काठमाडौं : नेपाली आधुनिक संगीतकी मूर्धन्य संगीतकार शान्ति ठटालले पलेँटी शृंखलामा आफ्ना सृजनाहरू प्रस्तुत गरेकी छिन्। कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा भएको पलेँटीमा उनले बनाएका डेढ दर्जन जति गीत समेटिएका थिए।
सन् २००६ देखि प्राय बर्सेनि पलेँटीमा प्रस्तुत भएकी शान्तिले यसपालीको कार्यक्रम निम्ति धेरै जस्तो नयाँ गीत छानेकी थिइन्। साथै उनका ती सांगीतिक रचनाहरू प्रस्तुत गर्नका निम्ति उनकै शिष्याहरू विमला सेन्चुरी प्रधान र अञ्जली प्रधानले साथ दिएका थिए।
कार्यक्रमलाई पलेँटीका संयोजक तथा संगीतकार आभासले संचालन गरेका थिए। आभासले संगीतकार शान्ति ठटालसँगको सांगीतिक संगतमा आधारित रहेर आफ्नो संस्मरण वाचन गरेका थिए। आभासले आफ्नो संस्मरणमा शान्ति ठटाललाई मालति फूलसँग तुलना गर्दै ठटाललाई ‘संगीत-मल्लिका’को विशेषणले सम्वोधन गरेका थिए।
कार्यक्रमको थालनी भजनबाट भएको थियो। श्याम प्रधानको शब्द रचनाबाट कार्यक्रम थाल्दै गर्दा आभासले भने- ‘शान्ति ठटालसँग मैले आध्यात्मिक वार्ता पनि गरेको छु। उहाँमा प्रगतिशील आध्यात्मिकताको चिन्तन छ। भजनको माध्यमले मानिसमा नैतिक सोच निर्माण गर्ने प्रयत्न गर्नु प्रगतिशील चिन्तन हो।'
भजनपछि नेपाली आधुनिक गीत लेखनका प्रणेता रत्न शमशेर थापाद्वारा रचित तीनवटा गीत प्रस्तुत भएका थिए। गायिका विमला सेञ्चुरी प्रधानले ‘तिर्सना छल्किन्छ’ र ‘मलाई चोट फेरि’मा स्वर दिएकी थिइन्। अञ्जली प्रधानले भने ‘आँखा आँखामा वैँशको मात’ सुनाएकी थिइन्।
कार्यक्रममा शान्ति ठटालबाट तीन हप्ता पहिले काठमाडौं भित्रिएर सृजना गरेको सबैभन्दा पछिल्लो संगीत पनि प्रस्तुत भएको थियो। उनले यसपाली पलेँटीले संगीतकारको रुपमा मात्र प्रस्तुत गर्न खोज्दाखोज्दै प्रशंसहरूको अनुरोधका कारण उनले गीत नगाइ धर पाइनन्। उनले भनिन्- ‘हुन त म गायनबाटै संगीतमा प्रवेश गरेकी हुँ! गाउन मन पनि लाग्छ तर अब गाह्रो हुन्छ।'
आठ दशक पार गरिसकेकी ठटालले संगीतका चौतर्फी विधामा सिद्धता हासिल गरेकी छन्। कार्यक्रममा शान्ति ठटाललाई किबोर्डमा दिनेश रेग्मी, तबलामा सन्देश महर्जन, गीतारमा सुरज प्रधान, प्रकसनमा सुन्दर महर्जन र बाँसुरीमा बलराम समालले साथ दिएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।