|

  • अनिल खत्री

गुल्मी : गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ढुंगानाले माफी मागेका छन्। प्रहरी प्रशासनको कमीकमजोरीका कारण प्रहरी र बन्दकर्ताबीच झडप भएकोमा दुःख व्यक्त गर्दै प्रजिअ ढुंगानाले माफी मागेका हुन्।

शनिबार सांसद कमला विश्वकर्मासहित जिल्लास्थित संयुक्त संघर्ष समिति, राजनीतिक दलका प्रमुख, पत्रकार, नागरिक समाज र सुरक्षाकर्मीहरुको संयुक्त बैठकमा प्रजिअ ढुंगानाले कमजोरी स्वीकार गर्दै घटना दोहोरिन नदिने प्रतिबद्धता गरे।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालयमा ताला लगाएर शान्तिपूर्ण धर्नामा बसेका आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो भने भीड बढ्दै जाँदा अश्रुग्यास र ढुङ्गा पनि प्रहार भएको थियो।

घटनामा प्रमुख जिल्ला अधिकारी ढुंगाना दोषी भएको भन्दै संयुक्त संघर्ष समितिले माफी माग्न आग्रह गरेको थियो । प्रजिअले माफी नमागेसम्म वार्तामा नबस्ने आन्दोलनकारीले घोषणा गरेका थिए। उनले घटनाको छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आन्दोलनरत पक्षलाई आन्दोलन शान्तिपूर्ण बनाउन आग्रह गरेका छन्।

आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा लगाएको ताला खोल्ने क्रममा आन्दोलनकारी र प्रहरीबीच शुक्रबार झडप भएको थियो । झडपमा नेकपा मालेकी सांसद कमला विक सहित दुई दर्जन आन्दोलनकारी घाइते भएका संघर्ष समितिले जनाएको छ। झडपमा ४ प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले करिब दुई दर्जन अश्रुग्यास प्रहार गरेको थियो । झडपका कारण तम्घास बजार करिब ३ घण्टा तनावग्रस्त बनेको थियो। आक्रोशित आन्दोलनकारीले दुईवटा सवारी साधनमा आगजनी समेत गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.