|

काठमाडौं : नेपाली हस्तकला सामाग्री निर्यात बृद्धिलाई सहयोग पुर्‍याउन सरकारले तीन वर्ष अघि घोषणा गरेको सार्क हस्तकला विकास केन्द्रको भवन यसै हप्ता शिलान्यास हुने भएको छ। सरकारले भवन निर्माणका लागि जग्गा उपलब्ध गराएपछि शिलान्यासको तयारी भएको हो। 

सार्क सचिवालयको ९० प्रतिशत लगानी र सरकारको १० प्रतिशत लगानीमा निर्माण गरिने केन्द्रको भवनका लागि सरकारले जग्गा उपलव्ध गराएसँगै भवन निर्माणको प्रक्रिया अघि बढेको थियो। 'विकास केन्द्र स्थापनाको लागि हाम्रो तर्फबाट सबै तयारी सकिसका छौं, उद्योग मन्त्रालयले समेत स्वीकृतl दिएको छ, यसै हप्ता शिलन्यासको तयारी गरिरहेका छौं' नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले थाहाखबरसँग भने।

भवन निर्माणको लागि भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको स्वीकृति भने अझै आउन सकेको छैन। उद्योग मन्त्रालयसँगको सम्वन्वयमा हस्तकला महासंघले गत हप्ता नै भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा भवनको नक्शा पठाइसकेको छ। भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले नक्सा पास गरेसँगै हस्तकला विकास केन्द्रको भवन शिलन्यास गरिने र निर्माण आरम्भ गरिहाल्ने महासंघका अध्यक्ष शाक्यले बताए।

सरकारले चालु आर्थिक वर्षमा हस्तकला विकास केन्द्रको स्थपनाको लागि ५ करोड रुपैयाँ विनियोजनसँगै त्रिपुरेश्‍वरमा घरेलु तथा साना उद्योग विकास समिति नजिकै २ रोपनी १५ आना जमिन समेत उपलव्ध गराएको थियो। 

के फाइदा?

हस्तकला विकास केन्द्रको स्थापनाले हस्तकलाका वस्तुको प्रवर्द्धन गर्न सहोग पुग्ने अपेक्षा गरिएको छ। 'सार्क स्तरीय हस्तकला डिजाइन सेन्टरको स्थापनाले नेपाली हस्तकलाको वस्तुको प्रबर्द्धन गर्न थप मद्दत पुग्ने छ' हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले थाहाखबरसँग भने। 

हस्तकला डिजाइन सेन्टरको स्थापना भएमा नेपाली कला र सीपको प्रवर्द्धन हुने र नेपाली वस्तुहरुको आन्तरिक तथा बाहय बजारमा प्रतिस्पर्धी हुने आपेक्षा सरकारको छ। नेपालमा उत्पादित हस्तकलाका सामाग्रीको  बजार प्रवर्द्धन तथा निर्यात अभिवृद्धिका लागि सहयोग पुग्ने उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। सार्क हस्तकला विकास केन्द्रमा नेपाल सहित सार्क स्तरीय हस्तकलाका सामाग्रीहरु राखिनेछ। यो नेपालमा मात्रै नभई सार्कका देशहरुमा विस्तार गर्ने अभियान सार्क सचिवालयको रहेको छ।

विकास केन्द्र कसले परिचालन गर्ने

सार्क सचिवालयले हस्तकला क्षेत्रको विकास गर्न अन्तर्राष्ट्रिय सार्क हस्तकला विकास केन्द्र स्थापना गर्ने उद्देश्‍य सहित नेपालमा विकास केन्द्र स्थापना हुन लागेको हो। सार्क स्तरीय हस्तकला विकास केन्रको सार्बजनिक निजी साझेदारीबाटै केन्द्र स्थापना गर्न लागिएको छ।

यो विकास केन्द्र नेपाल हस्तकला महासंघ र नेपाल सरकारले परिचालन गर्नेछन्। यसको लागि नेपाल सरकार उद्योग मन्त्रालय र हस्तकला महासंघबीच सम्झौता भइसकेको छ। जमिनको स्वामित्व नेपाल सरकारको रहनेछ। त्यस्तै स्वामित्व मार्फत आउने भाडा घरेलु तथा साना उद्योग विभागलाई दिइनेछ। तर त्यो भाडा कति उठाउने र कसरी उठाउने भन्ने सवालमा भने हस्तकला महासंघ र विभागबीच सहमति जुटिसकेको छैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.