|

इलाम : अफगानिस्तान आफनो दोस्रो एकदिवसीय विश्वकप सहभागीताको पहिलो खेलमा ३ पटकको विश्व च्याम्पियन अस्‍ट्रेलियाविरुद्ध खेल्दै सुरुवात गर्नेछ। एक शताब्दीअघिबाट क्रिकेट खेल्न सुरु गर्ने महारथी राष्ट्रसँग प्रतिस्पर्धाका लागि तयार अफगानको क्रिकेट विकास क्रम कठिन थियो।

सन् १९८० को दशकको समय तालिवान आतंकले अफगानिस्तानको अवस्था जरजर बनेको थियो। दिनहुँको आतंकले छिमेकी मुलुक पाकिस्तानमा धेरैजसो शरणार्थी बन्न बाध्य भए।

सोही समय अफगानी शरणार्थीहरूमा क्रिकेटमा उभार आउन सुरु गर्‍यो। सन् १९८० को दशकमा पाकिस्तानमा क्रिकेटको वातावरण निकै राम्रो थियो। शरणार्थी शिविरमै रहेका बेला अफगानीहरूले क्रिकेट खेल्न सिके। टेप बल क्रिकेट (टेनिस बललाई टेपले बाँधेर बनाइएको) पाकिस्तानमा लोकप्रिय थियो। हेल्मेट, ग्लोब्‍स र प्याड आवश्यक नपर्ने भएकाले पाकिस्तानको गल्लीमा यस्तो खेल प्रशिद्ध थियो।

सन १९९२ मा पाकिस्तानले विश्वकप जितेपछि स्थानीयस्तरमा समेत यस्को लोकप्रियता अझै बढ्न थाल्यो। जस्को प्रभाव पेशेवर आसपासको क्षेत्रमा बस्ने अफगानी शरणार्थीहरूमाझ पर्न गयो। अफगान टोलीका पूर्वकप्तान मोहम्मद नाबी पाकिस्तानस्थित एउटा शरणार्थी शिविरमा हुर्केका थिए।

त्यहाँ उनी चिर्पटको ब्याट र थोत्रो कपडाले बनाइएको बलले क्रिकेट खेल्ने गर्थे। ताज मल्लिक र अल्लाह दाद नुरीले अफगानी टोली बनाएर नाबी लगायतका युवाहरूलाई क्रिकेट खेलाउने गर्थे जस्मा मल्लिकका ३ भाइहरू समेत समावेश थिए। उनीहरूले पाकिस्तानमा रहँदा नै सन १९९५ मा अफगानिस्तान क्रिकेट फेडेरेसन (हाल अफगानिस्तान क्रिकेट बोर्ड) बनाए।

 सन १९९० को दशकको अन्त्यतिर अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फर्कन थाले। तर, क्रिकेट खेल्न सहज थिएन। अफगानिस्तानका सबै रंगशालासहित खेलमा तालिवानले नियन्त्रण लिएका थिए उनीहरूको अनुमतिविना खेल्न असम्भव थियो। जब विश्वकै पुरानो क्लब मेरिलिवन क्रिकेट क्लब (एमसिसी)का सदस्य स्टुअर्ट बेंथम अफगान वायरलेस एन्ड कम्युनिकेशनको सेयरधनीको रूपमा काबुल आए उनले अफगानीहरूको क्रिकेट क्रेज देखेर एमसिसीलाई ब्‍याट, बल र प्याडलगायत क्रिकेट सामाग्री दिन राजी गराए।

 तालिवानको अनुमतिमा ९० को दशकको अन्तिम समयमा काबुल रंगशालामा अफगानी क्रिकेटरहरूले एक म्याच खेलेका थिए। अफगानीहरूको क्रेजपछि सन २००० मा तालिवानबाट क्रिकेट खेल मात्र फुकुवा भयो। सन् २००१ मा आइसिसी र २००३ मा एसिसीले अफगानिस्तानलाई आवद्धता प्रदान गर्‍यो। 

गृहयुद्ध र बाह्य हस्तक्षेपबीच त्यहाँ क्रिकेट खेल्नु वा हुर्कनु सजिलो थिएन। तालिवान शक्तिबाट हटेपछि प्रतिभाशाली शरणार्थी खेलाडीहरू अफगानिस्तान फर्किएर राष्ट्रिय टिम बनाउन सुरु गरे। ताज मल्लिक पहिलो प्रशिक्षक बनेर खेलाडी छनोट गरे।  मे २००३ मा अफगान क्रिकेट फेडेरेसनले राष्ट्रिय टोलीका लागि ट्रायल खुला गर्‍यो।

टिम तयार गर्नका लागि काबुलको चामेन–ए हजुरी मैदानमा आयोजित पहिलो ओलम्पिया ल्युव आयल क्रिकेट टुर्नामेन्टको उद्धघाटन खेलमा अन्तर्राष्ट्रिय सुरक्षा सहायता बलको टोली ताज मल्लिकको काबुल एकाडेमीसँग पराजित बन्यो। सन २००४ सम्म पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले अफगान क्रिकेट टोलीलाई आफनो भुमिमा घरेलु प्रतियोगितामा खेल्न दियो।

सिनियर एक दिवसीय क्रिकेटमा अफगानिस्तान

सन् २००४ जुन १२ देखि २४ सम्म मलेसियामा आयोजना भएको एसिसी इमर्जिङ ट्रफीमा ओमनविरुद्ध खेल्दै सिनियर अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्‍यु गरेको १५ वर्षको अन्तरालमा विश्व क्रिकेटमा अफगानस्तिानले आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ।

सिनियर क्रिकेटमा अफगानिस्तानले पछिल्लो समय लगातार टेस्ट टोलीलाई पराजित गरिरहेको छ। विश्वकपमा एसोसिएट राष्ट्रको सहभागीता र एक दिवसीय मान्यता प्रदान गर्न सन् २००७ मा आइसिसीले ल्याएको वर्ल्ड क्रिकेट लिगको अवधारणापछि अफगानस्तानले एकाएक छलाङ मार्‍यो।

सन् २००८ मा डिभिजन पाँच र चार जितेको टोली सन २००९ मा डिभिजन तीनमा युगान्डा र पपुवान्युगिनीलाई पछि पार्दै सन २०११ को विश्वकप छनौटमा स्थान बनाउन सफल भयो। १२ एसोसिएट टोली सहभागी प्रतियोगिताका उत्कृष्ट चारले विश्वकपमा स्थान बनाएका थिए जस्मा अफगानिस्तान परेन। 

रन रेटमा स्कटल्यान्ड भन्दा पछाडि रहँदै उस्ले सन् २०१४ सम्मका लागि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताका साथै अन्तर महादेशीय कपमा सहभागीताको अवसर पाउन सफल भयो। अप्रिल १७ मा एक दिवसीय मान्यता पाएको टोलीले अप्रिल १९ मा विश्वकपको अनुभव बटुलेको स्कटल्यान्डविरुद्ध जित निकाल्यो।  

सन् २००९–१० को अन्तरमहादेशीय कपमा आयरल्यान्ड र जिम्बाबे जस्ता बलिया राष्ट्रहरूलाई पछि पार्दै अफगानिस्तानले उपाधि जितेको थियो। सन २०१० मा आयोजना भएको एक दिवसीय स्वरुपको डिभिजन वानमा अफगानिस्तान तेस्रो भयो।

अन्तर महादेशीय कपको २०११–१३ संस्करणमा आयरल्यान्डसंग पराजित बन्दै टोली दोस्रो बन्यो।  शीर्ष दुई स्थानमा रहेका कारण आयरल्यान्डसँगै सन् २०१५ को एकदिवसीय विश्वकपका लागि सोझै छनोट भयो। उक्त विश्वकपमा चारवटा एसोसिएट टोलीलाई टिकट दिइएको थियो।

ऐतिहासिक विश्वकपको रूपमा रहेको प्रतियोगितामा १८ फेब्रुअरीमा बंगलादेशविरुद्ध खेल्दै डेब्‍यु गर्‍यो। १०५ रनको फराकिलो अन्तरले पराजित बनेको अफगानी टोली स्कटल्यान्डलाई १ विकेटले हराउँदै समूह 'ए' को छैटौँ स्थानमा रहँदै बाहिरियो। विश्वकपको प्रदर्शनको आधारमा जिम्बाबे र आयरल्यान्डलाई पछि पार्दै आइसिसी वरीयताको १० औँ स्थानमा उक्लियो।

सन २०१५ को एकदिवसीय विश्वकपपछि आइसिसीले आयरल्यान्ड र अफगानिस्तान मुख्य वरीयतामा रहेको भन्दै वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप (डिभिजन वान) खेल्नु नपर्ने तर अन्तरमहादेशीय कप खेल्नुपर्ने निर्णय गरेपछि सन २०१५–१७ को प्रतियोगितामा आयरल्यान्डलाई पछि पार्दै विजेता बन्यो।

२२ जुन २०१७ मा आयरल्यान्डसँगै अफगानिस्तानले टेस्ट मान्यतासमेत पायो। सन् २०१८ अगस्‍ट २९ मा आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्दै एक दिवसीय क्रिकेटमा अफगानिस्तानले १ सय खेल मात्र पूरा गरेन मोहम्मद नाबी सबै खेलमा सहभागिता जनाउने पहिलो अफगानी क्रिकेटर बने।

टेस्ट मान्यता पाएका १० वटा राष्ट्रविरुद्ध ७६ वटा एक दिवसीय खेलमा सहभागिता जनाएको अफगानी टोलीले ३६ खेलमा विजयी हासिल गरेको छ। अस्‍ट्रेलिया, भारत, न्युजिल्यान्ड र इङल्यान्ड बाहेकका अन्य टोलीविरुद्ध अफगानिस्तानले जित निकाल्न सफल भएको छ। टि–२० मा टेस्ट मान्यता पाएका पुराना टोली बंगलादेश र जिम्बाबेमाथि अफगानिस्तान हाबी हुँदै आएको छ।

अफगानिस्तानका भेट्रान खेलाडी मोहम्मद नाबीदेखि १८ वर्षीय स्पिनर मुजिब उर रहमान व्‍यावसायिक क्रिकेट प्रतियोगिताको नजरमा परिरहेका छन्। इन्डियन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शनपछि रसिद खानले विग व्यास लिग, क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिगमा समेत आफ्नो खेल कौशल देखाइसकेका छन्।

टि–२० मात्र नभई आइसिसीको पछिल्लो वरीयतामा एक दिवसीय अलराउन्डरको दोस्रो स्थानमा रहन सफल भएका छन्। त्यसैगरी, मोहम्मद नाबी तेस्रो स्थानमा छन्।  सन् २००९ मा आयोजना भएको एकदिवसीय विश्वकपको विश्वस्तरको छनोटबाट प्राप्त गरेको सफलताकै आडमा अफगानिस्तानले अहिले विश्व क्रिकेटमा तहल्का मच्चाएको छ।

सन २०१७ बाट वेस्टइन्डिजका पूर्वक्रिकेटर फिलिप सिमोन अफगानिस्तानको मुख्य प्रशिक्षकका रूपमा नियुक्त भए। उनीसँग २०१८ बाट दक्षिण अफ्रिकाका चार्ल्स लैङ्गवेल्डट बलिङ प्रशिक्षकका रूपमा कार्यरत रहेका छन्। नेपालका हालका ब्‍याटिङ प्रशिक्षक उमेश पट्बालले सन २०१४ मा अफगानि टोलीलाई प्रशिक्षण दिएका थिए।

उमेर समूहमा पनि अब्ब

सन २००९ मा आयोजना भएको एसिसी यू–१९ एलिट कपको सेमिफाइनलमा ४ पटकको विजेता नेपाललाई पराजित गर्दै उमेर समूहमा अफगानिस्तानले बलियो उपस्थिति देखाएको थियो।

सन् २०१० र २०१४ मा आयोजना भएको एसियन गेम्सको क्रिकेटतर्फ दोस्रो स्थान हात पारेको अफगान यू–१९ टोली सन् २०१६ मा आयोजना भएको एसिसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको थियो। सन् २०१७ को पछिल्लो संस्करणमा पाकिस्तानलाई हराउँदै विजेतासमेत बनेको थियो।

अफगानिस्तान सन २०१८ को  आइसिसी यू–१९ विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। पाकिस्तान विरुद्धको तेस्रो स्थानको प्लेअफमा मौसम प्रतिकूल बनेपछि नेट रनरेटका आधारमा चौथो बन्यो।

भौतिक संरचनाका लागि लगानी

हाल अफगानिस्तानमा ३२० क्रिकेट क्लबहरू रहेका छन्। ३४ मध्ये ३२ प्रान्तका आफ्नै क्रिकेट टिम बनाइएका छन्। अफगानिस्तान क्रिकेट बोर्डले राष्ट्रलाई ५ वटा क्षेत्रमा विभाजन गरेको छ। जस्मा ४ देखि १० वटा प्रान्तका टिमहरू समावेश गरिएको छ।

११ वटा प्रान्तले आफनै क्रिकेट रंगशाला बनाएका छन। विश्वभरिका खेलाडीहरूलाई आकर्षित गर्नका लागि दुबईमा अफगानिस्तान प्रिमियर लिगको आयोजना सन् २०१८ मा गरिएको थियो। सन् २००८ देखि अफगान कनेक्सन (एसी) ले मेरलिवोन क्रिकेट क्लबसँगको सहकार्यमा अफगानी क्रिकेट विकासको लागि लगानी गरिरहेको छ।

डिभिजन पाँचमा प्रतिस्पर्धा गर्दै गर्दा एलेक्स फेनले धुलाम्मे मैदानमा अफगानको संर्घषको बारेमा सुनेपछि पूर्व इङल्यान्डका खेलाडी तथा केन्टका कप्तान म्याथु फलेमिङसँगको समन्वयमा अफगानी क्रिकेट विकासमा २००९–१८ योजना बनाएर अगाडि बढाए। २२ प्रान्तका १ लाख बालबालिकालाई ग्रासरुटबाट क्रिकेट सिकाइएको छ।

क्रिकेटको फडर्को मारेसंग अफगानिस्तानले रंगशाला निर्माणलाई तीव्रता दिएको छ। सन २०१० मा तत्कालिन अध्यक्ष ओमर जख्लिवालले घोषणा गरेको १० वटामध्ये २ वटा ६/६ हजार क्षमताको र एउटा १४ हजार क्षमताको रंगशाला निर्माण सम्पन्न भइसकेको छ।

५ वटा निर्माणको क्रममा रहेका छन्। सुरक्षा चुनौती र अन्तर्राष्ट्रिय मापदण्डको अभावका कारण अफगानिस्तानले घरेलु प्रतियोगिता आफ्नो देशमा गर्न सकेको छैन। आयरल्यान्डविरुद्धको अन्तरमहादेशीय कप श्रीलंकाको रंगिरी डम्बुला रंगशालामा खेलको अफगानिस्तानले सन २०१० मा टि–२० विश्वकप छनोट र २ एकदिवसीय खेलका सारजाहा क्रिकेट एसोएिससन युएईको रंगशालामा क्यानडाविरुद्ध खेलको थियो। सो खेलपछि ६ वर्षसम्म सारजाहा अफगानिस्तानको घरेलु मैदान कहलियो।

सन २०१६ मा भारतको ग्रेट नोयडामा रहेको शहीद विजय सिंह पथिक स्पोर्टस कम्प्लेक्सलाई भारतीय क्रिकेट बोर्ड (बिसिसी आई) सँगको समन्वयमा अफगानिस्तानले आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएको छ।

(विभिन्न समयमा प्रकाशनमा आएका अफगानिस्तानसम्बन्धी समाचार र फिचरका आधारमा तयार पारिएको)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.