|

पर्वत : फलेवास नगरपालिका–३ शंकरपोखरीकी जेनी रेग्मी आइतबार साँझ बिरामी परिन्। उनलाई उपचारका लागि पर्वत अस्पताल लगियो। जाँच पनि भयो। जाँच गर्दा उनलाई जुका परेको थाहा भयो। अस्पतालको आकस्मिक कक्षअगाडि बस्नका लागि बनाइएको कुर्चीमा सुतेर रोइरहेकी उनी औषधिको प्रतीक्षामा थिइन्। 

पीडा सहन नसकी आठ वर्षीया जेनी रातको ११ बजेसम्म रोइरहिन्। तर, जुकाको औषधि ‘निमोसिड’ अस्पतालमा उपलब्ध थिएन। र, अबलेण्डाजोल खुवाइयो।

अस्पतालमा रहेका दुई ओटा फार्मेसी बन्द थिए। अस्पताल व्यवस्थापन समितिले सञ्चालन गरिरहेको फार्मेसी सेवा दुई महिनादेखि बन्द छन्। जनशक्ति अभावले फार्मेसी बन्द गर्नु परेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले बताए। 

‘केही समय यता अस्पतालले चलाएको फार्मेसी सेवा बन्द छ, मेनपावरको खोजी गरेका छौँ। पोखराबाट दरखास्त परेको छ, केही दिनमा नै फार्मेसी सञ्चालनमा आउँछ,’ उनले भने, ‘उपल्लो फार्मेसी बन्द भए पनि तल्तिर दीपेन्द्रजी हुनुहुन्छ होला, त्यहाँबाट औषधि लिनुहोस्।’ पहाडीकै सल्लाह बमोजिम साझा फार्मेसीमा पुग्दा त्यो पनि बन्द थियो। साझा फार्मेसीका बिक्रेता दीपेन्द्र तिमिल्सिना खाना खान गएका थिए। चिकित्सकले सिफारिस गरेको औषधि लिन बिरामीको अवस्थाबारे जानकारी गराउँदै उनलाई फोन सम्पर्क भयो। उनी तुरुन्तै आए पनि। यद्यपि, उनको पसलमा भने त्यो औषधि थिएन। 

अस्पतालमा औषधि नपाएपछि अस्पताल आसपासमा रहेका मेडिकलहरूमा फोन गर्दा औषधि त्यहाँ पनि नपाइएको जेनीकी आमा अनिसाले बताइन्। ‘सरकारी अस्पतालको फार्मेसी नै बन्द रहनु कतिसम्मको बेवास्ता होला? सरकारीमा जाँच गर्न आएर निजी क्लिनिकमा औषधि खोज्दै फोन गर्नुपर्ने?’ उनले प्रश्न गरिन्, ‘औषधि नपाइएला त्यो कहिलेकाहीँ हुन्छ, तर फार्मेसी नै बन्द गर्न मिल्छ?’ 

कुस्माकै भण्डारीटोलका प्रेमबहादुर क्षेत्रीलाई पनि चक्कर लागेका कारण अस्पतालमा भर्ना गरिएको थियो। उनले पनि आपूmले खानुपर्ने औषधि अस्पतालको मुखैमा रहेको निजी क्लिनिकमा गएर किनेको बताए। ‘अस्पतालभित्रको एउटा पसल बन्द थियो, अर्कोमा औषधि नै रहेन्छ, बाहिर प्राइभेटमा गएर किनेको हु,’ उनले भने।

बिरामीलाई बाहिरी क्लिनिकको तुलनामा बढीमा १० प्रतिशतसम्म छुटमा औषधि बिक्री हुँदै आएको अस्पताल फार्मेसी व्यवस्थापन र त्यहाँ कार्यरत कर्मचारीबिचको विवादले बन्द भएको अस्पतालभित्रकै कर्मचारीहरू बताउँछन्। केहीले भने फार्मेसीमा काम गर्ने कर्मचारीको तलब निकै कम हुने भएका कारण जनशक्तिको अभाव भएको दाबी गरे। अस्पताल विकास समितिका अध्यक्ष पहाडीले भने फार्मेसी सञ्चालनका लागि गरेको टेन्डरमा दरखास्त परेकाले अब निरन्तर सञ्चालन हुने बताए। विवादभन्दा पनि प्राविधिक समस्याका कारण फार्मेसी बन्द भएको उनको भनाइ छ। 

जनशक्तिको अभाव

पर्वत अस्पतालमा अहिले ३५ शय्या रहेको छ। जिल्लाका अधिकांश ठाउँका बिरामीहरू उपचारका लागि सोही अस्पतालमा आउने गरेका छन्। बेडको क्षमता बढाएपछि बिरामीको चाप बढेको छ। तर जनशक्तिको अभावमा सेवा प्रवाहमा असहज भइरहेको छ।

अस्पतालमा उपलब्ध हुने हरेक सेवा फाँटमा एक–एक जनाको भरमा चलाउनुपरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पहाडी बताउँछन्। आधुनिक सेवा दिने भनी २४ सै घण्टा रगतको परीक्षण र थाइराइडको जाँच सुरु गरिएको भए पनि सेवा पाउन कठिन छ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट सन्तोषी थपलियाका अनुसार अस्पतालको आकस्मिक कक्षमा मात्र कम्तीमा पनि १० जना जनशक्ति आवश्यक पर्ने भए पनि अहिले एक जनाको भरमा काम चलाउनुपरेको छ। आवश्यक जनशक्ति माग गरिएको भए पनि नपाउँदा बहिरङ्ग, ल्याब, एक्सरेलगायतका सेवा सञ्चालनमा कठिनाइ आएको थपलियाको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.