|

काठमाडौं : कलंकीस्थित मैत्रीनगरमा कपाल काटिरहेका दु:ख ठाकुर 'म तपाईंको जीवनको कथा सुन्छु। सुनाउनुहुन्छ?' भनेर प्रश्न गर्दा आश्चर्यमा परे। समृद्धिका ठूलाठूला कथा सुन्न रुचाउने, सेलिब्रेटीका पछाडि दौडने अहिलेको पुस्ताले आफूजस्तो सामान्य व्यक्तिको कथा सुनाउनुस्भन्दा जिस्कायो होला भन्ने लागेको हुँदो हो उनलाई। उनले मुस्कानसहित 'हामीजस्ताको पनि कथा सुनेर के गर्नुहुन्छ?' भनेर उल्टै प्रतिप्रश्न गरे।

उनको नाम हो दुख ठाकुर। तर, नाममा के छ र? उनको हाउभाउ, बोलीको मिठासपनाले जोसुकै पनि प्रभावित हुन्छन्। सर्लाही घर भएका उनी चार वर्षदेखि काठमाडौंमा सैलुन व्यवसाय सञ्‍चालन गरिरहेका छन्।

सिर्जना हेयर कटिङमा तीनजना छन्। उनलाई देख्ने जोकोही उनीहरूको परिचय सोध्नुअघि नै भैया सम्बोधन गर्छन्। भैया सम्बोधन गर्दा उनीहरूलाई अप्ठ्यारो महसुस हुन्छ। अनुहारको वर्ण कालो हुँदैमा, भाषामा भोजपुरी टोन आउँदैमा मान्छेहरू उनीलाई भारतीय सोच्छन्। यो सम्बोधन सुन्दा आफ्नै आमाले छोरालाई पराई सम्झेजस्तो आभास हुन्छ ठाकुरलाई।

बाटोमा हिँड्ने हरेक व्यक्तिलाई उनी मोठो मुस्कानले प्रणाम गर्छन्। हालखबर सोध्छन्। यसकारण मैत्रीनगर क्षेत्रमा उनी सबैको प्यारो बनेका छन्। उनी भन्छन्, 'सम्पत्ति पो छैन। मुस्कान त छ नि। मुस्कान दिए मुस्कान नै फिर्ता आउँछ त।' वर्षमा मुस्किलले एकचोटि मात्र घर पुग्छन् उनी। उनका आफ्नै रेगुलर ग्राहक पनि छन्। उनी भन्छन्, 'मुस्किलले वर्षमा एकचोटि घर जान्छु। यहाँ ग्राहकहरूले फोन गरेर कहिल्ये आउँछौ भनेर कराउँछन्।' आफूलाई माया गर्नेहरू देख्दा फुरुंग पर्छन् उनी।

दुई छोराछोरीका बाबु उनले सैलुन श्रीमतीको नाममा खोलेका हुन्। उनी सुनाउँछन्, 'उनको साथले जिन्दगीमा बितेको छ। उसको पनि त अधिकार छ। त्यसैले सैलुन पनि श्रीमतीकै नाममा खोलेको हुँ।' बुबा किसान थिए। यसको अलवा नाईको काम गर्थे। उनी सम्झन्छन्, 'गाउँमा सबैको कपाल काट्ने काम बुबाले गर्नुहुन्थ्यो। बुबाले त्यही कपाल काटेर हुर्काएको हो मलाई। मैले पनि कपाल काट्न सिके।' पढ्नुपर्छ भन्ने ज्ञान भएन उनलाई।

बाल्यकालमा कुन चाहिँ बच्चालाई पढ्नुपर्छ भन्ने ज्ञान हुन्छ? अभिभावकमा बच्चालाई कुनै हालतमा पढाउनुपर्छ भन्ने चेतना थिएन। उनी मात्र होइनन् अन्य बालकहरूलाई कुनै बच्चाहरूलाई पढाउनुपर्छ चेतना विकास नहुँदा आफूले पढ्न नपाएको बताउँछन् उनी। त्यसबेला बाबुआमाले दुई/चार झापड हानेर विद्यालय पठाएको भए पढिन्थ्यो पनि होला। तर, आफ्नै दैनिक खर्च धान्न गाह्रो भएको बेला बुबालाई पढाउनुपर्छ भन्ने ज्ञान पनि भएन कि सायद।'

उमेर बढ्दै गयो घरको जिम्मेवारी उनको काँधमा आयो। स्वदेशमा आफूलाई असहज महसुस हुन थाल्यो उनलाई। अनि लागे खाडी मुलुक साउदी अरब। उनी भन्छन्, 'ठूलो अपेक्षा लिएर प्लेन चढेर साउदी पुगेको थिएँ।' उनी सोच्ने गर्थे, 'साउदीमा मेरो हरेक रहर पूरा गर्ने वस्तु छन्। पैसा सहजै प्राप्त गर्न सकिन्छ।' तर, उनले सोचेको विदेश लावण्य देशको राजकुमार रहेछ। सुन्दा गज्जब। यथार्थमा शून्य।उनी तीन महिनामै फर्के। विदेश गएको ऋण थियो। तिर्नुको विकल्प थिएन। अनपढले भनेजस्तो जागिर पाउन सहज थिएन। 'कहिलेकाहीँ भने किन पढेनछु भनेर धकधकी लागिरहन्छ' उनी सम्झन्छन्। जागिर नपाए पनि पढ्न चाहिँ जरुरी रहेछ भन्ने लाग्छ उनलाई। 'पढेका मान्छेले पो काम पाएनन् भने सरकारलाई गाली गर्ने अधिकार पाउँछन्। म त अनपढ छु। त्यसैले कहिलेकाहीँ आफैँलाई गाली गर्छु।' उनले आफैँमाथि ठट्टा गरे।

उनी सर्लाहीबाट काठमाडौं आए। एक वर्ष अन्य कुनै सैलुनमा विभिन्न प्रकारले कपाल कटाइसम्बन्धी सीप सिके। त्यसपछि एक लाख लगानी गरेर आफैँले सैलुन व्यवसाय सुरु गरे। दैनिक २५ सय कमाउने उनको सैलुनमा दुईजना अन्य व्यक्ति पनि काम गर्छन्।

उनी सामाजिक सञ्‍जाल पनि चलाउँछन्। अहिले विभिन्न देशमा पुगेका विद्यार्थी र कामदारको समस्या सुन्दा उनी चकित पर्छन्। उनीहरूको व्यक्तिगत गुनासो झन् हास्यास्पद रहेको बताउँछन्। भन्छन्, 'विदेशमा भाडा माझ्‍न सक्नेले देशमा काम गर्न लाज मान्छन्। अनि कसरी बन्छ देश?' जानेको पढेको व्यक्तिलाई देशमा जति पनि अवसर छ। मात्र अवसरलाई सदुपयोग गर्न नसक्ने, यो भएन। त्यो भएन भन्दै रोइलो गर्ने देख्दा आफू बहुतै सुखी रहेछु भन्ने सोच्छन उनी।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.