कीले जवाफ दिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.