|

पर्वत : बिहानै ४ बजे उठ्नु, गोठमा बाँधिएका गाई र भैँसीलाई दाना पानी गर्नु, गोठ सफा गर्नु, गाईभैँसी दुहेर दूध बजारसम्म पठाउनु। दिउँसोमा पनि दैनिकी उस्तै गाईभैँसीको सुसेधन्दा गर्नु, समय मिलाएर राजनीतिक कार्यक्रममा सहभागी हुनु अनि बेलुकामा घर फर्किएपछि गोठमा बाँधिएका गाईभैँसीकै स्याहार सुसार। 

यो दैनिकी एक कृषकको मात्र होइन पर्वत जिल्लाका एकजना राजनीतिज्ञको हो। जिल्लाको जलजला गाउँपालिका ९ बनौँका ३९ वर्षीय सोम पुन लामो समयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीति गर्दै आएका छन्। हाल नेपाली कांग्रेस पर्वतको जिल्ला कार्यसमिति सदस्य रहेका उनी गत महाधिवेशनमा कोषाध्यक्ष पदमा पराजित भएका थिए।

कृषिमा लागेर आत्मनिर्भर बन्नुपर्छ

आजभोलि भने उनको परिचय फेरिँदै गएको छ। ‘नेता’ को नाममा परिचित रहेका उनी आजभोलि ‘गोपाल’ अर्थात् गाई पाल्ने व्यक्तिको रूपमा पनि परिचित छन्। उनी आफैँ पनि आफ्नो परिचय बदल्न पाउँदा मक्ख देखिन्छन्। ‘नेता भएर भाषण गरेर मात्र खान कसरी पुग्छ? अरूलाई कृषिमा लागेर आत्मनिर्भर बन्नुपर्छ भन्नेहरूले पहिले आपैm कृषक बनेर देखाउन पर्छ भनेर गाई पालन सुरु गरेको हुँ’ उनले भने। आफ्नै ठाउँमा नंग्रा खियाएर मिहिनेत गर्दा परिवारको साथमा रहँदै स्वस्थ जीवनशैली अपनाउन सकिने उनको अनुभव छ। 

पुनको गोठमा अहिले २६ वटा ‘होलस्टोन’ र ‘जर्सी’ जातका गाई अनि ३ वटा विकासी जात भनेर चिनिने ‘मुर्रा’ जातका भैँसी पालिएका छन्। उनले कुस्मा नगरपालिका ४ अर्मादीमा गाई फर्म सञ्चालन गरेका छन्। राजनीतिमा रहँदा रहँदै लामो समयसम्म होटेल व्यवसाय पनि सञ्चालन गरेका उनले नौ महिना अगाडि होटेल बेचेर पशुपालनमा लागेका हुन्। पाँच वर्ष अगाडिबाट सञ्चालनमा रहेको कृषि फार्म उनले २० लाखमा किनेका हुन्। 

महिनामै साढे दुई लाखको कारोबार

सोमले अहिले सदरमुकाम कुस्मा बजारमा दैनिक झन्डै डेढ सय लिटर दूध बिक्री गर्दै आएका छन्। गाईको दूधप्रति लिटर ८० रुपैयाँ र भैँसीको दूधप्रति लिटर एक सय रुपैयाँमा बिक्री गर्ने गरेका उनले एक महिनामा करिब साढे २ लाख रुपैयाँको कारोबार गर्छन्। त्यसबाट उनलाई कम्तीमा पनि ५० हजार रुपैयाँ खुद नाफा हुने गरेको छ। ‘धेरैजसो गाईहरू अहिले ब्याउने अवस्थाका छन्। तिनीहरू ब्याएपछि दैनिक उत्पादन बढ्दा महिनामा साढे ३ लाख जतिको कारोबार हुन्छ होला।’ उनले भने। 
गाईपालनमा सघाउन पुनले दुई जना कामदाहरु राखेका छन्। तर गोठको काम कामदारले गर्लान् भन्ने आशामा उनी बस्दैनन्। ‘हामी जसले जे काम देख्छौँ, त्यो काम आफैँ गरिहाल्छौँ।’ उनले भने, ‘मेरी श्रीमती नगरपालिकाको कार्यालयमा जागिर गर्छिन्, तर बिहान बेलुका उनी पनि गाई गोठमा खट्छिन्, त्यसैले नै हामीले राम्रो गर्न सकेका हौँ।’ बजारमा दूधको माग धेरै भएका कारण अहिले माग अनुसारको दूध बजारमा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.