मानसिक समस्या बढ्दै, समाधान कसरी ?

|

काठमाडौं : धेरै नबोल्ने, मोबाइलमा गेम खेल्न रुचाउने र साथीसँग धेरै झगडा गर्न थालेपछि बालुवाटारका रमन शर्मालाई होस्टेल इन्चार्जले चिकित्सककहाँ लैजान भने। 

उनका बुवाले कान्ति बाल अस्पतालको बाल मनोरोग विभाग पुर्‍याएर  उपचार गराए। चिकित्सकलाई देखाएपछि उनलाई थाहा भयो धेरै समयसम्म मोबाइल तथा टिभि हेर्ने भएपछि उनी एकाग्र हुन सकेका रहेनछन्। त्यहीकारण रमनको स्वभावमा परिवर्तन आयो।

‘बाबुलाई होस्टेलमा राखेका छौँ, धेरै समय साथीभाइसँग घुलमिल नगर्ने भएछ', रमनका बुवा रामले भने, 'होस्टेल वार्डेनले चिकित्सकलाई देखाउन सुझाएपछि उपचारका लागि यहाँ लिएर आएको हुँ।'

रमन त एक प्रतिनिधि पात्र मात्रै हुन्। पछिल्लो समय विभिन्‍न कारणले बालबालिकामा मानसिक समस्या देखिने क्रम बढेको छ। यससँगै देशको एक मात्र कान्ति बाल अस्पतालको बाल मनोरोग विभागमा छोराछोरी लिएर पुग्‍ने अभिभावक बढ्दै गएका  विभागका प्रमुख तथा बालमनोरोग विशेषज्ञ डा. अरुण कुँवरले बताए। 

दैनिक ३० बालबालिका अस्पतालमा

तीन वर्षअगाडि स्थापित कान्ति अस्पतालको मानमनोरोग विभागमा हाल दैनिक ३० जनाभन्दा धेरै बालबालिका उपचारका लागि पुर्‍याइन्छन्।विभिन्‍न कारणले मानसिक समस्या भएका बिरामी उपचारको लागि आउने गरेको विभाग प्रमुख डा अरुण कुँवरले बताए।

‘पछिल्लो समय बालबालिकाहरू लामो समयसम्म तनावमा रहने देखिएको छ', कुँवरले भने, 'पछि डिप्रेसनमा हुने समस्या बढ्दै गएको छ। जसले गर्दा ती बालबालिका उपचारका लागि आउने संख्या बढेको हो।'  गत वर्ष विभिन्‍न कारणले मानसिक समस्या भएका आठ सय बालबालिकाले उपचार गराएका थिए। चालू वर्षमा ३४ सयभन्दा बढी बालबालिकाले यो सेवा लिएको विभागले जनाएको छ।

वंशाणुगत र वातावरण डिप्रेसनका कारण

बालबालिकालाई डिप्रेसन वंशाणुगत र वातावरणीय प्रभाव दुवै कारणले हुने गरेको डा. कुवँरको भनाइ छ। उनका अनुसार हिजोआज देखिने बाल मनोरोग वंशाणुगतभन्दा वातावरणीय प्रभावले हुने गरेको छ। ‘यदि अभिभावकमध्ये कसैलाई डिप्रेसन छ भने बालबालिकालाई बाल मनोरोग हुने सम्भावना धेरै हुन्छ', उनले थपे, 'घरमा अभिभावकलाई डिप्रेसन छ र स्कुलमा पनि बालबालिकालाई बालमैत्री व्यवहार गरिँदैन भने उनीहरुलाई पनि मनोरोग हुने सम्भावना दोब्बर हुन्छ।'

कसरी थाहा पाउने डिप्रेसन?

प्रविधिको तीव्र विकाससँगै बालबालिकाहरू मोबाइल, टिभी र भिडियो गेममा लामो समयसम्म बिताउँछन्। यसले बालबालिकालाई एकाग्र हुन नसक्ने सम्मस्या बढाएको डा. कुँवर बताउँछन्। लामो समयसम्म इलोक्ट्रोनिक डिभाइसमा रमाउने बालबालिका डिप्रेसनको समस्याबाट ग्रसित हुँदै गएको उनले सुनाए। 

‘धेरै चकचक, झगडा गर्दा अक्सर अभिभावकले आफ्ना छोराछोरीलाई भुलाउन मोबाइलमा भिडियो गेम खेल्न र टिभी हेर्ने दिने प्रचलन पछिल्लो समय बढ्दो छ', उनले भने, 'तर लामो समयसम्म इलोक्ट्रोनिक डिभाइस दिँदा डिप्रेसन बढ्दै गएको छ।'

होस्टेल बस्नेमा पनि समस्या

सहरी क्षेत्रका धेरै अभिभावकले छोराछोरीलाई होस्टेलमा राख्‍ने चलन बढिरहेको छ। होस्टेलमा बस्ने बालबालिकाले अभिभावकसँग समय बिताउन पाउँदैनन्। होस्टलको कडा र अनावश्यक नियमले उनीहरू तनावमा आउँछन्। त्यहीकारण मानसिक समस्या देखा पर्ने र डिप्रेसन हुने गरेको डा. कुवँरले बताएका छन्

‘होस्टेलका बालबालिका अभिभावक बाट टाढा हुन्छ। जसले एक्लोपन महसुस भएर पछिल्लो समय डिप्रेसन धेरै देखिँदै गएको छ', उनले भने, सम्बन्धविच्छेद गर्ने तथा परिवारमा बाबुआमाको राम्रो सम्बन्ध नहुनेका बालबालिकामा पनि डिप्रेसन धेरै हुने गरेको छ।'

बालबालिकाका विषयमा सचेत

यदि तपाईंका बालबालिकालाई बाल मनोरोगको लक्षण देखापरेको छ भने साधारण व्यवहार गर्नुपर्छ। बाल मनोरोगको बिरामी भनेर भिन्‍न खालको व्यवहार गर्नुहुँदैन।

यस्ता बालबालिकालाई सामान्यसरह व्‍यवहार गर्नुपर्छ। बच्चालाई समयअनुसार खान दिने, खेल्न दिने गर्नुपर्छ। मुख्य कुरा आफ्नो बच्चालाई के कारणले यस्तो समस्या भएको हो पत्ता लगाउनुपर्छ। यदि बच्चाले यस्तो व्यवहार लामो समयसम्म देखाइरहेमा बेवास्ता गरिँदा बाल मनोरोगको समस्या गम्भीररूपमा देखा पर्नसक्छ। यस्तो अवस्थामा औषधिसमेत खुवाउनुपर्ने हुनसक्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.