|

काठमाडौं : उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एक वर्षपछि मोफसलमा पनि लागू गरिएको छ। चलचित्र बिकास बोर्डले काठमाडौं उपत्यका बाहिर पनि बक्स अफिस प्रणाली सुरु गरेको हो । 

आगामी साउनसम्म देशैभर बक्स अफिस लागू गर्ने नीति अनुसार सर्लाहीको लालबन्दिीस्थित वीणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक सुरुवात गरिएको हो । 

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले अनलाइन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको सुरुवात गरे।

वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सासहित प्रदेश २ का १० वटा हलमा बक्स अफिस सुरु भएको छ । बक्स अफिस सुरु भएसँगै यसको सबै रिपोर्ट अनटाइम पाउन सकिने भएको छ । यसलाई सातै प्रदेशमा साउन १ सम्म लागू गरिने चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले बताएका छन् । 

कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभा सदस्य बेचु लुङ्गेली, चलचित्र बिकास बोर्डका सदस्य तथा बक्स अफिस प्रणालीका संयोजका नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसहित उपस्थित थिए ।

बक्स अफिस प्रणाली सुरु भएका काठमाडौंका हलहरुलाई पनि साउन १ गते भित्र अनटाइमा डाटा पठाउन बोर्डका अध्यक्ष केशव भट्टराईले आग्रह गरेका छन् । 

सञ्चारमन्त्री बाँस्कोटाले काठमाडौंमै अत्याधुनिक इन्डोर फिल्म सुटिङ्ग स्टुडियो निर्माणमा लाग्न पनि बोर्डलाई अनुरोध गरेका छन् । मोफसलमा बक्स अफिस सुरु गरेको वीणा हलका सञ्चालक पवन गुप्ता हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.