३ लाख घरको लगत संकलन गरिँदै

|

काठमाडौ : सबैभन्दा पुरानो काठमाडौं महानगरपालिकासँग घरबहाल कर तिर्ने घरधनीको सही तथ्यांक छैन। सही तथ्यांक नभएकोले कतिपय घरधनीले घरबहाल कर नै तिरिरहेका छैनन्। कतिलाई कर नतिर्न सजिलो हुनका साथै कतिपय घरधनी आनाकानी गरिरहेका छन्।

आगामी आर्थिक वर्षदेखि महानगरपालिकाले घरको सही तथ्यांक राख्ने भएको छ। घरको सही तथ्यांक नहुँदा महानगरपालिकाले ठूलो राजश्व समूहलाई छुटाइरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए।

उनका अनुसार महानगरले आउँदो नगरसभाको निर्णयबाटै घरबहालसम्बन्धी नियम परिवर्तन गर्नेछ। 'महानगरपालिकाले सम्पूर्ण घरको लागत भर्ने काम गरिरहेको छ। महानगरपालिकाभित्र अनुमानित तीन लाख छन्' प्रवक्ता डंगोलले थपे, 'घरबहाल वडाबाटै तिर्ने व्‍यवस्था गर्नका लागि लागत संकलनको काम गरिरहेका छौँ।'

महानगर घरबहाल करको दायरा बढाउने तयारीमा छ। पहिलो पक्ष र दोस्रो पक्षको सहमतिको आधारमा घरबहाल कर लिने नियम महानगरको ऐनमा छ। हाल महानगरले स्वघोषणाको आधारमा घरबहाल कर संकलन गरिरहेको छ।

महानगरको नीतिमा स्वघोषणाको आधारमा घरबहाल कर लिने उल्लेख गरिएको प्रवक्ता डंगोलले जानकारी दिए। स्वघोषणाको नियमले महानगरलाई घरबहाल करमा लक्ष्यअनुसार कर संकलन गर्न नसकिरहेको प्रवक्ता डंगोलले स्वीकारेका छन्। काठमाडौं महानगरपालिकामा एक वर्षमा ५० करोडभन्दा बढी घरबहाल कर संकलन भइरहेको छ।

‘सम्पत्ति कर तिर्न आउँदा महानगरपालिकाले घरबहाल कर उठाइरहेको छ,’उनले भने, ’घरबहाल कर उठाउनको लागि वडावडामा संकलन केन्द्र राखिने भएको छ। घर धनी र कोठाको प्रयोग गर्ने मानिसको सम्झौताअनुसारको १० प्रतिशत कर महानगरले उठाइरहेको डंगोलले जानकारी दिए।  त्यसैगरी, घरधनीले करको सम्झौता नदेखाइ घरबहाल तिरिरहेको उनको भनाइ छ।

वडावडामा महानगरले घरबहाल केन्द्र राख्ने तयारी गरिरहेको डंगोलले जानकरी दिए। यसैगरी, प्रत्येक घरको तथ्यांक राखिने भएकोले कुनकुन घरमा बहाल लागेको छ त्यसको जानकारी वडालाई जानकारी हुन्छ।

महानगरले सम्पूर्ण घरको लागत राख्ने भएको छ। आगामी आर्थिक वर्षदेखि घरको लागत राख्न बजेट छुटयाउने पनि डंगोलले जानकारी दिए। उनका अनुसार घरको सही संख्या राख्न भौगोलिक सूचना केन्द्र राख्नेछ। यसो गर्दा कुन वडामा कति घर बहालमा लागेको छ। सबै घरको संख्या निकाली सबै बहालमा लागेका घरलाई करको दायरामा ल्याउन सकिने उनको दाबी छ।

कति घरमा बहाल लागेको छ त्योसमेत अनुगमन गर्न सकेको छैन। वडामा घरको अन्य काम लिएर आउँदा सोधेर घरबहाल घर उठाउने काम भइरहेको उनले बताए। घरधनीले घरबहालमा लगाएर पनि महानगरलाई घरबहाल तिरिरहेको छैन भने त्यस्तो घरधनीलाई तेब्बर घरबहाल तिराउने उनको दाबी छ।

घरबहालसम्बन्धी ऐनमै व्‍यवस्था

काठमाडौं महानगरपालिका,नगर कार्यपालिकाले निर्धारण गरेको कार्यविधिअनुसार करदाताले स्वंय घोषणा गरेको वा सम्झौतापत्रमा उल्लेख भएको आधारमा बहाल कर निर्धारण गर्ने व्यवस्था छ।

यस्तै, बहाल दिएको मितिलाई आधार मानी दैनिक, मासिक, त्रैमासिक, अर्धवार्षिक वा अवधिलाई आधार लिई बहाल कर बुझाउनुपर्नेछ। भने क्षेत्रगत आधारमा काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले न्यूनतम बहाल दर तोक्नसक्ने व्यवस्था छ।

१२ प्रतिशत घरबहाल कर

आर्थिक वर्ष ०७४/७५ को सुरुदेखि नै महानगरपालिकाले १२ प्रतिशत घरबहाल कर लिन थालेको हो। यसअघि आन्तरिक राजस्व कार्यालयमार्फत अर्थ मन्त्रालयले १० प्रतिशत घरबहाल कर उठाउँदै आएको थियो भने महानगरपालिकाले स्थानीय सेवाबापत दुई प्रतिशत कर लिँदै आएको थियो।

महानगरका राजश्व विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार ०७६ वैशाखसम्ममा ८६ करोड ८४ लाख घरबहाल कर संकलन गरेको छ। उनका अनुसार बर्सेनि करको अनुमानित रकम बढदै गइरहेको छ। उनले भने, ’महानगरले घरबहाल करलाई व्यवस्थित ऐन बनाएर उठाउन सकेको खण्डमा महानगरले लक्ष्यअनुसारको कर संकलन गर्ने उनको दाबी छ।

घरधनीहरूले घरबहाल करसम्बन्धी अनभिज्ञ रहेको लाजिम्पाटका रामेश्वर रिजाल बताउँछन्। उनी भन्छन्, 'महानगरमा काम लिएर गइन्छ जाँदा के के भनेर पैसा तिर्न लगाउँछन्' उनले थपे, 'कोठा भाडामा बसेकाहरूसँग मौखिक सहमति हुन्छ त्यसैको आधारमा हामीले भाडा लिने हो।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.