|

काठमाडौं :  प्रकाश सपूत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ। सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो।

सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि युट्युब ट्रेन्डिङको नं. एकमा आएको थियो। जुन गीत अहिलेसम्म एक करोडभन्दा बढी पटक हेरिएको छ। बोलमायाकै पूर्वभाग ‘प्रिक्वेल’को रुपमा ‘गलबन्दी’ ल्याएको सपूतले बताए।

गलबन्दीमा पनि शब्द, संगीत, स्वर र श्रव्यदृश्य निर्देशन सपूतकै छ। स्वरमा सपूतलाई शान्तिश्री परियारको साथ छ। म्युजिक भिडियोमा सपूत र अञ्जली अधिकारीको अभिनय छ। भिडियो छायांकन सपूतकै जन्मघर बागलुङ, धम्जामा गरिएको छ।

‘परम्परागत रोधीको झझल्को आउने गरी गीत बनेको छ’, सपूतले भने ‘राम्रो प्रतिक्रिया आएको छ, उत्साहित छु।’ मौलिक शब्द, संगीत र प्रस्तुतीकरणका कारण गीतलाई स्रोता, दर्शकले रुचाएका छन्।

म्युजिक भिडियोको कथा, सोच र निर्माणपक्षसमेतले गीतलाई न्याय गरेको छ। लोक दोहोरीमा विशुद्ध मानवीय प्रेम र संवेदनाको भाव प्रकट भएको छ। ‘एकदमै रमाइलोका लागि बनाइएको गीत हो’, सपूतले भने ‘भिडियोमा नयाँपन दिने प्रयास गरेको छु।’

कथात्मक शैली, सिर्जनशीलता, अनौपचारिक प्रस्तुति, ठेट सम्वाद र जीवन्त अभिनयले दर्शक गीतमा लोभिन्छन्। सपूत चञ्चले युवक र अधिकारी लज्जालु युवतीका रुपमा म्युजिक भिडियोमा देखिएका छन्।

गीतको मर्म र भावलाई भिडियोमा मौलिक ढंगले उतार्न निर्देशकका हिसाबले पनि सपूत सफल देखिएका छन्।  भाका नेपाल प्रालिद्वारा निर्मित गीतको म्युजिक भिडियोमा सपूतका आमाबुबा, भाइ र आफन्जनकोसमेत अभिनय देख्न पाइन्छ। यसअघि ‘दोहोरी ब्याटल’ गाएर विवादित बनेका सपूतले सामाजिक विषयवस्तुलाई सिर्जनामार्फत मुखरित गर्दै आएका छन्।

गत वर्ष सार्वजनिक ‘बोल माया’ विदेशमा प्रियजन गुमाउने नेपाली परिवारको वेदनामा आधारित लोकगीत हो। विषयवस्तुको छनौट र प्रस्तुतीकरणमा ध्यान दिनसके सफल भइने पाठ आफूले सिकेको सपूतको भनाइ थियो।

पछिल्लो समय लोकदोहोरी गीतले युट्युबमा राम्रो दर्शक पाउन थालेका छन्। गत असोजमा सार्वजनिक भएको लोकदोहोरी ‘सालको पातको टपरी’ चार करोड भन्दा बढी पटक हेरिएको छ। उक्त गीत नै युट्युबमा सबैभन्दा बढी हेरिएको पहिलो नेपाली लोकदोहोरी बन्न सफल भएको छ।

म्युजिक भिडियो हेर्ने, लाइक, कमेन्ट, शेयर र ‘सब्सक्राइब’ गर्नेको संख्याका आधारमा युट्युबमा गीतको चर्चा मापन हुन्छ। सोही आधारमा कलाकारले पैसा पाउँछन्। पैसा आउनका लागि तोकिएको संख्यामा हेरिनुपर्ने र सब्सक्राइबर (युट्युब च्यानलको समूह सदस्य) पुग्नुपर्ने प्रावधान छ।

शुरुमा युट्युब एकाउन्ट परीक्षणमा रहने र ‘मोनिटाइज’ भएपछि मात्र पैसा आउने गरेको छ। श्रव्य क्यासेट, सिडी, सिआरविटी हुँदै संगीत व्यवसाय अहिले युट्युबमा केन्द्रित छ। प्रविधिको फड्कोले संगीत बजारको स्वरुप बदलेको हो। (रासस)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.