स्थानीय उत्साहित

|

सिन्धुली : ‘दुई तीन दिन अघिसम्म आयोजनाका सरहरूले आयोजनाभित्र पर्ने घर जग्गा सर्भे गरेर गएका थिए। त्यसको केही दिनमै सरकारले 'सुनकोशी–मरिण डाइभर्सन' लाई राष्ट्रिय गौरवको आयोजना भनेर घोषणा गर्‍यो। यहाँ आउने सरहरूले त भन्नुहुन्थ्यो छिट्टै काम सुरु हुन्छ भनेर। अब भने साँच्चै काम सुरु होला भन्ने आशा लागेको छ’। यो भनाइ हो जिल्लाको कमलामाइ नगरपालिका-२ भद्रकाली कुसुमटारका तीर्थ थिङको।

आयोजना क्षेत्रभित्रका स्थानीय बुधबारको बजेटमा सरकारले सुनकोसी–मरिण डाइभर्सनलाई प्राभमिकतामा राख्दै राष्ट्रिय गौरवको आयोजनाभित्र समावेश गरेपछि उत्साहित भएका छन्।

लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी–मरिन डाइभर्सन’ परियोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्दै प्राथमिकतामा राखेको छ। गत जेठ १५ गते बुधबार आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले सुनकोसी–मरिण डाइभर्सनको काम आगामी वर्षबाट शुभारम्भ गर्नेगरी २ अर्ब ५ करोड रुपैयाँको बजेट समेत विनियोजन गरेको बताएका छन्।

अर्थमन्त्री खतिवडाले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा प्राथमिकतामा राखेर आउँदो वर्षबाट काम गर्ने गरी बजेटको व्यवस्था मिलाइएको बताएका हुन्।

आयोजनाबाट सुनकोशीको ६७ क्युमेक्स पानी मरिनमा खसाल्ने योजना छ । त्यसबाट २७ मेगावाट बिजुलीसमेत निकाल्ने योजना छ। विद्युत आयोजनाको पावर हाउस भने कमलामाई नगरपालिका वडा नं. २ को कुसुमटार फाँटमा रहने बताइएको छ। त्यस्तै बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका कुल १ लाख २२ हजार हेक्टरमा सिँचाइ पुर्‍याउने योजना छ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) निमार्णको क्रममा रहेका बेला आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भित्र राखेर बजेट छुट्याइएपछि स्थानीय बासिन्दामा उत्साह बढेको छ।

सुनकोशीको पानी डाइभर्सन पछि मरिण नदीमा मिसाउन कमलामाई नगरपालिकाको–२ कुुसुमटार फाँटमै खसालिने छ। डाइभर्सनले विकाससंगै स्थानीयस्तरमा समृद्धि ल्याउने भन्दै कुसुमटार, डाँडी कुडेलेका स्थानीयमा खुसी छाएको हो।

कमलामाई नगरपालिका–२ कुसुमटारका हर्कराज भण्डारी आयोजनाले स्थानीय स्तरमा विकास, समृद्धिसँगै राष्ट्रले सिँचाई र विद्युतमा कायापलट गर्ने बताए। ‘सुनकोशी मरिण डाइभर्सन अब बन्छ भन्दै हिजो अस्तिसम्म त्यसको अध्ययन गर्न भन्दै प्राविधिक इन्जिनियर आइरहेका थिए। अहिले बजेट विनियोजन भएको सुनेपछि अब भने आयोजना बन्छ भन्ने पक्का भयो,’ उनले भने।

आयोजना स्थलमा १५ कठ्ठा पर्ने भएपछि उक्त जग्गा आयोजनालाई दिन तयार भएको भन्दै तीर्थ थिङले गाउँकै विकास हुने भएपछि स्थानीय सबैले सहयोग गर्ने बताए। भण्डारी र थिङ जस्तै आयोजना स्थलमा जग्गा पर्ने र नपर्ने सबै स्थानीय बासी जिल्लाकै सबैभन्दा ठूलो आयोजना बन्न लागेको भन्दै खुसी व्यक्त गर्छन्। ‘आयोजनाले सिन्धुलीसंगै तराईमा समृद्धि ल्याउने छ । यसले स्थानीयमा रोजगारको अवसर देखि आयआर्जन वृद्धिमा समेत सहयोग पुग्ने भएको छ,’ भण्डारीले भने।

चालु वर्षमा पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएपछि उक्त आयोजनाको डिपिआर तयार पार्ने काम थालिएको थियो। गत मंसिरमा उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको डिपीआर सम्पन्न गरी उच्च प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए।

डिपीआर निर्माण, वातावरणीय प्रभाव मूल्यांकन (इआइए) जग्गा प्राप्ति तथा अन्य प्राविधिक काम सम्पन्न गरी आगामी आर्थिक वर्षबाट डाइभर्सनको निर्माण कार्य थालिने आयोजनाले जनाउँदै आएको छ।

मरिण नदीबाट ४२ किलोमिटर दुरीमा रहेको बागमती बाँधमा पानी पुर्‍याई मध्य तराईको धनुषा, महोत्तरी, सर्लाही, बारा र रौतहट जिल्लाका १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाई सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ।

हाल बागमती आयोजनाबाट सर्लाही र रौतहट जिल्लाका ४२ हजार हेक्टर जमिनमा मात्र सिंचाई हुँदै आएको छ। सुनकोशी–मरिन–बागमती डाइभर्सनपछि थप ८० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुग्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.