वार्षिक ४० लाख आम्दानी

|

काठमाडौं : केही दिनअघि चर्को हावाहुरीले देशका धेरै ठाउँमा ताण्डव मच्चायो। हावाहुरीले किसानको अन्नबालीमा धावा बोलिदियो। केही दिनअघि सबेरै कीर्तिपुर पाँगाको जनसेवा माध्यामिक विद्यालय छेउको कृषि फर्ममा पुग्दा गौरसिंह महरा र वसन्तसिंह ठगुन्ना हावाहुरीले आफ्ना भत्किएका टहरा मिलाउँदै थिए। उनीहरू भन्दै थिए, 'मिहिनेत र खर्च लगाएर बनाएको टनेल हावाहुरीले एक निमेसमै भताभुंग बनाइदियो।

तर, उनीहरूले हिम्मत हारेका छैनन्। 'हार नै मान्ने भए किन संघर्षको मैदानमा आउने थियौँ र?' उनीहरू दुवैले एकैस्वरमा बोले। अहिले फर्ममा लटरम्म गोलभेडा फलेका छन्। फलेका गोलभेडा देखेर देख्ने मान्छेले थुक निल्न सक्छ। तर, यो उपलब्धिको पछाडि उनीहरूको लामो कथा छ।  

यसका लागि पाँच वर्ष अगाडि फर्कनुपर्छ। वसन्तले उच्चशिक्षा ताहाचल क्याम्पसबाट पूरा गरे। उच्च शिक्षा पढेपछि सरकारी जागिर खाने ठूलो अभिलाशा थियो। आर्थिक रूपले विपन्न भएका उनीसँग अगाडि पढ्ने बाटो थिएन। सँगैका साथीहरूले लोकसेवाको तयारी गरे। सधैँ बुबा आमाको शरणमा पनि बस्न उनको मनले मानेन। जागिर खोजे, ताकी लोकसेवा पढ्न सहज होस्। काठमाडौं जागिर पाउन त्यस्तो सहज भएन। स्नातकको सर्टिफिकेट बोकेर गाउँ (दार्चुला) फर्के।

गाउँमा पनि उनका लागि कुनै जागिर थिएन। सँगैका साथीहरू कोही विदेश पलायन भइसकेका थिए भने कोही लोकसेवाको तयारी गर्दै थिए। उनका लागि अभिभावकको बोझ घटाउने एउटै उपाय थियो, विदेश। पासपोर्ट बोकेर उनी र गौरसिंह काठमाडौं आए। मेनपावरमा पासपोर्ट बुझाए। महिनौँसम्म मेनपावर धाए। हात लाग्यो शून्‍य। विदेशको चक्करमा मेनपावर धाएका उनलाई एजेन्टले भोलिभोलि भन्दै कैयौँ दिन झुल्यायो।

काठमाडौं आउँदा साथमा ल्याएको सातुसामल सकियो। विकल्प उनीहरूका मामा थिए। आफ्नै मामाको कृषि फर्ममा काम सुरु गरे। घरबाट विदेशका लागि हिँडेका उनीहरू पाँगा दोबाटोको कृषि फर्मतर्फ मोडिए। त्यो मोडसँगै उनीहरूको मोडियो नयाँ जिन्दगीको अध्याय।

मिहिनेतअनुसार फल पाएका छैनौँ

सुरुवाती दिनमा पाँच रोपनीबाट सुरु भएको कृषी कर्म अहिले २१ रोपनी जग्गामा फैलिएको छ। पाँच वर्षको एग्रिमेण्ट रहेको जग्गामा प्रतिरोपनी वार्षिक १८ हजार तिर्छन्। उक्त फर्ममा ठगुन्नाका अलवा उनका भाइ गौर र उनका मामा गरेर तिन परिवारका ११ जनाले सामूहिक कृषि कर्म गरिरहेका छन्।

बिहान चार बजे उठ्नु र ११ बजेसम्म माटोसँग लुकामारी गर्नु। दिनभर आराम गर्नु र बेलुका चार बजेपछि पुनः  माटोसँग मितेरी गाँस्नु उनीहरूको दैनिकी हो। पहिलेपहिले माटोसँग खास्सै मित्रता थिएन। माटोमै दैनिकी बित्न थालेपछि माटो नै आफ्नो सबथोक लाग्ने गरेको बताउँछन् उनीहरू। तन, मन र धन सम्पूर्ण रूपमा तरकारी बारीमा नै खर्चिएका उनीहरूले वार्षिक ४० लाख आम्दानी गर्छन्।

तर, खर्च कटाउँदा हरेक परिवारको दुई तीन लाख नाफा हुन्छ। यो नाफा उनीहरूको मिहिनेत तुलनामा कम्ती नै हो। वसन्त भन्छन्, 'हामीले मिहिनेतअनुसार फल पाएका छैनौँ। व्यवस्‍थित बजारको अभाव र विचौलियाहरूले गर्दा वास्तविक किसान र उपभोक्ता मारमा छन्।' तरकारीको बजार भाउ निर्धारण सरकारले गर्नुपर्छ। यहाँ त व्यक्तिले गर्छ। अनि कसरी हुन्छ किसानको जीवनस्तर सुधार? यसबारे अनुसन्धान जरुरी छ।

एक रुपैयाँ अनुदान पाइएको छैन

तरकारी र माटो जीवनमा रमाइरहेका उनीहरूले सरकारले कृषिमा दिने अनुदानले केही हर्षित थिए। सरकारले दिने भनेको अनुदान कागजमा सीमित भएको कारण उनीहरू दुखित छन्। भन्छन्, 'सरकारले कृषि अनुदान दिने भने पनि आजको मितिसम्म एक रुपैयाँ पनि पाइएको छैन।'

बालिनालीलाई आवश्यक बिउविजन, मल, औषधि, सिँचाइका लागि आवश्यक रकम जुटाउन पनि मुस्किल पर्छ। त्यसमाथि अहिले हावाहुरीले सम्पूर्ण टनेलहरूलाई क्षतविक्षत गराइदिएको छ। यसका मर्मतको लागि आफूसँग पर्याप्त रकम नभएको उनीहरूको भनाइ छ। उनीहरूले बैंक पनि नधाएका होइनन् तर अपेक्षाकृत परिणाम भएन। 

बैंकले धितोको लागि जग्गा माग्छ। गौर भन्छन्, 'हामीसँग जाँगर छ,  इमान्दारी छ तर अफसोच, जग्गा छैन।' बैंकले ऋण दिन नपत्याएपछि उनले  गाउँबाट नै ३६ प्रतिशत ब्याजमा ऋण लिएर काम गरिरहेका छन्। आफ्नै देशमा आफ्नो पसिना बगाउँछुभन्दा पनि अनेक बाधा अड्चन आउँछन्। जब उत्पादन गर्ने किसानलाई त सरकार र बैंकले पत्याउँदैन भने अन्य क्षेत्रमा हालत के होला?

दैनिक १५ सय युवाहरू विदेशिनु स्वाभाविक रहेको तर्क राख्छन् उनीहरू। भन्छन्, 'मिहिनेत गरे सफल नहुने भन्ने कुरा छैन। तर, सरकारले कृषि क्रान्ति गर्ने हो भने कृषि अनुदानलाई कार्यानन्वयन, बिमा योजना, बिचौलिया प्रवृत्तिहरूलाई पूर्णरूपले निरुत्साहित गर्न जरुरी छ।' जबसम्म सरकारले किसानमैत्री नीति ल्याउँदैन तबसम्म भाषणको भरमा देशका कृषि क्रान्ति हुन सक्दैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.