|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीतिगत निर्णय गर्ने ठाउँमा महिला सहभागिता बढाउनुपर्ने बताएका छन्।

लेखक बिन्दा पाण्डेले लेखेको पुस्तक 'वुमन इन नेपाली पोलिटिक्स'माथिको चर्चामा शुक्रबार मन्त्री ज्ञवालीले महिलाका समस्या पुरुषले सही किसिमले समाधान गर्न नसक्ने बताएका छन्। उनले भने, 'महिला अघि बढ्दा पुरुषले चुनौती महसुस गर्नुहुँदैन। नीतिगत निर्णय गर्ने ठाउँमा महिला पुगे भने मात्रै उहाँहरूका समस्या समाधान हुन्छन्, वारेसमार्फत समस्या समाधान हुँदैनन्।'

अझै पनि नेपालमा महिलाका लागि प्रतिस्पर्धाको वातावरण नभएको मन्त्री ज्ञवालीको भनाइ थियो। समाजमा गढेर रहेको पुरातन सोचले गर्दा महिलालाई प्रतिस्पर्धाका रूपमा अगाडि बढ्न सम्भव नभएको उनको भनाइ थियो। कानुनी रूपमा भने संविधानले महिला अधिकारका पक्षमा धेरै व्यवस्था गरेको बताए।

महिला हिंसाका घटना सार्वजनिक भएका हुन्

 मन्त्री ज्ञवालीले पछिल्लो समय महिला हिंसाका रूप परिवर्तन भएको धारणा व्‍यक्त गरे। विगतमा पनि महिला हिंसा हुने गरेका तर सार्वजनिक नभएकाले महिला हिंसा नभएको हो कि भन्ने लागेको बताए। 'महिला हिंसा बढेका छन् कि बढी सार्वजनिक भइरहेका छन् भन्ने कुरा हो', उनले भने, 'हिजो लुकाएर राखिन्थ्यो अहिले वर्षौं पहिले भएका घटना 'मी टू' अभियानअन्तर्गत आइरहेका छन्।' उनले समाजको एक तप्का आपराधीकरणतिर गइरहेको बताए।

पाण्डेको पुस्तक, नेपाली राजनीतिको दस्तावेज

प्रतिनिधिसभा सदस्य बिन्दा पाण्डेको पुस्तकले नेपाली राजनीतिको इतिहास समेटेको कार्यक्रमका सहभागीले बताए। मन्त्री ज्ञवालीले 'वुमन इन नेपाली पोलिटिक्स'मा पाण्डेले राजनीतिभन्दा माथि उठेर काम गरेको बताए। उनले अभियान र प्राज्ञिक पक्षलाई सँगसँगै लगेको पाएको बताए। समाज परिवर्तनका मुख्य सम्बाहक राजनीतिक दल भएकाले तिनीहरूमाथि अध्ययन र अनुसन्धान हुनुपर्ने ज्ञवालीको भनाइ थियो।

शिक्षाविद् विद्यानाथ कोइरालाले बिन्दा पाण्डेले पुस्तकमा राजनीतिक चिन्तनको निर्मम ढंगले विश्लेषण गरेको बताए। महिलाका मुद्दा विश्वमा कसरी अगाडि आए र तिनको नेपालमा कसरी प्रभाव पर्‍यो भन्ने विषय मिहिन ढंगले लेखिएको कोइरालाले बताए। तत्कालिन एमालेले पार्टीमा महिलालाई कसरी व्यवहार गरेको थियो, नीति के थिए र कार्यान्वयन कसरी भयो भन्ने कुराको राम्रो विश्लेषण पुस्तकमा पाइने उनको भनाइ थियो।

प्राध्यापक डा. बिन्दु पोखरेलले सामाजिक, राजनीतिक अवधारणामा परिवर्तन आए शारीरिक विविधताले काममा फरक पार्दैन भन्ने कुरालाई पाण्डेको पुस्तकले महत्व दिएको बताइन्। पुस्तकमा तत्कालिन एमाले नेतृत्व र उसको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवादले महिलालाई नेतृत्वमा ल्याउन तथा संरक्षण गर्न नसकेकाले सक्षम महिला पनि राजनीतिबाट बाहिरिनुपरेको उदाहरण पुस्तकमा उल्लेख गरिको जानकारी दिइन्।

संघीय संसद् राष्ट्रियसभा सदस्य विमला राई पौडेलले प्रजा परिषददेखि वर्तमानसम्म आइपुग्दा महिलाहरूले कसरी संघर्ष गरे भन्ने कुरा पाण्डेको पुस्तकमा उल्लेख गरिएको बताइन्। नेपाली राजनीतिक इतिहासमा महिलाको भूमिका के थियो भन्ने कुरा पाण्डेको पुस्तकमा दस्तावेजीकरण गरिएको भन्दै राईले खुसी प्रकट गरिन्। उनले नेपाली कांग्रेसमा महिलाको अवस्था के थियो र अहिले कस्तो छ भन्ने कुराको पनि अध्ययन हुनुपर्ने बताए। सांसद पाण्डेको पुस्तक भारतबाट प्रकाशित भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.